काठमाडौं- प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालसहित उनका ब्याचका तीन एआइजी र १९ डिआइजी आगामी माघ २९ गते अनिवार्य अवकाशमा जाँदैछन्।
प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा हदका कारण उनीहरू अनिवार्य अवकाशमा जाने भएका हुन्। उनीहरू २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए।
नेपाल प्रहरीका कर्मचारीहरू सेवा अवधि, उमेर हद र पदावधि (कुनै पदमा तोकिएभन्दा बढी सेवा गर्नु परेको अवस्था) का कारण अनिवार्य अवकाशमा जाने गर्छन्। आइजी खनालका ब्याचीहरू भने ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन्।
यो बीचमा ३० वर्षे सेवा अवधि लम्ब्याउने किसिमका केही खेल भइरहेका छन्। केही समयअघि मात्रै सरकारले निजामति कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पु¥याएपछि सुरक्षा निकायमा पनि ३० वर्षे सेवा अवधि बढाउन लबिइङ भइरहेको स्रोतले जनाएको छ।
एक महिनाअघि महानगरीय प्रहरी दिवसको अवसरमा पुलिस क्लबमा भएको कार्यक्रममा भएका चर्चाले ३० वर्षेको खेल प्रहरीभित्र जोडतोडले सुरु भएको प्रष्ट संकेत देखिएको थियो। त्यसक्रममा आइजी खनालले भने ३० वर्षेबारे आफू मौन बस्ने बताएका थिए।
यदि ३० वर्षे सेवा अवधिको प्रावधानमा केही परिवर्तन नभए आइजीका ब्याचीहरू माघ २९ गते अनिवार्य अवकाशमा जानेछन्।
आइजी सर्वेन्द्र खनाल, एआइजीहरू पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यात माघ २९ गते अनिवार्य अवकाशमा जाँदैछन्। त्यसैगरी डिआइजीहरूमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, राजेन्द्रमान श्रेष्ठ, केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायण सिंह खड्का, कमलबहादुर जिटी, महेन्द्रकुमार पोख्रेल, महेशविक्रम शाह, दानसिंह बोहरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापति पनि अनिवार्य अवकाशमा जाने भएका हुन्।
त्यसपछि नेपाल प्रहरीको आइजी को हुनेभन्दा पनि एआइजी को बन्ने भन्ने विषय यो पटक निकै ‘हट’ बन्ने देखिन्छ। उनीहरू अवकाश भएपछि नेपाल प्रहरीमा ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरि पाल, नीरज शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेलसहित ८ जना डिआइजीमध्येबाट एक जना आइजी बन्ने छन्।
प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवासम्बनधी व्यवस्थाको दफा ४१ मा प्रहरी महानिरीक्षक पदमा बढुवाबारे उल्लेख गरिएको छ। जसमा भनिएको छ, ‘प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट र उनीहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकमध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ।’
यद्यपी नियमावलीको अन्तमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ भनि उल्लेख गरिएकाले यी आठ डिआइजीमध्ये जो कोहीलाई सरकारले आइजी बनाउनसक्ने अवस्था रहन्छ ।
उनीहरूमध्ये जेष्ठताको आधारमा सबैभन्दा अगाडि डिआइजी ज्ञवाली आउँछन्। उनी २०४७ असार २५ गते सेवा प्रवेश गरेका थिए। आगामी माघ २९ गते अनिवार्य अवकाशमा जाने ब्याचीको वैकल्पिक रुपमा सेवा प्रवेश गरेका ज्ञवाली आइजीको प्रमुख दाबेदार मानिएका छन्। उनीसँगै उनका ब्याची तारणी लम्साल र सूर्य उपाध्याय छन्। तर उनीहरू ज्ञवालीभन्दा कार्यसम्पादन मुल्याकंनमा तल छन्। जसकारण खनालपछि २७ औं आइजीको रुपमा ज्ञवाली हुने सम्भावना देखिन्छ।
यदि उनी आइजी भएको अवस्थामा उनी पनि जम्मा ५ महिनामात्रै पदमा रहन पाउनेछन्। उनीसहित लम्साल र उपाध्याय पनि ३० वर्षे सेवा अवधिका कारण आगामी असार २५ गते अनिवार्य अवकाशमा जानेछन्। ज्ञवाली अहिले प्रदेश १ को प्रमुखको रुपमा छन्।
आफूभन्दा सिनियर ब्याचको भएकाले बाँकी ७ डिआइजीले ज्ञवालीका बारे खासै आलोचना गर्ने नगरेको स्रोतको भनाइ छ।
यदि ज्ञवाली नै आइजी भएको अवस्थामा ३ एआइजीका लागि ७ डिआइजीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। २०७५ जेठ २७ गतेको मन्त्रिपरिषद बैठकले प्राविधिकसहित १६ जना एआईजीलाई कटौती गर्दै ३ मा झारेको थियो।
एआइजीको दरबन्दी थोरै, आकांक्षी धेरै हुनु, माघ २९ मा चयन भएकै एआइजी भावी आइजीको दाबेदार हुने भएकाले यो पटक आइजीभन्दा पनि एआइजी बन्ने दौडमा कडा प्रतिस्पर्धा हुने सम्भावना छ। आफूभन्दा सिनियरलाई समेत उछिनेर डिआइजीको फुली लगाएका विश्वराज पोखरेलले फेरि पनि अन्य डिआइजीलाई उछिनेर एआइजी बन्न सक्ने भन्दै उनलाई रोक्न एक समूह नै लागिपरेको छ भने पोखरेल भने कुनै हालतमा एआइजी हुने दाउमा छन्।
गत वैशाखामा डिआइजी सुशील भण्डारीको दुर्घटनामा निधन भएपछि पोखरेल डिआइजीमा बढुवा भएका थिए। आफूभन्दा सिनियरलाई उछिनेर फुली लगाएपछि त्यसबेलै केही प्रहरी अफिसरले पोखरेलले माथिल्लो ब्याचलाई पनि उछिन्न सक्ने खालका अभिव्यक्ति दिने गरेका थिए।
कार्यसम्पादनमा ज्ञवालीका ब्याचका उपाध्याय कमजोर देखिएकाले उनको एआइजी बन्ने सम्भावना न्यून छ भने लम्साल र अन्य ब्याचबाट २ जना गरी ३ जना एआइजी बन्न सक्छन्।
असार २५ मा उनीहरूमध्येबाटै भावी आइजी चयन हुनेछन्।
डिआइजीका लागि पनि दौड
आगामी माघ २९ गते प्रशासनतर्फका १९ डिआइजी अवकाशमा जाने र बाँकी रहेका ८ जना डिआइजीहरूबाट १ आइजी र ३ एआइजी बन्ने भएपछि २३ डिआइजीको दरबन्दी खाली हुन्छ। तर बिरामी अवस्थामा रहेका राजेन्द्रमान श्रेष्ठका लागि विशेष पद सिर्जना गर्दै डिआइजीमा बढुवा गरिएकाले उनको दरबन्दी गनिँदैन। जसका कारण २२ जना एसएसपी माघ २९ पछि डिआइजी बन्नेछन्।
डिआइजीको दौडमा रहेका एसएसपीहरूको सूचीमा पनि लामै छ। एसएसपीहरू घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, इश्वरबाबु कार्की, दिलिपकुमार चौधरी, राजेशकुमार लाल कर्ण, देबहादुर बोहरा, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, सौरभ राणा, रामकृपााल साह डिआइजीको दाबेदार हुन्।
त्यसैगरी उमेश रञ्जितकार, रवीन्द्रबहादुर धानुक, नरोत्तमलाल प्रधान, सहकुलबहादुर थापा, अरुणकुमार जिसी, प्रकाश अधिकारी, सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, देबबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदीपकुमार श्रेष्ठ लगायतका एसएसपी पनि डिआइजीको दौडमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।