

२०१७ सालमा बिपी कोइराला प्रधानमन्त्री हुँदा नेपाल र इजरायलबीच दौत्य सम्बन्ध स्थापित भयो। त्यसको केही वर्षभित्रै इजरायली सरकारले नेपाली खेलकुदका लागि दुइटा महत्वपूर्ण प्रस्ताव अघि सार्यो। पहिलो प्रस्ताव थियो, नेपालका दुई खेलाडीलाई आफ्नो देशमा पढ्न पठाउने। दोस्रो प्रस्ताव, त्रिपुरेश्वरमा रंगशाला निमार्णका लागि सहयोग गर्ने।
पहिलो प्रस्ताव तुरुन्त कार्यान्वयन भइहाल्यो, तत्कालीन सदस्य–सचिव सुशील शमशेर राणाले एथलेटिक्स खेलाडी लक्ष्मण शाह र कोमल पाण्डेलाई पठाउने निर्णय गर्दै। तर, दोस्रो प्रस्तावमा सुशील शमशेरलाई परेछ, फसाद। किनभने इजरायलले निर्माण गरिदिने भनेको त्रिपुरेश्वस्थित हालको दशरथ रंगशालाको जग्गा त्यतिबेला नेपाल आर्मीको नाममा थियो।
त्यतिबेला खेलकुदको बजेट निकै कम थियो। परिषद्का लागि छुट्याइएको १ लाख रुपैयाँले ६ वटा खेलकुद (ब्याडमिन्टन, फुटबल, टेबल टेनिस, एथलेटिक्स, लन टेनिस र क्रिकेट) सञ्चालन गर्नुका साथै खेल विकास खर्च पनि टार्नुपर्थ्यो। परिषद्को आफ्नै कार्यालय थिएन। सुशील शमशेरले बागदरबारस्थित आफ्नै घरमा परिषद्को कार्यालय राखेका थिए।
२०२६ सालमा राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा सर्नुअघि नेपाली खेलकुद उनकै घरबाट सञ्चालन हुने गर्थ्यो। प्रतिकूल परिस्थितिका बीच पनि इजरायलको त्यो प्रस्तावबाट निकै उत्साही थिए, सुशील शमशेर।
उनलाई राम्रैसँग थाहा थियो, आर्मीले आफ्नो जग्गा सहजै छोड्दैन। त्यसैले उनले आफ्नो समस्या तत्कालीन राजा महेन्द्रकहाँ पुर्याए। उनले आफ्नो अभियानमा महेन्द्रका भाइ बसुन्धरालाई पनि राजी गराए। त्यतिबेला बसुन्धरा परिषद् अध्यक्ष थिए।
सायद सुशील शमशेरको कुरा महेन्द्रलाई मनपर्यो होला, केही दिनभित्रै महेन्द्रले सुशील शमशेरलाई राजदरबार बोलाए। त्यो दिन आर्मी चिफ नीर शमशेरलाई पनि बोलाइएको रहेछ। यी दुबै बसेर गफ गरिरहेका बेला राजा महेन्द्रले टुँडिखेलको नक्सा ल्याएछन्। र, महेन्द्रले नक्सामा रातो मसी कोर्दै आर्मी चिफलाई आदेश दिए, ‘ल, यति जग्गा खेलकुदलाई देऊ।’
आफ्नो अभियानमा सफल भएका सुशील दंग पर्दै बागदरबार फर्केका थिए। महेन्द्रको त्यही आदेशपछि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को जग्गा खेलकुदको नाममा सरेको थियो।
महेन्द्रको त्यही ग्रिन सिग्नलपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला निर्माणको योजनाले मूर्तरुप लियो। निमार्णअघि रंगशालामा पानी जम्थ्यो। रंगशाला निमार्णका लागि इजरायलबाटै इन्जिनियर झिकाइएको थियो।
उनीहरुले रंगशालाको उत्तर र पश्चिमतिर ६ लेनको ढुंगाको प्याराफिट अनि दौडिनका लागि ‘रनिङ ट्रयाक’ बनाइदिएका थिए। ट्रयाक बनाउँदा ६ इन्च गहिरो खाल्डो खनिएको थियो। खाल्डोलाई सुरुमा इँटा, ढुंगाले पुरेर अन्त्यमा रातो माटो हालिएको थियो।
त्यतिबेला पानी पर्यो भने ट्रयाक बिग्रिने सम्भावनालाई मध्यनजर गर्दै इजारायली इन्जिनियरले मुनिबाट ढलको व्यवस्था गरेका थिए।
‘सुरुमा रंगशालामा जम्न सक्ने पानी कहाँ तह लगाउने भन्ने विषयमा इजरायली इन्जिनियरको टाउकै दुखेको थियो। पछि मुनिबाट ढल निकालेर बाग्मतीमा पुर्याउने जुक्ति लगाए,’ ५२ वर्षअघिको कुरा सम्झन्छन् सुशील शमशेर।
सुशील शमशेर राष्ट्रिय खेलकुद परिषद्का दोस्रो सदस्य–सचिव हुन्। होराप्रसाद जोशीपछि २०१७ सालमा परिषद्को सदस्य–सचिव बनेका सुशील राजा महेन्द्रको आग्रहले नै परिषद्मा आबद्ध भएका थिए। २००७ सालको क्रान्तिपछि नेपालमा सुरु भएको खेलकुद गतिविधिलाई अगाडि बढाउन उनले आफ्नै सक्रियतामा विद्या व्यायाम संघ स्थापना गरेका थिए।
यो क्लबले नेपाली खेलकुद, विशेषतः फुटबल र ब्याडमिन्टनमा थुप्रै सफलता पायो। उनले आफ्नै घरको पैसाले त्यो संघ सञ्चालन गरेका थिए। ब्याडमिन्टनका यी सौखिन खेलाडीले २०१६ सालमा अर्जुनबहादुर सिंहसँग मिलेर डबल्समा राष्ट्रिय उपाधि जितेका थिए। सिंहबहादुर बस्नेतको आगमनपछि नेपाली ब्याडमिन्टनमा यो जोडीको अधिपत्य समाप्त भएको थियो।
२०२२ साल (सन् १९६४) मा नेपाल पहिलोपल्ट ओलम्पिकमा सहभागी हुँदा उनी राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव नै थिए। उनले टोकियोमा आयोजित त्यो ओलम्पिकमा नेपाललाई पहिलो पल्ट सहभागी गराउन आवश्यक ६० हजार रुपैयाँ सरकारबाट झिकाउन सहयोगी भूमिका निर्वाह गरेका थिए।
टोकियो ओलम्पिकमा भाग लिने निर्णय गर्नुअघिसम्म नेपालमा ओलम्पिक कमिटी गठन भएको थिएन। ओलम्पिक कमिटीबिना ओलम्पिकमा भाग लिन नपाउने भएपछि प्रतियोगिताभन्दा ६ महिनाअघि मात्र बसुन्धराको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटी गठन भएको थियो। २०२२ सालमै बंगलादेशको ढाका (त्यतिबेला पाकिस्तानमा गाभिएको) मा आयोजना भएको आगा खाँ गोल्डकप खेल्न गएको नेपाली टोलीको खर्च पनि उनैले जुटाएका थिए।
सुशील शमशेरले राष्ट्रिय खेलकुद परिषद्मा ८ वर्ष बिताउँदा खेलकुद विकासका लागि थुप्रै काम गरे। तर, एकपल्ट ब्याडमिन्टन टोली लिएर विदेश जाँदा उनलाई रंगशालामै खलखली पसिना आएछ। त्यसपछि उनलाई लागेछ, ल अब बुढो भइयो।
‘त्यसपछि मैले खेलकुद छोड्ने निर्णय गरेँ,’ नाताले राजा महेन्द्रका साला (तत्कालीन रानी रत्नका भाइ) ८४ वर्षीय सुशील शमशेर सम्झन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।