इटहरी- जंगलको मध्य भागमा खुल्ला चउर। रोमाञ्चक लाग्दो शान्त वातावरण। छेवैनिर नहरको डिल। डिलबाट भैंसीका आधा पाडा नहर पारी तरेर चउरमा पुगिसकेका थिए। आधा नहरकै डिलमा चरिरहेका देखिन्थे।
नहरकै डिलमा ऊनीको झोला भिरेका गोठाला, जो लामो लौरोमा मोटो ज्यान थमाएर उभिइरहेका थिए।बाराहक्षेत्र नगरपालिकाका शरसिंह लिम्बु हुन् उनी। विगत ५ वर्षदेखि भैंसी गोठालो हुँदै बित्छ उनको दैनिकी।
शरसिंहको यो पुर्ख्यौली पेसा हो। बाबुले भैंसी गोठ चलाएको भएर आफू पनि यसैमा भिज्न सकेको उनी सुनाउँछन्। ‘पहिले बाटो बिराएर कताकता लागेँ। अहिले भर्खर जिन्दगी सही ढंगले चलाइरहेको छु,’ उनी हाँस्दै भन्छन्।
सुरुमा ४ वटा भैंसीबाट गोठ सुरु गरेका थिए शरसिंहले। अहिले गोठमा ५० वटा पुगेका छन्। भैंसीकै स्याहार सुसारमा उनको पूरा दिन बित्छ। बिहान ३ बजे उठेर दुध दुहुनेदेखि बेलुका घाँस काट्नसम्म आफैं तम्सन्छन् उनी।
यसरी व्यस्त देखिने शरसिंह भैंसी पालनमा पछि मात्र लागेका हुन्।
‘पहिले राजनीतिमा लागेर दिक्क भइयो। अहिले भैंसी पालेदेखि बिन्दास छु,’ उनी विगत कोट्याउँछन्। उनको बदलिएको सोचले भन्छ– राजनीतिमा त जालझेल धेरै हुने। भैंसी पालेपछि पैसा र इमान दुवै हुने।
२०३६ सालमा अनेरास्ववियुको सदस्य थिए उनी। पछि पञ्चायत विरोधी आन्दोलनमा होमिए। त्यसै बेला चलेको विद्यार्थी आन्दोलनमा उनी पार्टीको झण्डा बोकेर हिँडे।
त्यसपछि पार्टीको कार्यक्रममा लुकीछिपी जाने गरेको उनले सुनाए। ‘त्यो बेला सेना र पुलिसको निकै डर थियो,’ शरसिंहले सम्झिए, ‘तर पनि हामी भागीभागी गाउँमा गएर संगठन गर्थ्यौं।’
त्यही क्रममा पारिवारिक जिम्मेवारी पनि बढ्न थाल्यो उनको। विकल्प केही नभएपछि विदेश जानुपर्ने बाध्यतामा पुगे। स्काभेटर अपरेटर सिकेर बहराइन गए। करिब ३ वर्ष काम गरेपछि नेपाल फर्किए। नेपाल आएपछि पुनः बेरोजगार भए। त्यहीबखत एक छिमेकी बहिनीले बहराइनको आइडी बनाउँदा सजिलो हुने सल्लाह दिइन्। उनी तिनै बहिनीको सल्लाहको पछि दौडिए।
सन् १९९६ मा फेरि बहराइन हानिए। गएको ९ महिनामा आइडी बन्यो। कमाइ राम्रै थियो। तर, विदेश बसिरहन मनले मागेन। १ वर्ष काम गरे अनि नेपाल फर्किए। करिब ४ लाख रुपैयाँ ऋण तिरेर केही पैसा बचाए। तर, के मा लगानी गर्ने भन्ने अन्योल भइरह्यो।
गाउँ फर्किएपछि ‘शरसिंह आयो’ भन्ने हल्ला पनि भइहाल्यो। तर, त्यतिबेलाको जनयुद्ध काल। जो कोही निर्दोष युवालाई माओवादी बनाइन सक्थ्यो। उसो त उनी पहिला राजनीतिमै बरालिएका।
सन्देहको घेरामा परे।
‘युद्धमा जाऊँ भन्न माओवादीहरू धेरैपटक घर पनि आए। तर म लामो समय दुईचार माउ भैंसीको स्याहार गरेर घरमै बसेँ,’ उनले सुनाए।
देशमा शान्ति सम्झौता पश्चात् पहिलो संविधान सभाको निर्वाचन हुने भयो। त्यो बेला सबै दलका नेताले उनको घरमा आएर फकाउने थाले। एउटा पार्टीमा त लाग्नैपर्ने भयो भन्ने सोचे। मन फेरि भाँडियो। उनी नेपाली कांग्रेसमा लागे।
कांग्रेसको सबै कार्यक्रममा पुग्न थाले। चुनावी प्रचार प्रसारमा लागे। कार्यक्रममा जाँदा र नेतालाई भेटन जाँदा आफ्नै गोजीको पैसा खर्च हुन थाल्यो। जनताको काम गरिदिनुपर्ने। नेता भेटाइदिनुपर्ने। बिहानदेखि बेलुकासम्म पार्टीको काममा लाग्नुपर्ने भयो उनलाई।

करिब ५ वर्षसम्म यस्तै दैनिकी चल्यो। परिवारको आर्थिक स्थिति कमजोर बन्दै गयो।
एउटा यस्तो अवस्था आयो, पुनः उनी राजनीतिकै कारण चरम निराशामा बाँधिए।
त्यसपछि एउटा निधो गरे- घरमा भएका ४ वटा भैंसीको संख्या थप बढाउने। ६ वर्ष भयो, राजनीति बिर्सेर शरसिंह व्यावसायिक भैंसी पालनमा होमिएका छन्।
भैंसी पाल्नुको फाइदा उनका निम्ति अनगिन्ती छन्। ‘बरालिन पाइँदो रैनछ। व्यस्त देखेपछि कसैले बोलाउने आँट पनि गर्दैनन्,’ उनी मुस्कुराउँदै बोल्छन्।
‘आम्दानी कस्तो छ?’
‘सबै खर्च काटाएर महिनाको ५० हजारसम्म कमाइ हुन्छ,’ उनी जवाफ फर्काउँछन्।
राँगो पनि पालेका छन्। राँगोबाट हुने आम्दानीमा सन्तुष्ट छन् उनी। राँगो भैसी बेचेको पैसाबाट छुट्टै आम्दानी हुने उनको भनाइ छ। तेह्रथुमे बहुउद्देश्यीय कृषि फर्म दर्ता गराएका छन्।
उनले घरै अगाडि फर्मको बोर्ड गाडेका छन्। त्यही फर्म देखाएर १५ लाख रुपैयाँ ऋणसमेत लिइसकेको उनी बताउँछन्।
भैंसी पाल्दाका केही कठिनाइहरू छन्। ‘चैत बैसाखको खडेरीमा चाहीँ घास र पानी खुवाउन गाह्रो हन्छ,’ उनी बताउँछन्।
राजनीति र वैदैशिक रोजगारीबाट थाकेका उनी जिन्दगी बल्ल सुरु भएजस्तो लाग्ने बताउँछन्।
आफूलाई हेरैरै अरु युवाले पनि कृषि पेसा गरुन् भन्ने उनको कामना छ। भन्छन्, ‘बरालिनु राम्रो होइन। विदेश गएर पनि कमाइ उस्तै हो। बरु यहीँ कृषिमा रमाउन सके युवाहरूको भविष्य छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।