काठमाडौं- ‘म जनता बैंकबाट बोलेको हो। तपाईंको खातामा ठूलै रकम छ। पछिल्लो समय ह्याकरले नयाँनयाँ तरिका अपनाएर ह्याक गर्दै पैसा निकाल्दै लैजाने गरेका छन्। ह्याक हुनबाट बच्न ४/५ घन्टा मोबाइल अफ गर्नुहोस्।’
नेपाली भाषा सामान्य लेखपढ मात्र गर्न जान्ने र हाल कन्ट्रक्सन कम्पनीमा काम गर्दै आएका गोपालमान राजवाहकलाई मंसिर ८ गते दिउँसो अपरिचित मोबाइल नम्बरबाट फोन फोनमा भनिएको वाक्य हो यो।
बैंकबाट यस्तो सूचना आएपछि राजवाहकले तुरुन्तै मोबाइल स्विच अफ गरे। आफ्नो मोबाइल अफ गर्नु भनेको ढोकामा बलियो ताला लगाएजस्तो भान भयो उनलाई। यस विषयमा उनी कतै सोधीखोजी गर्नेतर्फ लागेनन्।
बैंक कर्मचारीले भनेझैं करिब ५ घन्टा अफ गरेपछि उनले राति साढे ८ बजे मोबाइल अन गरे। मोबाइल अन भएसँगै टुट् टुट्... गर्दै म्यासेज आएको संकेत आयो।
राजवाहक सामान्य नागरिक हुन्। आफ्नो हस्ताक्षर मात्र गर्न जान्ने उनको मोबाइलमा आएको म्यासेज पढ्न आउने कुरै भएन। उनले तत्कालै यो कस्तो म्यासेज हो भन्दै साथीलाई देखाए।
‘पटकपटक गरेर तपाईंको बैंक खाताबाट १९ लाख ९९ हजार निकालेको छ भनेर बैंकले पठाएको हो’ साथीको मुखबाट यो जानकारी पाएपछि राजवाहक छक्क र निराश भए।
सुरुमा उनलाई पत्यार नलागे पनि कुरा सत्य थियो। प्रहरीलाई जानकारी गराउनुबाहेक उनीसँग उपाय थिएन।
ग्वोर्कोमा चेक बन्यो, बानेश्वरबाट २० लाख निकालियो
काभ्रे पाँचखाल नगरपालिका–३ घर भएका १९ वर्षीय सुभाष श्रेष्ठ, सोही ठाउँकै १८ वर्षीय मनिष श्रेष्ठ र २१ वर्षीय अन्जन बराल कालीमाटीमा कोठा भाडामा लिएरसँगै बस्दै आएका थिए।
उनीहरु मंसिर ८ गते दिउँसो २ बजे ग्वार्कोमा रहेको जनता बैंकको शाखा कार्यालयमा पुगे। राजवाहकको नागरिकताको फोटोकपीसहित पुगेका उनीहरुले आफू राजवाहक भएको बताए।
चेक हराएकाले बनाउनु पर्ने भन्दै उनीहरुले फारम भरे। प्रशासनले फारम स्वीकृत गर्यो। एक थान चेकबुक लिएर उनीहरु तीनजना त्यहाँबाट बाहिरिए। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी बैंकतर्फ पनि शंकाको सुई तेर्स्यायाउँदै भन्छन्, ‘तर प्रशासनले चेक लिने बेला सम्बन्धित व्यक्ति राजवाहक नै हो/होइन, विचार नै गरेन। मात्रै चेक दिने काम गर्यो।’
त्यसपछि सोही शाखा कार्यालयमा चेक साट्दा शंका हुने भएपछि उनीहरू नयाँ बानेश्वरस्थित जनता बैंकको शाखा कार्यालयमा पुगेका थिए। यो त भयो प्रहरीको बैंकका कर्मचारीप्रतिको आशंका। अब पुनः लागौं गिरोहले नै गरेका कामतर्फ।
जनता बैंकको ग्वार्को शाखाबाट चेक निकालेको सो गिरोहले बानेश्वरबाट करिब दिउँसो साढे ३ बजे ९ लाख ९९ हजार रुपैयाँ निकाल्यो। त्यसपछि उनीहरूले एकै ठाउँबाट थप रकम पनि निकाल्दा शंका हुने भएको विचार गरी न्यूरोड शाखाबाट रकम निकालेको परिसरका डिएसपी होबिन्द्र बोगटी बताउँछन्।
न्युरोड शाखामा दिउँसोको काउन्टर बन्द भइसकेको थियो। तर गिरोहलाई बाँकी रकम निकाल्नु नै थियो। त्यसपछि इभिनिङ काउन्टर न्यूरोडमा खुल्ने जानकारी पाएपछि उनीहरुले न्यूरोड काउन्टरबाट ५/५ लाख गरी १० लाख निकाले। यसअघि नै निकालेको ९ लाख ९९ हजार र न्यूरोडबाट निकालेको १० लाख गरी १९ लाख ९९ हजार करिब तीन घन्टाको अन्तरमा निकालेका थिए।
.jpg)
उनीहरुले चेक हरायो र आफू राजवाहक नै भएको बताएर चेकबुक मात्रै लिएनन्। नक्कली हस्ताक्षर गरेर उनको खातामा रहेको १९ लाख ९९ हजार समेत निकाल्न भ्याएका थिए।
यसरी रकम निकाल्ने योजना बनाएका उनीहरुमध्ये अन्जनले नै राजवाहकलाई फोन गरेका थिए। 'बैंकको कर्मचारी बोलेको' भन्दै उनले राजवाहकलाई मोबाइल अफ गर्न लगाएका थिए। मोबाइल अफ गरेपछि पैसा निकालेको जानकारी राजवाहकले तुरुन्त थाहा नपाउन् र आफूहरु भाग्न सकियोस् भन्ने उनीहरुको उद्देश्य थियो।
रकम निकाल्न लाग्दा पक्राउ परे २
राति साढे ८ बजे ठूलो मात्रामा आफ्नो खातामा रहेको रकम निकालेको थाहा पाएपछि राजवाहकले तत्कालै प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि प्रहरीले राष्ट्र बैंकका कर्मचारी र जनता बैंकको सिइओ पर्शुराम कुँवर क्षेत्रीलाई सम्पर्क गर्यो। लगत्तै राष्ट्र बैंक र जनता बैंकको आइटीसहितको टोली राती नै टेकु पुगेको थियो। आइटी विज्ञ टोलीले राजवाहकको पहिलाको चेकभन्दा पनि भर्खरै निकालेको नयाँ चेकबाट रकम निकालेको पाइएको जानकारी प्रहरीलाई दियो। उता राजवाहको खातामा अझै ५ लाख रुपैयाँ भने बाँकी नै थियो।
‘५ लाख रुपैयाँ राजवाहकको खातामा अझै छ। भोलि पक्कै निकाल्न आउन सक्छन् भनेपछि सोही अनुसार हामीले तयारी गर्यौं’ डिएसपी बोगटीले भने।

जनता बैंकका सबै काउन्टरलाई पनि यसबारे जानकारी गराइयो। र राजवाहकको नाममो चेक लिएर कोही व्यक्ति बैंकमा आए प्रहरीलाई खबर गर्न भनिएको थियो।
सँगै सादा पोशाकमा पनि बैंक काउन्टरमा प्रहरी खटाइएको थियो। नभन्दै भोलिपल्ट ९ गते बिहान साढे १० बजेतिर न्यूरोडस्थित जनता बैंकको काउन्टरमा १ लाख ७० हजार रकम लेखिएको राजवाहकको नाममा रहेको चेक लिएर एक युवक पुगे।
उनी थिए, सुभाष श्रेष्ठ। उनलाई प्रहरीले बैंक काउन्टरबाटै नियन्त्रण लियो। त्यसको केही समयमै सोही काउन्टरमा १ लाख ७० हजार रकम नै उल्लेख गरिएको अर्को चेक लिएर पुगेका मनिष घिमिरे पनि पक्राउ परे।
पक्राउ परेका घिमिरे र श्रेष्ठलाई प्रहरीले बानेश्वरबाट रकम निकालेर लैजाने अर्का व्यक्ति अन्जनलाई फोन गरेर बोलाउन लगाए। ‘रकम निकालियो, लिन आइज’ भनेर घिमिरे र श्रेष्ठले अन्जनलाई बोलाएपछि उनी दौडिँदै न्यूरोड पुगेका थिए। सोही बेला उनलाई पनि पक्राउ गरिएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए।
उनीहरुसँगै प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा काभ्रे पाँचखाल नगरपालिका-३ घर भई कालीमाटी बस्ने १९ वर्षीय कुमार तामाङ, बाग्लुङको गलकोट नगरपालिका-३ घर भई बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोकको साविक ज्यामिरे गाविस-९ घर भई सुविधानगर बस्ने ३० वर्षीय गोविन्द घिमिरे पनि पक्राउ परेका छन्।
बैंक स्टेटमेन्टदेखि सयौं व्यक्तिका नागरिकता र २ बोरा कागजात बरामद
अन्जनलाई पक्राउ गरेपछि प्रहरीले उनको कालीमाटीस्थित कोठामा समेत छापा मारेको थियो। सोही क्रममा ठूलो मात्रामा ठगी गर्नकै लागि प्रयोग गरिने सामानहरु प्रहरीले बरामद गरेको छ।
.jpg)
विभिन्न व्यक्तिको २ सय ९० थान नागरिकताको फोटोकपी, विभिन्न व्यक्तिहरूको नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ थान, विभिन्न प्रकार हस्ताक्षर नमूना र व्यक्तिको नाम उल्लेख गरिएको २ थान डायरी, विभिन्न व्यक्तिको खाता खोल्न फोटो टाँसेको तयारी फाराम ३ सय थान, १ सय ९५ जनाको विभिन्न व्यक्तिको बैंक स्टेटमेन्ट बरामद गरेको छ।
त्यस्तै जनता बैक लिमिटेडबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक १ थान, र काटिएको अवस्थाको चेकबुक ४१ थान, ज्योति विकास बैंक लिमिटेडबाट अन्जन बरालका नाममा जारी भएको र काटिएको अवस्थाको चेकबुक १ थान, एभरेष्ट बैंकको विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक २० थान र काटिएको अवस्थाको चेकबुक ३ थान बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, माछापुच्छ्रे बैंकबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएका तर नकाटिएका चेकबुक १७ थान, काटिएको अवस्थाको चेकबुक २ थान, मुक्तिनाथ विकास बैंकबाट विभिन्न व्यक्तिहरूका नाममा जारी भई काटिएका चेकबुक ४१ थान र नकाटिएको चेकबुक १ थान बरामद भएका छन्।
.jpg)
एनआइसी एसिया बैंकका चेक ६८ थान, विभिन्न व्यक्तिहरुको फोटो ८ सय २५ थान, एनआइसी एसियाको एटिएम ८२ थान, अन्य बैंकको एटिएम ७ थान, विभिन्न बैंकका हस्ताक्षर गरिएका चेक ३ सय २९ थान बरामद भएको छ। त्यसैगरी बैंकसँग सम्बन्धित अन्य कागजात २ बोरा बरामद गरिएको एसएसपी सुवेदीले जानकारी दिए।
बैंककै कर्मचारीको मिलेमतोको आशंका
पक्राउ परेका व्यक्ति बाहेक यस घटनामा बैंककै कर्मचारीको समेत मिलेमतो हुने ठाउँ देखिएको प्रहरीले आशंका गरेको छ। कसको खातामा कति रकम छ भन्ने जानकारी उनीहरुले कसरी पाए? उनीहरुको हस्ताक्षर, नागरिकताको फोटाकपीसमेत उनीहरुले पाएकाले यी सबै डकुमेन्ट बैंकबाटै बाहिरिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
कर्मचारीको मिलेमतो बिना कसको हस्ताक्षर कस्तो छ कसरी जानकारी हुन्छ? फोटो कहाँबाट उपलब्ध हुन्छ?’ डिएसपी बोगटी भन्छन्, ‘हस्ताक्षर नक्कल गर्न बैंकको खातामा रहेको रेकर्ड फाइलको फोटो नै खिचेर ल्याउने गरेकोसम्म पाइएको छ। यसले बैंकतर्फ पनि शंका गर्ने ठाउँ देखाएको छ। अपरिचत व्यक्तिको बैंक स्टेटमेन्टसमेत थाहा पाउनुले कर्मचारीको मिलेमतोको आशंका गर्न सकिने ठाउँ छन्। यस सम्बन्धमा अनुसन्धान जारी छ तर निर्क्यौलमा पुग्न थप समय लाग्छ।'
यसरी नक्कली हस्ताक्षर गरेर उनीहरुले खातावालालाई जानकारी नै नदिई चेक र एटिएम कार्डसमेत बनाउँदै रकम निकाल्न सफल भएको पाइएको छ। यसमा बैंकको गम्भीर लापरबाही देखिएको प्रहरी अनुसन्धानले देखाइएको छ। जसकारण बैंक र कर्मचारीमाथि समेत अनुसन्धान हुने प्रहरीले जनाएको छ।
हस्ताक्षर गरेर रकम निकाल्ने मात्रै होइन, उनीहरुले अपरिचित व्यक्तिको नागरिकताको फोटोकपी र फोटोसमेत संकलन गरेर अपरिचित व्यक्तिकै नाममा खातासमेत खोल्ने गरेको पाइएको प्रहरी अनुसन्धानबाट देखिएको छ। यसरी खाता खोल्नुको पछाडि धेरै वटा खातामा रकम लुकाउन, धेरै खाताबाट शेयर भर्ने उद्देश्य देखिएको प्रहरीले जनाएको छ। कोही व्यक्तिसँग आर्थिक कारोबार गर्दा यस्तै अपरिचत व्यक्तिको नाममा खोलिएको खाताको चेक काटेर दिने र भोलि बाउन्स भएको अवस्थामा आफू नफस्नसमेत उनीहरुले यसरी खाता खालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।