काठमाडौं- जब साग नजिकिन्छ, तब केही नामहरुको सम्झना अझ गाढा बनेर आइदिन्छ। एथ्लेटिक्सका बैकुण्ठ मानन्धर, तेक्वान्दोका दीपक विष्ट र करातेका दीपक श्रेष्ठ तीनै मध्येका केही नाम हुन्। यसमा पनि दीपक श्रेष्ठसँग पदक जित्दाको उत्साह मात्र जोडिँदैन, पदकविहीन हुँदाको क्षण पनि।
यसैले त करातेका ‘आइडल’ खेलाडी दीपक आफूलाई अन्यायमा परेको अभागी खेलाडी मान्छन्। किन त? दुई पटक दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक विजेता खेलाडी कसरी अभागी भए? बारम्बार यी प्रश्नहरु सुनिरहेका उनी भावुक हुँदै लामो सास तान्छन्।
दर्शकलाई जस्तै खेलाडीलाई पनि प्रतियोगिता आउँदा खेलका सम्झनाले अझ नजिक बनाइरहेको हुन्छ। १३औं साग नजिकिँदै गर्दा सन् १९९९ मा भएको आठौं साग र २००४ मा भएको नवौं सागमा स्वर्ण पदक विजेता दीपकको अनुभव यतिबेला अगाडि आइरहेका छन्।
खेलाडी जीवन नै त्याग्नु पर्ने सागको अनुभवबाट गुज्रिएका दीपकसँग १३औँ सागको पेरिफेरिले खेलसँग थप नजिक बनाएको छ। यसपटक दीपकलाई कराते टिमको सुपरिवेक्षण प्रशिक्षकको जिम्मा दिइएको छ।
खेलाडी भएर दुई पटक सागमा स्वर्ण पदक दिलाएका दीपक १३औँ सागमा प्रशिक्षक भएर देशलाई थप उचाइ दिने प्रयासमा छन्। दीपकका अनुभव उनकै शब्दमा,
इखले च्याम्पियन बनायो
थाइल्यान्डमा १९९८ मा एसियाली खेलकुद थिया । यो प्रतियोगितामा मलाई जितेर समरबहादुर गोले सहभागी हुन गएका थिए। उनले कास्य पदक पनि जिते।
उनले त्यहाँ राम्रो गरेपछि आठौं सागको लागि सिधै क्लोज क्याम्पमा भाग लिने ब्यवस्था गरियो। २०५५ सालमा चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता भयो। ६० केजी तौल समूहमा म प्रथम भएर सागको लागि क्लोज क्याम्पमा आएँ।
त्यतिबेला क्लोज क्याम्पमा पहिलो दोस्रो र तेस्रो हुने दुई गरी चार जना खेलाडी क्लोज क्याम्पमा आयौं। योसँगै ६० केजी तौल समूहमा मसहित पाँच जना खेलाडी भयौँ।
त्यो बेला बन्द प्रशिक्षणमा ६० केजी तौल समूहमा म, समरबहादुर गोले, निरोज कर्माचार्य, सुमन श्रेष्ठ र योगेन्द्र आचार्य थियौँ।
त्यसबेला ९ महिना बन्द प्रशिक्षण राखिएको थियो। एउटा छनोटबाट एक जना खेलाडी फालिने गर्दै क्याम्प चलिरहेको थियो। फालिँदै जाँदा अन्तिममा म र समरबहादुर गोले बाँकी रह्यौं।
सबैको आँकलन के थियो भने भर्खरै समरले पदक जितेर आएको छ, उसले जितिहाल्छ नि भन्ने थियो। मलाई भने समरलाई पराजित गर्ने एउटा ईख थियो। किनभने मलाई नै पराजित गर्र्दै एसियाली खेलकुदमा समगर गएको थियो। टिभी खोलेर खेल्दा उनले एसियाली खेलकुदमा कास्य पदक जित्यो भन्ने समाचार सुनेँ। ओहो! त्यो ठाउँमा त म हुनुपर्ने भन्ने भयो।
फाइनल छनोटमा मैले समरलाई ५-४ को स्कोरमा जितेँ। एसियाली खेलकुदको कास्य पदक विजेता खेलाडीलाई जित्दा मनोबल यति बढेर आयो नि सागमा सतप्रतिशत स्वर्ण पदक जित्छु भन्ने भयो।
.JPG)
स्वर्ण जित्दा युवराज दिपेन्द्रको स्याबासी
सन् १९९९ मा नेपालमा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा सबैभन्दा रमाइलो कुरा के भयो भने दिपेन्द्र शाह तत्कालिन युवराज आएर अंकमाल गर्दै स्याब्बास भन्नु भयो। उहाँकै हातबाट स्वर्ण पदक थापेँ।
त्यो बेला कराते खेलाडीको मनोबल बढाउन उहाँ आफै आउनु भएको थियो। मैले एक अंक ल्यायो कि उठेर ताली बजाउने गरिरहनु भएको थियो। स्वर्ण पदक त जिती हालें। झनै स्मरणीय चाहिँ दीपेन्द्र सरकारले स्याबासी दिँदा भयो।
एउटा कुरा चाहिँ के भयो भने मैले स्वर्ण पदक जित्नु कुनै गाह्रो नै भएन। बरु मलाई सागको छनोटमा समरबहादुर गोलेलाई पराजित गर्न गाह्रो भएको थियो। फाइनलमा श्रीलंकालाई ६-० को स्कोरमा पराजित गरेको थिएँ। त्यो बेला स्वर्ण पदक जित्दा लाग्यो, म भुँइमै छैन, उडिरहेको छु। खुसीले।
नवौं सागमा करातेमा एक स्वर्ण
नवौं सागको कुरा गर्दा पनि निकै आत्मसन्तुष्टी मिल्छ। यहाँदेखि २४ घण्टाको यात्रा पार गर्दै हामी लाहोर हुँदै इस्लामाबाद पुग्यौँ। असाध्यै गाह्रो भएको थियो।
तर पछि इस्लामावाद पुगेपछि थाहा भयो कि अफिसियलहरु चाहिँ प्लेनबाट आएछन्। यो सुनेर निकै दुःख लाग्यो। मेडल जितिसकेपछि अब त प्लेनमा पठाउँछन् कि भन्ने आश थियो फेरि खेलाडी जतिलाई रेलमै पठाए, यहाँ झन दुःख लाग्यो।
पाकिस्तानले करातेमा ९ वटा स्पर्धा मात्रै राखेको थियो। केटीको विधाजति सबै कटौती गरेको थियो। एउटा स्वर्ण पदक मैले जितेँ, एउटा श्रीलंकाले लग्यो बाँकी ७ वटा पाकिस्तानले नै जितेको थियो। त्यो बेला नै पाकिस्तान त्यस्तो राम्रो भएको थियो।
फाइनलमा श्रीलंकाका खेलाडीलाई १९–१५ को स्कोरमा पराजित गर्दै स्वर्ण जितेको थिएँ। ३ मिनेटको खेलमा ७ देखि ९ मिनेटसम्म खेलायो अन्यले भनिरहेका थिए। त्यहाँ नै नियोजित जस्तो पनि देखिएको थियो।
नेपालमा स्वर्ण पदक जित्दा र पाकिस्तानमा स्वर्ण जित्दा निकै फरक हुँदो रहेछ। त्यसमाथि फाइनलमा पुगेर पनि अन्य खेलाडीले हारिरहेका थिए। मैले मात्रै करातेमा स्वर्ण पदक जित्न सफल भएँ। यसले उत्साह छुट्टै पैदा गरेको थियो।
पदक जितेर खुशियाली मनाउन नपाउँदै मलाई च्याप्प समातेर लग्यो। तिमीलाई डोपिङ टेष्टको लागि लगेको भन्नु भयो। त्यसबेलासम्म के हो डोपिङ थाहा छैन। सानो सिसी दिएर पिसाब फेर्न लगायो। तर पिसाब नै आएन। धेरै पानी खाएपछि बल्लतल्ल पिसाब गरेर बोतलमा हालेर गएँ। त्यहाँ बुझाएँ। पदक बाँड्ने सबै त्यसपछि भयो। मैले कुनै ‘एन्टी डोपिङ’ नियम उल्लङ्न गरेको थिइनँ।
करिअरकै कालो दिन
नेपालबाट श्रीलंका १०औं सागको लागि प्रस्थान गर्दै गर्दा यहाँ तीन जना खेलाडीले ह्याट्रिक स्वर्णको लागि खेल्दैछ भनेर चर्चा भएको थियो। तर अन्ततः तेक्वान्दोका दीपक विष्ट मात्रै सफल भए। तेक्वान्दोकै संगिना वैद्यसँगै म ह्याट्रिक स्वर्ण पदक जित्नबाट चुकेँ।
एउटा लक्ष्य बोकेर गएको थिएँ। तर, यहाँ मलाई षडयन्त्रपूर्वक हराइयो भन्ने लाग्छ। सन् २००६ मा कोलम्बो साग खेल्नुअघि मैले अन्तर्राष्ट्रिय स्तरमा म्याच एक्सपोजरको रुपमा निकै प्रतियोगिता खेलेको थिएँ। यसले गर्दा पनि मलाई स्वर्ण पदक जित्छु भन्ने विश्वास बढेको थियो।
.JPG)
सुरुमै आयोजक राष्ट्रका खेलाडीसँग परेँ। कुनै हिसाबले पनि त्यो खेलाडी बलियो थिएन।
त्यहाँ कस्तो भयो भने, जब म पहिले हान्छु तर नम्बर चाहिँ त्यसपछि हान्ने श्रीलंकाको खेलाडीलाई दिने। यस्तो भयो कि के भन्नु। करातेमा भनेको त जसले पहिले हान्यो उसको नम्बर आउनु पर्ने हो। तर रेफ्रिले निर्णय उल्टो दिइरहेको थियो। यस्तो अवस्थामा मैले मेरो प्रशिक्षक र टिम म्यानेजरलाई अपिल गरेँ। अन्याय गरिरहेको छ भनेको सबै चुपचाप बसे।
खेल सकिनभन्दा अगाडि नै मैले खेल छाडिदिएँ। त्यसपछि म त्यहि म्याटमा बसेँ। त्यसपछिका खेल केही समय सञ्चालान हुन पाएन।
श्रीलंकनहरुले पनि मप्रति अन्याय नै गरेको भनिरहेका थिए। मलाई अनुशासन कारबाही गर्छु भन्ने धम्की आयो। तर पनि मैले टेरिनँ। त्यहाँ मेरो करिअर नै सकिसकेको थियो।
सबै मान्छेले मलाई सम्झाइरहेका थिए। बैकुण्ठ दाइको रेकर्ड भेटाउँछु भनेर गएको म त्यस्तो अन्याय हुदा आँशु त पुरै धुरुरु.. आयो। म त्यहिँ छेउमा बसिरहेको थिएँ। नेपाली खेलाडीमाथि फेरि त्यस्तो प्रकारको अन्याय भयो। त्यो मैले सहन सकिनँ। छेउमै भएको आइसको टुक्राले हानेँ। त्यसपछि मलाई माथि पठायो।
यहाँ अर्को दुःखको कुरा पनि छ। नेपाल कराते महासंघका महासचिव आनन्द लामाले मलाई दुई वर्ष एसियन कराते फेडेरेशनले कारबाही गरिदियो भनेर प्रेस विज्ञप्ति निकालिदिए। हावाको तालमा। म दिल्ली एयरपोर्टमा आइपुगेपछि थाहा पाएँ, सबै पत्रपत्रिका र टेलिभिजनमा आइसकेको रहेछ। तर एसियन कराते फेडेरेशनले मलाई कारबाही नै गरेको थिएन। षडयन्त्रपूर्वक मलाई हराइएको बेला आफ्नैले पनि यस्तो गरेर झनै दुःख दियो।
लक्ष्य आठौं सागकै
आठौं सागमा पहिलो पटक कराते खेललाई समावेश गर्दा नेपालले १६ स्पर्धामा १४ वटामा स्वर्ण पदक जितेको थियो। दुई वटा मात्रै स्वर्ण पदक अरु देशले जितेका थिए।
अहिले अरु देशले पनि निकै राम्रो गरेको छ। त्यसैले आठौं सागमा पाएको जस्तो उपलब्धि नपाउन सकिन्छ। यो पटक १९ वटा स्वर्ण पदकमा प्रतिस्पर्धा राखिएको छ। त्यसले गर्दा पहिलेको जति नै स्वर्ण पदक जित्छौं भन्ने त होइन तर त्यसको हाराहारीमा पुग्छौं भन्ने आँकलन हो।
.JPG)
पहिले १६ वटा मात्रै थियो। अहिले ३ वटा स्पर्धा थप गरिएको छ। महिलातर्फ ४५ केजी तौल समूह तथा महिला र पुरुषको टिम फाइट विधा थप गरिएको छ।
अहिले नेपालबाट ३१ जना खेलाडी बन्द प्रशिक्षणमा छन्। सागका लागि यीनै खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
बंगलादेशमा १० दिनअघि पाँचौं साफ च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भयो। ८ स्वर्ण पदक जित्न सफल भयो। अब सागमा पनि त्यहि खेलाडीहरुसँग खेल्ने हो। त्यसैले सागमा पनि धेरै स्वर्ण पदक जित्छौँ। हाम्रो लागि मुख्य चुनौती भनेको पाकिस्तान र श्रीलंकाका खेलाडी हुन्।
आठौं सागको जतिको तयारी त भएको छैन। आठौं सागमा त सात महिना बन्द प्रशिक्षण नै गरेका थियौँ। यो पटक त्यस्तो भएन। आठौं राष्ट्रिय खेलकुद सकिसकेपछि पनि निकै लामो समय प्रशिक्षण भएन। त्यसैले १३औं सागको लागि तयारी धेरै भएन।
तर यो पटक चार महिनाको बन्द प्रशिक्षणमा पनि धेरै कुरा सुधार भएको छ। खेलाडीले वैदेशिक प्रशिक्षणसँगै प्रतियोगिताहरु खेलेर आएका छन्। त्यसकारण पनि यो पटक स्वर्ण पदक निकै जितिन्छ भन्ने आश लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।