काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउने विदेशी टोली पूर्वाभ्यासका लागि काठमाडौं आउने क्रम सुरु भएको छ। जसअनुसार सागमा सहभागिता जनाउने बंगलादेशको पौडी टोली काठमाडौं आउने पहिलो टोली पनि बनेको छ।
हाइअल्टिच्युड तालिमका लागि आइतबार राति काठमाडौं आइपुगेको टोलीमा १३ पुरुष र ९ महिला खेलाडी छन्। टोलीलाई जापानी प्रशिक्षक योरीकाजु तामायामाले प्रशिक्षण दिनेछन्।
बंगलादेशी टोलीले सोमबारदेखि नै कालोपुलस्थित वेस्ट भेन्युको पौडी पोखरीमा प्रशिक्षण सुरु गरिसकेको जानकारी नेपाल पौडी संघका सचिव ईश्वर कार्कीले जानकारी दिएका छन्।
१३ औं सागको पौडीमा ३४ स्वर्ण पदकका लागि भूटानबाहेक ६ मुलुकको सहभागिता रहने छ। १३ औं सागको उद्घाटन १५ मंसिरमा भए पनि पौडीका प्रतिस्पर्धा भने १९ मंसिरदेखि प्रारम्भ हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।