काठमाडौं- यस वर्षको १५ औँ राष्ट्रिय कफी दिवस कफी खेती सुरु भएको जिल्ला गुल्मीमा औपचारिक कार्यक्रम गरी मनाइने भएको छ। 
अघिल्ला वर्षहरुमा पनि देशका विभिन्न स्थानहरुमा औपचारिक कार्यक्रम गरी मनाईँदै आएको कफी दिवस यो वर्ष गुल्मी जिल्लामा औपचारिक कार्यक्रम गरी मनाउन लागिएको चिया तथा कफी विकास बोर्डका निर्देशक दिपक खनालले जानकारी दिए। 
कफी दिवस हरेक वर्षको मंसीर १ गते मनाइँदै आएको छ। 
‘आर्थिक समृद्धिका लागि किसानको हात, गुणस्तरीय कफी उत्पादनमा हामी सबैको साथ’ भन्ने मुल नाराका साथ कफी दिवस मनाउने तयारी गरिएको छ। 
नेपालमा विस १९९५ सालदेखि गुल्मीको आँपचौरबाट कफी खेतीको सुरु भएको हो। अहिले नेपालका ४२ वटा जिल्लाहरुमा कफीको व्यवसायीक खेती गरिँदै आएको छ। 
कफीको व्यवसायीक खेती भने २०३२ सालदेखि मात्रै सुरु भएको थियो। 
हाल नेपालमा वार्षिक ५ सय मेट्रिक टन कफी उत्पादन हुने गरेको छ। व्यवसायिक रुपमा उत्पादन भएको कफी नेपालबाट विश्वका विभिन्न मुलुकमा निर्यात समेत गरिन्छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।