काठमाडौं– अभिनेत्री रेखा थापाको सबैभन्दा प्रिय पर्व हो- तिहार। यद्यपि अघिल्लो वर्ष उनलाई तिहार खासै लागेको थिएन, कारण त्यतिबेला हलमा उनी निर्मित तथा अभिनित फिल्म ‘मालिका’ लागिरहेको थियो।
तर, यसपाली फिल्म छैन। त्यसैले उनलाई तिहार बेजोड लाग्दैछ। दुई दाइलाई भाइटीका लगाइदिन गाउँ (मोरङ) नै पुगेकी छन्।
उनका दुवै दाइ विराटनगर बस्छन्। ठूल्दाइ नवराज थापा आर्मी ब्याकग्राउन्डका हुन्, जो अहिले रिटायर्ड भइसके। कान्छा दाइ जीवन थापा उतै व्यवसाय गर्छन्।
दुइ दाइमध्ये रेखाको अलि बढी आत्मीयता चाहिँ कान्छा दाइसँग छ। कारण, ठूल्दाइ उनी सानो छँदै आर्मीमा भर्ती भइसकेका थिए, त्यसैले धेरै समय बिताउने समय मिलेन।
रेखा दाजुभाइको सम्बन्ध अरु सम्बन्धभन्दा के फरक देख्छिन्?

भन्छिन्, ‘बुबापछिका बुबा हुन्, दाजुभाइ। उनीहरुले बुबाको अनुपस्थिति पूरा गर्छन्। त्यसैले पनि परिवारका बिँडो थाम्ने कुरा उनीहरुकै काँधमा आउँछ।’
000
फिल्म क्षेत्रमा रेखालाई पब्लिक रिलेसन अर्थात् ‘पिआर’ बनाउने मामिलामा माहिर अभिनेत्रीका रुपमा टिप्पणी गरिन्छ। यतिसम्म कि फिल्म क्षेत्रमा त कोही काम लाग्ने मान्छे भेट्यो कि ‘रेखाले दाइ बनाइहाल्छे अनि भाइटीका लाईदिहाल्छे’ भन्ने टिप्पणी पनि गर्छन्।
तर रेखा यसलाई सिधै नकार्छिन्। उनी प्रश्न गर्छिन्, ‘मैले अहिलेसम्म जजसलाई दाइ मानेर टीका लगाइदिएँ, उनीहरु व्यवसायिक हिसाबले कहाँ नेर काम लागेका छन्? आफैँ भन्दिनुस् न त! मैले प्रचण्ड, बाबुराम, केपीलाई टीका लाईदेको त छैन नि, होइन?’
रेखामाथि गरिने यो टिप्पणीमा सत्यता होस्/नहोस्, उनका दाइभाइहरु साँच्चै धेरै छन्। त्यसैले पनि तिहार उनको विशेष हुन्छ। ‘मेरा दाइभाइ धेरै मात्र होइन, साह्रै धेरैै छैन्,’ उनी हाँस्दै जवाफ दिन्छिन्, ‘फेरि तिहार मेरो फेभरेट चाड पनि त हो! बाहुनलाई ल्याएर पूजा पनि गराउने गर्छु।’
‘त्यसो भए भन्दिनुस् न त, अहिलेसम्म तपाईंले तिहारमा भाइटीका लगाइदिएका दाजुभाइ कति पुगे?’
जवाफमा रेखा मुस्कुराउँदै भन्छिन्, ‘धेरै त होइन, सात–आठ जना होलान्।’
रेखाले वाइसिएलका नेता सागर थापालाई दाइ मानेकी छिन्। पत्रकार उदय जिएमलाई त झन् आफ्नै कोखको दाइजस्तो ठान्छिन्। भन्छिन्, ‘एकदमै माया गर्नुहुन्छ मलाई। उदय दाइको छोरालाई पनि टीका लाईदेकी छु।’
त्यस्तै कलाकार किरण थापा, फिल्म निर्माता चन्द्र गौतम, कलाकार शंकर बिसीलगायतलाई पनि उनले दाइ मानेर टीका लगाइदिने गर्छिन्। फिल्म निर्देशक हिमग्याप लामालाई पनि पहिलोपल्ट भाइटीका रेखाकै हातबाट लगाएका हुन्।

यद्यपि यसपाली ‘मानेका’ दाइभाइ कसैलाई उनले टीका लगाउन नपाउने भइन्, कारण आफ्नै दुईदाइलाई टीका लगाउन मोरङ पुगिन्।
‘दाजुभाइ भनेको बनाएर बन्ने चिज होइन,’ रेखा भन्छिन्, ‘भाइटीका लगाएर मात्रै हुने चिज पनि होइन। आत्माबाटै एकखालको कनेक्सन हुनुपर्छ। आफूलाई आत्माबाटै ‘साँच्चिकै दाइ’ भन्ने फिल हुनुपर्छ। सम्बन्धलाई एउटा नाम दिन मात्रै टीका लाउनुको कुनै अर्थ हुन्न।’
भाइटीकालाई उनी दाजुभाइको सम्बन्ध प्रगाढ बनाउने दिनका रुपमा लिन्छिन्। ‘अरु बेला कुटाकुट भए पनि यो बेला मायाप्रेम हुन्छ। त्यसैले पनि मलाई यो दिन प्रिय लाग्छ,’ उनी तिहारको मिठो पाटो यसरी बताउँछिन्।
000
रेखालाई तिहार आउनासाथ अहिलेसम्मकै अविस्मरणीय तिहार कुन सालको लाग्छ भन्ने प्रश्नले हत्तु बनाउँछ।
‘धेरैले सोध्छन् यो प्रश्न,’ उनी भन्छिन्, ‘तर मेरो जीवनमा अविस्मरणीय भन्ने नै हुँदैन। म हरेक साल, हरेक पललाई महत्व दिन्छु। हरेक सालको तिहार मेरो लागि उति नै महत्वपूर्ण हुन्छ। जिन्दगी त धेरै लामो छ। अनि कसरी तुलना गर्ने? जीवनको उत्तरार्द्ध अर्थात् ७० वर्ष पुगेपछि मात्रै यस्ता प्रश्न सोध्ने हो क्या! त्यतिबेला केही जवाफ दिन सकिएला!’
रेखा अचेल तिहारमा भैली खेल्दिनन्। तर, भैली खेल्दाताका स्मृति अझै ताजै छन्। ‘हामी चार–पाँच जना भएर खेल्न जान्थ्यौँ,’ उनी सम्झन्छिन्, ‘सय रुपैयाँ दिँदा बेहोस नै हुन्थ्यौँ। ओ माइ गड, सय रुपैयाँ भन्ने हुन्थ्यो। दुई वर्ष जति खेलेँ। त्यसपछि खेलिनँ। दिदीहरु सधैँ जानुहुन्थ्यो। म घरमा ममीलाई सघाउँथेँ। मलाई खेल्नभन्दा पनि देउसीभैलो टोलीलाई वेलकम गर्न मन पर्थ्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।