काठमाडौं- विश्व बैंकले बिहीबार सार्वजनिक गरेको ‘डुइङ बिजनेस २०२०’ प्रतिवेदनअनुसार नेपालले आफ्नो वरियतामा सुधार गरेको छ।
सन् २०१७ मा १०५औं स्थानमा रहेको नेपाल गत वर्ष ११०औं स्थानमा झरेको थियो भने यसवर्ष १६ अंकको फड्को मार्दै ९४औं स्थानमा पुगिएको छ। अघिल्लो वर्ष नेपालको वरियता घटेपछि अर्थमन्त्री डा युवराज खतिवडाले त्यसमा असहमति जनाउँदै डुइङ बिजनेस इन्डेक्समा नेपालको अवस्थाबारे पुनरावलोकन गर्न विश्व बैंकलाई आग्रह गरेका थिए।
दक्षिण एसियाली मुलुकहरुमा वरियतामा नेपालभन्दा अगाडि भारत ६३औं र भुटान ८९औं स्थानमा छन्। दक्षिण एयियाका अन्य मुलुकहरु श्रीलंका ९९औं स्थानमा, पाकिस्तान १ सय ८औं स्थानमा, माल्दिभ्स १ सय ४७औं स्थानमा, बंगलादेश १ सय ६८औं स्थानमा र अफगानस्तान १ सय ७३औं स्थानमा छ। डुइङ बिजनेस इन्डेक्स निर्धारणका लागि तय गरिएका १० सूचकाङ्कमध्ये नेपालको ५ मा सुधार, ३ वटामा गिरावट र २ वटा स्थिर छन्। सर्वाधिक सुधार गर्ने २० राष्ट्रमा भने नेपाल परेको छैन।
नेपालले भारतसँगको व्यापारमा भन्सार नाकाहरुमा सहजताका लागि पहल गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। वस्तु आयात-निर्यातका लागि लाग्ने लागत र समयमा कमी आएको छ। नेपालले ऋण पाउने, निर्माणका लागि दिइने अनुमति, खरिद व्यवस्थापनसम्बन्धी कठिनाइहरुलाई सुल्झाउन प्रयास गरेकोलगायत विषयलाई पनि विश्व बैंकले सकारात्मक रुपमा लिएको छ।
नेपालले सुधार गरेका विषयमा निर्माण अनुमति लिँदा लाग्ने समय र शुल्क घटाएर सहज बनाइएको तथा कर्जासम्बन्धी सूचनाको सहज जानकारीका कारण पनि नेपालमा लगानी गर्ने वातावरणमा सुधार देखिएको जनाइएको छ।
प्रतिवेदनअनुसार नेपालमा व्यसाय सुरु गर्नका लागि अवस्था कठिन नै रहेको देखाइएको छ। त्यसैगरी, सम्पत्ति दर्ता, हस्तान्तरण लगायतका विषयमा पनि नेपालले सुधार गर्नुपर्ने देखिएको छ। कामदारलाई सामाजिक सुरक्षामा आवद्ध गराउने नीतिका कारण लगानीकर्ताले केही झन्झट महसुस गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। नेपालले सम्पत्ति हस्तारन्तरणमा लाग्ने शुल्क वृद्धि गरेका कारण पनि केही लगानीको वातावरणमा असर देखिएको विश्व बैंकले जनाएको छ।
अर्थतन्त्रको बृहत्तर सुधारको एजेण्डामा धेरै काम गर्न बाँकी छ
डा स्वर्णिम वाग्ले, पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग
समग्र अर्थतन्त्रको गतिशीलताबारे, अर्थतन्त्रका अन्य प्रगतिलाई यसले समेट्दैन। डुइङ बिजनेसमा चीन निकै पछाडि छ तर अहिलेको सबैभन्दा गतिशील अर्थतन्त्र चीनको नै छ। दक्षिण एसियामा अहिलेको सबैभन्दा सफल अर्थतन्त्र भनेको बंगलादेशको हो। बंगलादेश डुइङ बिजनेस बरियतामा १ सय ६८औं स्थानमा छ। यो इन्डेक्स माथि आउँदैमा अर्थतन्त्र राम्रो भन्ने होइन।
तर, विभिन्न १० वटा उपसूचकांकहरुलाई टुक्र्याएर हेर्दा ५ वटामा सुधार देखिएको छ। जस्तो कर्जासम्बन्धी सूचना अति राम्रो उपलब्ध गराउने प्रणाली लागू गरेका हुनाले त्यसमा र्यांकिङ ह्वात्त बढेको छ। तर, व्यवसाय सुरु गर्ने प्रक्रियाहरुमा अझै पनि पछि छ।
डुइङ बिजनेस इन्डेक्समा सुधार गर्ने उत्कृष्ट २० भित्र नेपाल छैन। ११०औं स्थानबाट ९४औं स्थानमा जाँदा समग्रमा राम्रो देखिए पनि विश्वका उल्लेख्य प्रगति गर्ने मुलुकहरुमा हाम्रै छिमेकी चीन, भारतलगायत पाकिस्तान, बंगलादेश, म्यानमार छन्। तर, नेपाल परेको छैन।
यसकारण हामीले बृहत्तर सुधारको एजेण्डामा धेरै काम गर्न बाँकी छ। यद्यपि वरियता सुध्रनु भनेको राम्रै हो। प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रमा यो विषयले खासै केही महत्व राख्दैन। यो एउटा अप्रत्यक्ष सूचक (इन्डाइरेक्ट इन्डिकेटर) मात्र हो। देशभित्रको आन्तरिक व्यवसायहरुलाई बढी सरोकार राख्छ।
तर, वरियता सुध्रिएमात्रै पनि सन्देश त पक्कै पनि सकारात्मक जान्छ नै। नेपाल पनि सुधारोन्मुख मुलुक रहेछ र लगानी गर्न लायक मुलुकका रुपमा नेपाललाई विदेशी लगानीकर्ताले मान्न सक्छन्। प्रत्यक्ष लगानीकै नीति, नियम, कानुनी प्रक्रिया लगायतका विषयमा यो डुइङ बिजनेस इन्डेक्सले केही पनि भन्दैन।
सुखद समाचार हो, तर आर्थिक मितव्ययितामा नेपालको अवस्था खस्कँदो छ
विश्व पौडेल, अर्थविद्
डुइङ बिजनेसमा नेपालको वरियता बढ्नु भनेको सुखद समाचार हो। नेपालले अझैं २० देखि ३० स्थानसम्म वरियता बढाउन सक्ने सम्भावना छ।
नेपालका विभिन्न अवस्था सुधारका लागि विश्व बैंकले विभिन्न सुझाव तथा सुधारका क्षेत्रहरु देखाइरहेको हुन्छ। ती विषयमा हामी थप सुधार गर्न सक्छौं। महत्वपूर्ण कुरा के भने यी सबै साध्य होइनन्, साधन मात्रै हुन्। आर्थिक वृद्धि, औद्योगिक क्षेत्रको वृद्धिलगायत क्षेत्रमा पनि सकारात्मक परिसूचकहरु देखिन आवश्यक छ।
अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको राजस्व लक्ष्य तथा विकास खर्चमा मितव्ययिताका विषयहरुमा हामीले सुधार गर्नुपर्ने देखिन्छ। चालु खर्चको दायित्व थप बढ्दो क्रममा छ। उच्च कर तिर्नुपर्ने हाम्रोजस्तो मुलुकमा राजस्वको लक्ष्य भेटाउन नसक्नु, चालु खर्चको दायरा बढ्नु र विकास खर्चमा मितव्ययिता देखिन सकेको छैन। यसकारण हामीले सुधार गर्नुपर्ने क्षेत्रहरु थुप्रै छन्।
आर्थिक मितव्ययिततामा ध्यान दिन निक्कै जरुरी भइसक्यो। जति ढिलो हुन्छ, त्यति हामीलाई आर्थिक रुपमा थप अप्ठेरो पर्छ।
समग्रमा नेपालले डुइङ बिजनेसमा सुधार गर्नु राम्रो विषय हो। तर, गर्नपर्ने काम अझै पनि धेरै छन्। ५० देखि ६० को बीचमा नेपालको वरियता पार्न सकिन्छ। भारतले सक्छ भने हामीले नसक्ने कुरै छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।