‘जुन कला आम दर्शकमाझ पुग्न सक्दैन, जसको कुनै सामाजिक उद्देश्य हुँदैन, म त्यसलाई कला नै मान्दिनँ,’ अभिनेता ओम पुरीले फिल्मको पर्दामा बाहेक आफ्नो असल जिन्दगीमा पनि कयौँपल्ट यस्तो भनेका थिए।
सन् १९८४ मा रिलिज भएको फिल्म ‘पार्टी’मा पत्रकार अविनाशको भूमिका निर्वाह गर्दैगर्दा पनि उनले भनेका थिए, ‘मेरो विचारमा विचारका माध्यम आम दर्शकसँग जोडिने हरेक कलात्मक रचना, नाटक उपन्यास या फिल्म सामाजिक वा राजनीतिक संघर्षको बलियो हतियार हुन्।’
यही विचार उनले निर्वाह गरेका सयौँ पात्रमा झल्किन्छ। करिब चार दशक लामो आफ्नो अभियन यात्रामा उनले कयौं यस्ता पात्र निर्वाह गरे जसले विभिन्न सामाजिक मुद्दालाई छोयो र दर्शकलाई सोच्न बाध्य बनायो।
आफ्नो जीवन्त अभियनका माध्यम उनी सधैं भुईंमान्छेका प्रतिनिधि भएर प्रस्तुत भइरहे। चाहे ‘सिटी अफ जोय’ फिल्ममा रिक्सा चालकको भूमिकामा निर्वाह गरेर होस् वा ‘सुस्मन’मा कपडा बुन्नेको उनी सधैं आफ्नो चरित्रमा खरो उत्रिए।
करिब ३ सय भन्दा धेरै फिल्ममा आफूलाई जिवन्त उतारेका ओमपुरी वास्तवमै बहुमुखी प्रतिभाका धनी थिए। चाहे आर्ट सिनेमा होस् या कमर्सियल उनले सधैँ दर्शकमाझ आफ्नो बलियो छाप छाडे। उनले पर्दामा निर्वाह गरेका भूमिका चाहे सहायक होस् या प्रमुख, हलबाट बाहिर निस्किएपछि पनि सम्झनलायक हुन्थ्यो। उनको गम्भीर आवाज र आँखाले दर्शकलाई सधैं लोभ्याइरह्यो।
.jpg)
यदि आज ओम पुरी जीवित हुन्थे भने सायद आफ्नो ६९औं वसन्त उत्साहपूर्वक मनाइरहेका हुन्थे। आज हामी यिनै अभिनयका जादुगर ओम पुरीको अभिनय करिअरबारे छोटो चर्चा गर्दैछौं।
साधारण अनुहार, असाधारण प्रतिभा
सन् १८ अक्टुबर १९५० मा भारतको अम्बालामा जन्मिएका ओम पुरीको बाल्यकाल निकै कठिनसँग बित्यो। जब उनका बाबु चोरीको झुटो मुद्दामा जेल चलान भए, त्यसपछि उनको आमालाई परिवारको गुजारा टार्न ठूलै समस्या आइलाग्यो।
.jpg)
यही घटनापछि पुरीको परिवार गरिबीको ठूलो चंगुलमा फस्यो। एक अन्तवार्तामा आफ्नो संघर्षको कथा सुनाउँदै गर्दा पुरीले भनेका थिए, ‘मलाई मेरी आमाले सधैँ चियापसलमा काम गर्न पठाउनुहुन्थ्यो ताकी घरको एक छाकको खाना त्यसैबाट प्राप्त पारिश्रमिकले टरोस्। त्यो समयमा मैले ढावाको जुठो भाँडा पनि माझेको छु।’
चरम गरिबीकै कारण ओम र उनका भाइले रेल्बे ट्रयाकमा रेलबाट खस्ने कोइला जम्मा गरेर बेच्ने काम समेत गरे।
यसरी आफ्नो स्कुलको पढाई सकाएपछि ओमले ‘इभिनिङ कलेज’ पढ्न सुरु गरे। दिउँसो उनी त्यही कलेजमा ल्याब असिस्टेन्टका रुपमा काम गर्थे, साँझ त्यही पढ्थे।
कलेज पढ्दापढ्दै उनको जीवनले नयाँ मोड लियो। ‘एक पटक मैले कलेजको युथ फेस्टिवलमा भएको एउटा नाटकमा भाग लिएको थिएँ,’ जीवनको त्यो नयाँ घुम्तीबारे एक अन्तर्वार्तामा ओमले भनेका थिए, ‘त्यतिबेला मैले उत्कुष्ट भएर पहिलो पुरस्कार पाएँ। पन्जाव कला मन्चका प्रसिद्ध रंगकर्मी हरपाल तिवाना पनि त्यहाँ निर्णायकका रुपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले त्यतिबेला मलाई ‘तिमी हाम्रो नाट्य संस्थामा भर्ना किन हुँदैनौ भनेर प्रश्न गरेका थिए। जवाफमा मैले उनलाई भनेको थिएँ, म दिनमा काम गरेर १ सय २५ रुपैयाँ कमाउँछु। जवाफ सुनेर तिवानाजीले ‘म तिमीलाई १ सय ५० रुपैयाँ दिन्छु भनेर प्रस्ताव राख्नुभयो। यहीँबाट मेरो जिन्दगीले नयाँ यात्रा तय गर्यो– अभिनय यात्रा।’

पछि उनी सरकारी क्लर्कको जागिर छाडेर नेसनल स्कुल अफ ड्रामा (एनएसडी)मा आइपुगे। अनुहारमा बिफरको दागैदाग, थेप्चो नाक अनि बोलिचालीमा पन्जाबी प्रभाव रहेको एउटा साधारण अनुहारलाई बलिउडको अभिनेता बन्न कुनै पनि दृष्टिबाट सहज थिएन।
‘म पन्जाबी माध्यम स्कुलबाट आएको थिएँ, न अंग्रेजी बोल्न आउँथ्यो, न बुझ्थे,’ आफू एनएसडीमा रहँदाका ती दिन सम्झँदै ओमले भनेका थिए, ‘त्यसैले म एनएसडीबाट भाग्न चाहन्थे। तर मेरो गुरु इब्राहिम अल्काजीले मलाई ‘तँ यो गर्न सक्छस्’ भनेर सम्झाए। केही बुझिनस् भने मलाई अप्ठेरो नमानी सोध्नु भनेर आड भरोसा दिए। त्यसपछि मैले कहिल्यै पछाडि फर्केर हेर्नु परेन।’
एनएसडीपछि पुरीले एफटीआइआई पुणेमा भर्ना हुनका अडिसन दिए। अभिनेता पुरीबारे पत्नी नन्दिता दासले लेखेको किताब ‘अनलाइकली हिरो’मा उल्लेख छ,‘त्यतिबेला उनको अनुहारलाई लिएर टिप्पणी गरिएको थियो– न तिम्रो अनुहार हिरोजस्तो छ, न भिलेन, न कमेडियन।’
ओम पुरीलाई पनि यो थाहा थियो कि यस्तो साधारण अनुहारलाई परम्परागत सिनेमाको कलाकार बन्न सहज छैन। उनले भनेका थिए, ‘त्यसैले मैले श्याम बेनेगललाई छाडेर अन्य कोही निर्देशकसँग कामको अफर लिएर गइनँ।’
बेनेगलसँग पुरीले कयौं फिल्ममा काम गरे। पुरी निकै मिहनेती र अभिनयप्रति पूर्ण समर्पित कलाकार थिए, त्यसैले निर्देशक बेनेगल उनीसँग कायल थिए।
.jpg)
उनले एक पटक भनेका थिए, ‘सन् १९८१ मा हामीले पहिलोपटक एउटा फिचर फिल्ममा सँगै काम गरेका थियौँ, जसमा उनको प्रमुख भूमिका थियो। ‘आरोहण’को सुटिङ कोलकतामा भएको थियो। त्यहाँ ओमले सानदार अभिनय गरेका थिए। यही फिल्मबाट उनलाई पहिलो राष्ट्रिय पुरस्कारसमेत मिल्यो।’
आर्ट र कमर्सियल सिनेमाको तालमेल
विजय तेन्दुलकरको नाटकमा आधारित फिल्म ‘घासीराम कोतवाल’बाट आफ्नो अभिनय यात्राको सुरुवात गरेका पुरीले थुप्रै सम्झनलायक हिन्दी फिल्ममा काम गरे। गोविन्द निहलानी,सत्यजित रे, श्याम बेनेगल जस्ता दिग्गज निर्देशकसँगको छत्रछायाँमा उनले कयौँ सम्झनलायक चरित्र निर्वाह गरे।
चाहे ‘अर्ध सत्य’ मा इमान्दार र भ्रष्ट व्यवस्थाको बीचमा उभिएको प्रहरी अधिकृतको भूमिका होस् या ‘जाने भी दो यारो’ मा बेइमान बिल्डरको भूमिका होस्, उनले हरेक क्यारेक्टरमा आफूलाई जिवन्त प्रस्तुत गरे।
आफूले निर्वाह गर्ने पात्रसँग नजिक हुनलाई उनी ‘मेथड एक्टिङ’को अभ्यासमा समेत विश्वास राख्थे। ‘सिटी अफ जोय’ फिल्ममा काम गर्नुअघि उनले कोलकताका गल्लीहरुमा खुलेरै रिक्सा चलाए, ‘सुस्मन’का लागि कपडा बुने, ‘चाइना गेट’का लागि घोडा चलाउन सिके।

सुरुवातमा लगातार आर्ट सिनेमामा मात्रै काम गरिरहेका ओमलाई राम्रोसँग हेक्का थियो, यस्तो सिनेमा मात्रै काम गरेर मेरो गुजारा चल्नेवाला छैन। ‘आर्ट फिल्ममा काम गरेर कसैले घर बनाउन सक्दैन। तर मुम्बईजस्तो सहरमा आरामको जिन्दगी गुजार्न हरपल पैसा आवश्यक पर्छ। त्यसैले मलाई आर्ट र कमर्सियल सिनेमाबीच सम्झौता गर्न जरुरी थियो,’ एक अन्तर्वार्तामा निकै भावुकतासाथ ओमले यो सत्य बताएका थिए।
उनको यस्तो पनि मान्यता थियो– सिनेमा धेरैभन्दा धेरै दर्शकमाझ पुग्न जरुरी छ। ‘यदि म ‘अर्ध सत्य’ या ‘तमस’ नाटकका माध्यमबाट दर्शकमाझ पुग्न खोजिरहेको हुन्थेँ भने मेरो पूरै जिन्दगी यही प्रयासमै गुज्रिरहेको हुन्थ्यो,’ उनले भनेका थिए। यद्यपि ओम यस्ता अभिनेता थिए, जो हास्य होस् या गम्भीर दुवै खाले भूमिकामा आफूलाई खरो उतार्न सक्थे। ‘हेराफेरी’, ‘मालामाल विकली’, ‘चाची ४२०’ केही यसका प्रमाण हुन्।
पन्जाबदेखि हलिउडसम्म
अंग्रेजी बोल्न नजान्न, अंग्रेजी नबुझ्ने एउटा कलाकार कुनै दिन अंग्रेजी फिल्ममा काम गर्ला, यो कसैले सोचेको थिएन। न ओमले कहिल्यै यस्तो कल्पना गरेका थिए।
त्यसैले त ओम पुरीको जीवन सबैका लागि प्रेरणादायक छ। ‘अर्डर अफ ब्रिटिस एम्पायर’ पाउने उनी पहिलो भारतीय थिए।

फिल्म ‘इस्ट इज इस्ट’मार्फत उनी बाफ्टा पुरस्कारका लागि समेत मनोनयमा परेका थिए। यो पुरस्कारमा नोमिनेसन हुने उनी पहिलो भारतीय थिए। अमेरिकी फिल्मकर्मी बेट्टी जोर्डनले एकपल्ट लेखेका थिए,‘इस्ट इज इस्ट’को सबैभन्दा बलियो पक्ष यसको अभिनय हो।
खासगरी जर्जको भूमिकामा ओम पुरी सानदार देखिएका छन्। एउटा रुढिवादी बाबुको भूमिकामा उनले आफूलाई जिवन्त प्रस्तुत गरेका छन्। जब जर्ज दुःखी हुन्छन्, उनीप्रति दर्शकको सहानुभुति पलाउँदै जान्छ। र, यही नै कलाकारको सबैभन्दा ठूलो सफलता हो।’ (‘द प्रिन्ट’बाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।