बाँके- जिल्ला कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले कारागारबाटै धम्की दिई यहाँका विभिन्न ट्राभल एजेन्सीबाट अनधिकृत रकम असुल्ने गरेको तथ्य बाहिर आएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार कारागारमा अपहरण तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका 'सानोबाबु' भनिने धनबहादुर सुनारले कारागारभित्रबाटै धम्की दिई यहाँका विभिन्न टुर्स एन्ड ट्राभल्सबाट दैनिक रकम असुल्ने गरेको तथ्य फेला परेको हो।
प्रहरीले रकम असुल्न सघाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। धनबहादुरले टुर्स एन्ड ट्राभल्स एजेन्सीबाट रकम असुल्न प्रयोग गर्दै आएका उनका भतिजा युवराज सुनारलाई नियन्त्रणमा लिएको छ।
प्रहरी उपरीक्षक वलीले सिम्ताली, पञ्चकोशी, देउती र नेपालगञ्ज टुर्स एन्ड ट्राभल्सबाट कारागारमा रहेका धनबहादुरले रकम असुल गर्दै आएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।