काठमाडौँ– दरबारमार्गमा मुघलको स्वाद दिने बिरयानीको रेष्टुरेन्ट लज्जिजो सञ्चालनमा आएको छ। शहरी विकासमन्त्री मोहम्मद इस्तीयाक राइले उक्त रेष्टुरेन्टको शुक्रबार उद्घाटन गरे। उनले काठमाडौंमा देशका विभिन्न स्थानका परिकार पाइनु सकारात्मक भएको प्रतिक्रिया दिए।
बिरयानीको विशेषतः तराई त्यसमा पनि नेपालगञ्जमा विशेष रुचाइने गरिन्छ।
नेपालगञ्ज निवासी इर्षद अहमद अन्सारीले दरबारमार्गमा लज्जिजोको दोस्रो शाखा बिस्तार गरेका हुन्। उनको पहिलो रेष्टुरेन्ट ललितपुरस्थित नख्खुमा रहेको छ। यो उनले करिब एक वर्ष अघि सञ्चालनमा ल्याएका थिए।
‘लजिज’ शब्द उर्दु र अराबिक शब्द हो। यसको अर्थ स्वादिष्ट भनेर बुझिन्छ।
बिरयानीका अलावा चिकेन कुर्मा, तावा मुर्ग, सामी कबाब चिकेन, लच्छा पराठा, केशरी लस्सी, कबाबका परिकार आदि रेष्टुरेन्टका विशेषता हुन्। रेष्टुरेन्ट सञ्चालक इर्षद अहमद अन्सारी भन्छन् ‘सहरमा मोमो चाउमिनको विकल्पको रुपमा मुघलको स्वादको बिरयानीको स्वाद चखाउनको लागि रेष्टुरेन्ट खोलेको हुँ।’
सकारात्मक प्रतिक्रिया पाई उत्साहित बनेका अन्सारीले शाखाका रुपमा अन्य स्थानमा पनि बिस्तार गर्ने योजना रहेको सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।