अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको दोस्रो पारीमा इंग्ल्यान्डको सुधारिएको प्रदर्शन

नेपाल लाइभ | २०७६ भदौ ८ आइतबार | Sunday, August 25, 2019 ०८:५०:०० मा प्रकाशित

लिड्स- एशेज टेस्ट शृंखलाअन्तर्गत तेस्रो टेस्टको दोस्रो पारीमा इंग्ल्यान्डले सुधारिएको प्रदर्शन गरेको छ। जितका लागि पाएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले तेस्रो दिनको खेल सकिँदासम्म ३ विकेटको क्षतिमा १ सय ५६ रन बनाएर खेलिरहेको छ।

तेस्रो खेलमा जित हात पार्दै शृंखलालाई १-१ को बराबरीमा ल्याउन इंग्ल्यान्डलाई २ दिनको खेल बाँकी रहँदा अझै २ सय ३ रन आवश्यक छ भने शृंखलामा २-० को अग्रता लिन अष्ट्रेलियालाई अब इंग्ल्यान्डका बाँकी ७ विकेट लिनुपर्नेछ।

इंग्ल्यान्डका कप्तान जोए रुट र बेन स्टोक्सले चौथो दिनको ब्याटिङ सुरुवात गर्नेछन्। रुट ७५ रन र स्टोक्स २ रनमा अविजित छन्। यसअघि रुटसँग तेस्रो विकेटका लागि १ सय २६ रनको साझेदारी गरेका जोए डेन्लीले ५० रनको योगदान दिए।

अष्ट्रेलियाका जोश हेजलवुडले २ तथा पेट क्युमिन्सले १ विकेट हात पारे।

यसअघि दोस्रो इनिंग्समा अष्ट्रेलियाले पूरा विकेट गुमाउँदै २ सय ४६ रज जोडेपछि इंग्ल्यान्डले ३ सय ५९ रनको लक्ष पाएको हो।

पहिलो इनिंग्समा भने दुवै टोलीले खराब ब्याटिङ गरेका थिए। १ सय ७९ रनमा अष्ट्रेलिया अलआउट हुँदा विश्वविजेता इंग्ल्यान्ड मात्र ६७ रनमा समेटिएको थियो।