एकैदिन दुई नेसनल अवार्ड थापेका विपिन भन्छन्- ‘हरि’ हुँदाहुँदै म ‘प्रसाद’बाट अवार्डको हकदार थिइनँ’

अनिल यादव  | २०७६ श्रावण ३ शुक्रबार | Friday, July 19, 2019 ०५:३०:०० मा प्रकाशित

काठमाडौं- हरेक फिल्ममा फरक–फरक भूमिका निर्वाह गरेर विपिन कार्कीले आफूलाई नेपाली फिल्मको ‘उम्दा’ अभिनेता प्रमाणित गरिसकेका छन्। हालसालै चलचित्र विकास बोर्डले राष्ट्रपति भवनमा वितरण गरेको तीन वर्षको नेसनल फिल्म अवार्डमा उनले दुई वर्षको उत्कृष्ट अभिनेताको अवार्ड हात पारे। ०७३ मा ‘जात्रा’र ०७५ मा ‘प्रसाद’बाट अवार्ड उचालेका हुन् उनले।  ‘गोपी’ ०७५ को उत्कृष्ट फिल्म घोषित भयो। अवार्डको नतिजाबाट उनी सन्तुष्ट छन् त? नेपालमा आयोजना भइरहेका फिल्म अवार्डलाई उनी कुन नजरले हेरिरहेका छन्? यही सेरोफेरोमा रहेर उनै विपिन कार्कीसँग नेपाल लाइभका सहकर्मी अनिल यादवले गरेको वार्ताः 

एकैपल्ट दुई वर्षको नेसनल अवार्ड थाप्दा कस्तो महसुस हुनेरैछ? 
छुट्टाछुट्टै थाप्न पा’को भए मज्जा हुन्थ्यो। अहिले त दुई वर्षको अवार्ड जितेपनि मलाई त एकपल्टमात्रै जितेजस्तो महसुस भइरा’छ। सायद एकैपल्ट थापेर होला! 

०७५ सालमा तपाईंका तीन फिल्म रिलिज भए- ‘हरि’, ‘प्रसाद’ र ‘गोपी’। तर, उत्कृष्ट अभिनेताको अवार्ड ‘प्रसाद’बाट पाउनुभयो। ‘प्रसाद’मा तपाईंले निर्वाह गरेको बाबुराम परियारको भूमिका नेसनल अवार्डका लागि अरुभन्दा योग्य जस्तो लाग्छ?
‘प्रसाद’मा पनि मैले एक लेभलको काम त गरेजस्तो लाग्छ। तैपनि ‘हरि’ हुँदाहुँदै बाबुरामको भूमिका नेसनल अवार्डको हकदार थियोजस्तो मलाई लाग्दैन। मैले ‘हरि’बाट अपेक्षा गरेको थिएँ। ‘हरि’मा मैले साँच्चै चुनौतिपूर्ण भूमिका निर्वाह गरेका थिएँ।

तर, जब मलाई अवार्डका लागि ‘प्रसाद’बाट विपीन कार्की भनेर स्टेजमा बोलाइयो, एकछिन त म ‘ट्वा’ परेको थिएँ। ला...‘हरि’ त कुनैपनि विधामा परेनछ जस्तो महसुस भयो। त्यसपछि ‘हरि’को टिमसँग भेट्दा पनि मलाई निकै अप्ठेरो महसुस भएको थियो। के गर्छेस् नेपालमा यस्तै छ, अब, जुरीलाई तेरो फिल्म पचेन भनेर बुझ्नु भनेर कन्भिन्स गरेँ। 

आफू ‘प्रसाद’बाट योग्य थिइनँ भन्ने लाग्दालाग्दै अवार्डचाँहि थाप्नुभयो है...?
मलाई अवार्ड घोषणा हुनु अघिसम्म कुनै पनि एंगलबाट ‘प्रसाद’बाट अवार्ड पाउँछु भन्ने लागेकै थिएन। कसैको मुखबाट छ्वास्स अलिकति सुनेकोचाहिँ थिएँ, ‘तपाईंले त एकैपल्ट दुईवर्षको अवार्ड पाउँदै हुनुहुन्छ रे।’ मैले ‘केबाट रैछ’भन्दा ‘जात्रा’ र ‘हरि’बाट भन्ने जवाफ आएको थियो। त्यसैले म त पाएँ भने ‘हरि’बाटै पाउँछु भन्नेमा ढुक्क थिएँ। र्दुभाग्य ‘हरि’ त फिल्मजस्तो नै ठानिएनछ।

राष्ट्रपति भवनमा दौरा सुरवाल लगाएर पुगिसकेपछि ‘प्रसाद’को नाम आउनासाथ अब मैले अवार्ड लिनुहुन्न भन्ने सोच त मेरो दिमागमा आउँदैआएन। किनभने त्यहाँ कार्यक्रममा पुगिसकेपछि राष्ट्रपतिको पनि गरिमा राख्नुपथ्र्यो। कि त कार्यक्रममा जानु नै हुँदैनथ्यो तर गएपछि नथाप्नुचाहिँ उचित होला भन्ने लागेन। बरु कुनै समयमा गएर ‘यो ठिक भएन भनौँला तर आज अपमान नगरौँ’ भन्ने भयो। 

नेसनल अवार्डको नतिजा ‘लज्जास्पद’ आएपछि अहिले यो विवादमा तानिएको छ। समग्र नतिजाप्रति तपाईंको दृष्टिकोणचाहिँ कस्तो छ नि?
मैले राष्ट्रप्रमुखको हातबाट दिइने यो अवार्डलाई गरिमामय अवार्ड ठानेको थिएँ। त्यसैले दौरा सुरवाल लगाएर झकिझकाउ भएर गएको थिएँ। अवार्ड पाउँदैछु भन्ने त मलाई अगाडि नै थाहा भइसकेको थियो। विकास बोर्डको वार्षिकोत्सव कार्यक्रमका बेला नै जुरीका सदस्यले ‘तपाईंलाई भन्न त नमिल्ने हो तैपनि बधाई छ, हामीले त प्याक गरेका छौं तपाईंलाई’ भनेका थिए। ए, पाउँदैरैछु भन्ने भइसकेको थियो।

त्यस्तो ठूलो कुरा त लागेको थिएन किनभने अवार्ड पहिलोपल्ट पाइरहेको थिइनँ, धेरै अवार्ड पाइसकेको अवस्था थियो। घरभरि अवार्ड भएर अब र्‍याक नै बनाउनुपर्ने अवस्था भइसकेको छ। नत्र भए, एउटा बोरामा खादेर खाटमुनि राख्नुपर्‍यो! नेसनल अवार्डचाहिँ राष्ट्रप्रमुखको हातबाट पाइने भनेपछि अलिकति मोह जागेको थियो तर जब नतिजा विवादित भयो, बाहिर यो भएन र त्यो भएन भनेर अनेक टिकाटिप्पणी हुन थाल्यो।

त्यसपछि नेसनल अवार्डप्रतिको सम्मान घटेर गयो। अरुले टिप्पणी गरेजस्तै अनफेयर नै भएको हो कि क्या हो, चलखेल नै भयो कि क्या होजस्तो फिल पनि भयो। मलाई पनि चलखेल नै गरेर दिएको हो कि भनेर सोचिदेलान् भन्ने डर भयो। अवार्ड पाउनुअघि जति गरिमामय होला भन्ने सोचेको थिएँ, पाएपछि त्यस्तो महसुस भएन। 

मैले सोध्न खोजेको– अवार्डको समग्र नतिजाबाट तपाईं सन्तुष्ट हुनुभयो? 
धेरै अवार्ड थापिसकेपछि मैले महसुस गरेको कुरा के हो भने यो अवार्ड भनेको जुरीले छनोटको भर पर्ने रहेछ। जुरीका सदस्यहरू कति जान्ने छन्, फिल्मप्रति उनीहरूसँग कत्तिको गहिरो ज्ञान छ, उनीहरूले फिल्मलाई कसरी बुझ्छन् भन्नेमा अवार्डको नतिजा निर्भर हुन्छ। उनीहरू कुनैलाई फिल्म देख्छन्, कुनैलाई फिल्म नै देख्दैनन्। कुनैलाई क्यारेक्टर देख्छन्, कुनैलाई क्यारेक्टर नै देख्दैनन्।

त्यसैले मलाई त के लाग्छ भने, यो अवार्ड भनेको फिल्म र कलाकारकोभन्दा बढी जुरीका सदस्यहरूको ज्ञान र बौद्धिकताको परीक्षा हो। आज जस्तो नतिजा उनीहरूले निकालेका छन्, त्यसले फिल्मप्रतिको उनीहरुको बौद्धिकता र बुझाइ झल्काएको छ। अब हेर्नुस् न, उहाँहरूले ‘हरि’लाई त फिल्म नै देख्नुभएन। खोइ कस्तो फिल्म हो, अँध्यारो–अँध्यारो थियो, बोलिरहेको थियो एउटा मान्छेजस्तो लाग्यो होला।

उहाँहरूले कस्तोलाई फिल्म देख्नु हुनेरैछ त्यो त नतिजाले बोलिहाल्यो। मलाई यसपालीको नतिजाले अर्को के पनि महसुस भयो भने अवार्ड पाउन त रुनुपर्ने रहेछ। साथीहरुले मलाई जिस्कँदै सोधेका थिए, ‘अवार्ड पाउन के गर्नुपर्ने रैछ त?’ मैले पनि हाँस्दैहाँस्दै भन्दिएको थिएँ, ‘ए, रुनुपर्दो रैछ हौ।’ 

किन नि? 
‘प्रसाद’ र ‘जात्रा’मा अलि बढी नै रोएजस्तो लागेको थियो, अवार्ड पाइहालेँ। ‘हरि’मा खासै रोएको थिइँन, सायद त्यही भएर जुरीलाई माया लागेन (हाँस्दै)। 

‘हरि’का निर्देशकलाई पनि त्यस्तै सुझाव दिनुभयो कि क्या हो! 
अँ, दिए नि(हाँस्दै)। अनि निर्देशकले पनि मलाई व्यंग्य गरे, ‘अर्कोपाली मेरो क्यारेक्टरले भाले पाल्छ।’

तपाईं प्रमुख भूमिकामा रहेको ‘गोपी’ नेसनल अवार्डमा ०७५ कै उत्कृष्ट फिल्म घोषित भयो? तपाईंलाई चित्तबुझ्यो?
इमान्दार भएर भन्नुपर्दा मलाई ‘गोपी’ ०७५ को उत्कृष्ट फिल्मका लागि योग्य थियोजस्तो लागेन, भलै त्यो मैले नै अभिनय गरेको फिल्म किन नहोस्। विदेशतिर यो हाम्रो ०७५को उत्कृष्ट फिल्म भनेर देखाउनुपर्‍यो भने लाजमर्दो हुन्छजस्तो लाग्छ। 

नेसनल अवार्डको नतिजामात्रै विवादमा परेन, व्यवस्थापन विवाद पनि बाहिरियो। फितलो व्यवस्थापनका कारण कलाकार सरोज खनालले ट्वाइलेटको कमोडमा बस्नुपरेको तस्बिर सार्वजनिक गर्नुभयो। यसलाई तपाईंले कसरी लिनुभयो?
उहाँले त्यो कलाकारकै हितका लागि भनेर बाहिर ल्याउनुभयो, ‘आइन्दा कलाकारले अपमान झेल्नु नपरोस्’ भनेर। तर, उहाँ त्यहाँ नाच्न भनेर गइसकेपछि एउटा कार्यक्रमकै अंश हुनुहुन्थ्यो। अझ स्पष्टसँग भन्दा, आयोजककै हिस्सा हुनुभएको थियो।

हामी पो पाहुना भएर गएका थियौं। उहाँहरूलाई त नाच्नुपर्छ भनेरै बोलाएको थियो, पक्कै झुक्याएर त नचाएको त होइन। नाच्नलाई तयार भएर गइसकेपछि ठाउँको सीमिततालाई बुभ्नुपथ्र्यो कि जस्तो लाग्छ। कि त नाच्न भनेर जानु नै हुन्थेन, अतिथिकै रुपमा जानुपथ्र्यो। मचाहिँ नाच्न भनेर गएको भए पक्कै त्यसरी तस्बिर बाहिर ल्याउँथिन। त्यो अवस्थालाई सामान्यसँग नै ग्रहण गर्थेँजस्तो लाग्छ। 

नेसनल अवार्डमात्रै होइन नेपालमा बग्रेल्ती आयोजना हुने निजी अवार्डको ट्रेन्डलाई तपाईंले कसरी नियालिरहनुभएको छ?
भागबन्डा भइरहेजस्तो लाग्छ। अब नेसनल अवार्डमै हेर्नुस्, अनेक विधा थपेको छ। विधा थप्न किन जरुरी? त्यो त पक्कै कसैलाई खुस बनाउने भनेर त होला नि। पैसा लिने अवार्ड पनि हुँदारहेछन् क्या! मलाई त मागेका छैनन् तर थाहा पाएको छु। धेरै आलोचना नहोस् भनेर एक–दुईजना योग्यलाई नै अवार्ड दिने अनि अरुचाहिँ बेच्ने परिपाटी पनि रहेछ।

मलाई याद छ, ‘छड्के’को बेला मलाई निर्माता माधव वाग्लेले भन्थे क्या, ‘यसमा खर्च गर्नुभन्दा बरु १५ हजार तिरेर गोल्डीलाई बेस्ट सपोर्टिङ एक्टरको अवार्ड दिलाउँछु रे।’ अनि त्यतिबेला मैले दाईंलाई जिस्कदै सोधेको थिएँ, ‘हे दाइ, यसरी पनि मिल्छ रे अवार्ड?’ तर त्यतिवेलै म प्रष्ट भएको थिएँ, यहाँ अवार्ड त किनबेच हुँदोरहेछ। त्यतिबेला उहाँलाई अवार्ड आयोजकले पैसा मागेको रहेछ। मैले उहाँलाई मेरो नाममा पैसा नदिनु भनेको थिएँ। उहाँले पनि दिनुभएन। 

यहाँ फिल्म अवार्डहरू निष्पक्ष भइरहेका छैनन्, किनबेच भइरहेका छन् भन्ने थाहा हुँदाहुँदै तपाईं किन सहभागी हुन गइरहनुभएको छ। त्यस्ता अवार्डलाई प्रोत्साहन गर्न जरुरी छ र?
म सुरुसुरुमा धेरै अवार्डमा सहभागी हुन गइनँ। त्यतिबेला खुब कुरा काट्थे– यो विपीन ठूलो भयो भन्दै। ठूलो भएको होइन, घमन्ड गरेको होइन भनेर त्यो भ्रमलाई चिर्न म सहभागी हुन थालेको हो। तर, अब नेसनल अवार्डको नतिजा पनि विवादस्पद आउन थालेपछि म गम्भीर भएको छु। निजी अवार्डलाई त मैले त्यति महत्वसाथ हेरेकै थिइनँ तर राज्यले दिने पुरस्कारमै समस्या आएपछि मलाई सोच्न बाध्य बनाएको छ। यस्तै भइरहने हो भने अवार्डको औचित्य नै रहँदैन। मेडल र कप घरमा सजाउनका लागि मात्रै अवार्ड लिएर भएन। यसको गरिमा त हुनुपर्‍यो। अब भने अवार्डमा सहभागी हुनुअघि म पक्कै सोच्छु।