१३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पहिलोपटक जनकपुरमा हुन लागेको कुस्ती खेलका खेलाडीहरुलाई स्वागत गर्न जनकपुरबासी आतुर देखिएका छन्।
यतिखेर जनकपुरबासीको पुरा ध्यान प्रतियोगिता हुने स्थान जनकपुरधाम उपमहानगरपालिका-१३ स्थित कभर्डहलमा केन्द्रित छ।
बिहानदेखि बेलुकासम्म श्रृङ्गारिएको कभर्डहल हेर्नेहरुको भीड नै लाग्ने गरेको छ।
भीड लाग्नु स्वभाविक पनि हो किनभने नेपाल सरकारले विसं २०४०मा निर्माण गरेको कवर्ड हलको ३६ वर्षपछि मर्मतसम्भार भएको छ। धनुषा जिल्ला खेलकुद विकास कार्यालय प्रमुख बिनोद सिंहका अनुसार सागको कुस्ती प्रतियोगिता जनकपुरमा हुने निश्चित भएपछि राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरू कभर्डहलको अनुगमनका लागि पुगेको र अनुगमनपछि सो हललाई अन्तराष्ट्रिय स्तरको प्रतियोगिता गर्ने हिसाबले तयार पार्न करिब ६० लाख रुपैयाँ खर्च हुने इस्टिमेट युवा तथा खेलकुद मन्त्रालयलाई पठाइएको छ।
सिंहले ६० लाख रुपैयाँको खाँचो रहेको स्थानमा अहिले ३० लाख रुपैयाँमात्रै उपलब्ध गराइएको र बाँकी खेलपछि उपलब्ध गराउने बताएका छन्। उनले पहिलो पटक अन्तराष्ट्रिय स्तरको प्रतियोगिता हुँदा प्रदेश-२मा सरकारले अहिलेसम्म कुनै किसिमको सहयोग उपलब्ध नगराएको गुनासो गरे। उनका अनुसार स्थानीय सरकार जनकपुरधाम उपमहानरपालिकाले भने प्रचार प्रसारमा सहयोग गर्दै आएको छ।
खेलकुदका लागि जनकपुरधाममा एउटामात्र कभर्डहल रहेकाले दर्शकहरुको चाप अत्याधिक हुने र दर्शकलाई खेल हेर्नको लागि कभर्डहलको उत्तरी भेगमा एउटा ठूलो एलसीडी र एउटा जानकी मन्दिर परिसरमा ठूलो एलसीडी लगाईएको जसबाट दर्शकहरुले खेल हेर्न सक्ने जानकारी कार्यालय प्रमुख सिंहले गराए।
.jpg)
प्रतियोगिता आयोजना गर्न जिल्ला खेलकुद विकास समितिले संयोजन गरेको छ भने प्राविधिक तयारी केन्द्रले गरिरहेको छ। जनकपुरमा कुस्ती र कबड्डी खेल आयोजना गर्ने तयारी गरिएको थियो। तर राष्ट्रिय खेलकुद परिषद्ले भौतिक पूर्वाधारको अभाव देखाउँदै कुस्तीको लागि मात्र अनुमति दिएको थियो।
३ वटा स्वर्ण जित्न सक्ने सम्भावना
कुस्तीका सहायक प्रशिक्षक राजबीर यादवले कुस्ती यस क्षेत्रको मौलिक खेल भएको बताए।
सागमा सार्कका सबै देशले भाग लिने बताए पनि नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका खेलाडीहरुले मात्र भाग लिएको यादवले बताए। उनले सागको कुस्तीमा पुरुष र महिला गरी ७५ जना खेलाडी सहभागी हुने जानकारी दिए। जसमध्ये पाकिस्तानबाट पुरुष खेलाडीहरुको मात्र सहभागी रहेको जनाए।
उनले पुरुष तर्फ ५७, ६१, ६५, ७०, ७९, ८६, ९२, ९७ र १ सय २५ केजी वर्गमा प्रतिस्पर्धा हुने र महिलातर्फ ५०, ५३, ५५, ५७, ५९, ६५ र ६८ केजी वर्गमा प्रतिस्पर्धा हुने बताए।
.jpg)
प्रशिक्षक यादवले भने, ‘नेपालले भने सात वर्गमा मात्र सहभागिता जनाउने भएको छ। पुरुष र महिला दुवैमा नेपालले सात वर्गमा मात्रै प्रतिस्पर्धा गर्ने भएको छ।’
उनले अहिलेसम्म स्वर्ण पदक जित्नबाट वञ्चित नेपालले १३औं सागमा स्वर्ण पदक जित्ने अपेक्षा गरिएको बताए।
उनले भने, ‘फ्रि स्टाइल प्रणाली अनुसार खेलाइने कुस्तीमा यसपटक पुरुषतर्फ तीन र महिला तर्फ कम्तिमा एक स्वर्ण पदक जित्ने पक्का छ।’
सबै तयारी पुरा
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल चौधरीले बताए। ‘युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र जिल्ला खेलकुद विकास समितिको संयुक्त टोलीले प्रतियोगिताको आवश्यक तयारी पूरा गरेको छ’, उनी भन्छन्।
‘खेलका लागि कभर्डहलको मर्मतसम्भार, रंगरोगन, भौतिक पूर्वाधार निर्माण, झ्यालढोका निर्माण, स्टेज र बत्ती जडान, शौचालय निर्माण, दर्शकदीर्घा, भिआईपी कक्ष मर्मत लगायतका काम पूरा भइसकेको छ’, अध्यक्ष चौधरीले भने।
उनले प्रतियोगितालाई लक्षित गरी खेलाडीको सुरक्षा, पाहुनाको स्वागत, प्रचारप्रसार, आवास व्यवस्थापन तथा खेल स्थलको सौन्दर्यकरण लगायतका व्यवस्थापकीय काम पूरा भएको जानकारी दिए। खेलमा सहभागी हुनेहरुको लागि स्थानीय आयोजक खेलकूद विकास समितिले आवास, भोजन र सुत्ने स्थानको लागि मापदण्ड अनुसारको होटलमा नै व्यवस्थापन गरेको उनले बताए।
अध्यक्ष चौधरीले खेलाडीहरुलाई मंसीर १८ गतेदेखि जनकपुर र बर्दिवासमा आवास र भोजनको बन्दोबस्त गरेको बताए। उनले खेलाडीहरुको विवरणअनुसार नेपालका खेलाडीहरुलाई जनकपुरस्थित सिटी स्टार होटेल, भारतका खेलाडीहरुलाई राजदरबार होटेल जनकपुर, बंगलादेशकालाई वेलकम होटेल जनकपुर पाकिस्तानको लागि पावन मिथिला होटेल बर्दिवासमा व्यवस्था मिलाइएको बताए।
प्रतियोगितालाई सभ्य र भव्य बनाउन खेलाडीदेखि प्रशिक्षकसम्म लागी परिरहेको सितोरियो करातेका प्रशिक्षक अखिलेश कर्णले बताए। उनले भने, ‘अन्तराष्ट्रिय स्तरमा समेत खेलको सकारात्मक सन्देश पठाउन सबैको सहकार्य आवश्यक छ।’
चिकिस्तक टिम ‘स्ट्याण्डबाई’ रहने
प्रतिस्पर्धाको क्रममा खेलाडीलाई चोटपटकसमेत लाग्न सक्ने भएकाले कभर्ड हलमै स्ट्याण्डबाई चिकित्सकको टिम राख्ने तयारी गरिएको छ।
क्षीरेश्वरनाथ नगरपालिका-२ रमदैयास्थित जानकी मेडिकल कलेजका दुई चिकित्सक, एक फिजियोथेरापी, दुई स्टाप नर्स र दुई सहयोगी स्ट्याण्डबाई कभर्ड हलमा रहने अध्यक्ष चौधरीले जानकारी दिए।
उनका अनुसार चोटपटक लागेका खेलाडीलाई होटलमै सेवा प्रदान गर्न चिकित्सकको मोवाइल टोली समेत परिचालन गरिनेछ।
.jpg)
यस्तै गम्भिर चोट लागेका खेलाडीका लागि जानकी मेडिकल कलेजमै एउटा आइसियु कक्ष समेत बुक गरिएको छ। खेलाडीको बिमाको व्यवस्था समेत मिलाइएको छ। खेलका क्रममा मृत्यु भएमा ५ लाख र घाइते भएकालाई ५० हजारको बिमा समेत गरिनेछ।
खेलाडीहरुलाई जनकपुर भ्रमण गराइने
मंसिर २० गतेबाट २३ गतेसम्म प्रतियोगिता हुनेमा मंसिर १८ गते नै खेलाडीहरु जनकपुरधाम आइपुग्ने भएको हुँदा उनीहरुलाई जनकपुरधाम भ्रमण गराइने भएको छ। जनकपुरधाम आएलगत्तै खेलाडीहरुलाई जनकपुरको धार्मिक पर्यटकीय स्थलहरू घुमाइने कार्यक्रम छ।
हामी भ्रमण वर्ष २०२०को पूर्व सन्ध्यामा रहेको हुँदा पर्यटकीय स्थलहरूको प्रचार प्रसार र विकासका लागि खेलाडीलाई घुमाइने समितिका अध्यक्ष चौधरीले जानकारी दिए। उनका अनुसार खेलाडीलाई पर्यटकीय स्थलहरूमा घुमाउन भ्रमण वर्ष २०२०का प्रदेश-२ संयोजक मनिष झासँग समन्वय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।