काठमाडौं- सोमबार नेपालको सबैभन्दा ठूलो ४ सय केभी क्षमताको स्वचालित सब-स्टेसनको उद्घाटन भएको छ। धनुषा जिल्लामा निर्माण गरिएको उक्त सबस्टेसनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।
सब-स्टेसनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको सबैभन्दा ठूलो स्वचालित सब-स्टेसनले विद्युतको व्यापारीकरण र औद्योगिकीकरणमा कोसेढुंगा साबित हुने बताए।
विद्युत पूर्वाधारको निर्माणमा तीव्रता दिँदै नेपालले विद्युत आयात गर्नुपर्ने अवस्था नभई अबको २ वर्षभित्रमा भारतलगायत छिमेकी मुलुकलाई विद्युत निर्यात गरिसक्नुपर्ने पनि प्रधानमन्त्री ओलीको भनाइ छ।
ढल्केबर सबस्टेसनलाई नेपालभित्रको बजार विद्युतीकरणलाई मात्र नभई बाह्य बजार विस्तारका लागि पनि महत्वपूर्ण पूर्वाधार संरचनाका रुपमा हेरिएको छ।
देशको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका कोसेढुंगा मानिएको यो सब-स्टेसनमा जिआइएस प्रविधि जोडिएका कारण पूर्ण स्वचालित छ।
सब-स्टेसन चार्ज भएसँगै नेपाल-भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ। आगामी चैत महिनाभित्र संचालनमा आइसक्ने लक्ष्य लिइएको ४५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्नेछ।
तामाकोशीबाट उत्पादित विद्युतलाई दोलखाको गोंगरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् खिम्ती हुँदै ढल्केबर ल्याइने छ। खिम्ती-ढल्केबर प्रसारणलाइन यसअघि नै संचालनमा आइसकेको छ भने गोंगर-खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगिसकेको छ।
२२० केभी प्रसारणलाइनमार्फत् ढल्केबर सबस्टेसनमा आएको विद्युतलाई आन्तरिक खपतका लागि पूर्व र पश्चिम समानान्तर रुपमा प्रवाह गर्न सकिन्छ। त्यस्तै ढल्केबर-मुजफ्फपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत् भारतमा सिधै निर्यात गर्न पनि सकिन्छ। सबस्टेसनमा रहने ट्रान्सफर्मरको क्षमता ९४५ केभिए छ। ३१५ एमभिएका तीन वटा गरी ९४५ एमभिए क्षमताको ट्रान्सफर्मर रहने छन्। जसले करिब ९ सय मेगावाट विद्युतलाई प्रसारण गर्ने क्षमता राख्दछन्।
सरकारले चालु आर्थिक बजेटमार्फत यही आर्थिक वर्षभित्रै ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी संचालनमा ल्याउने घोषणा गरेको थियो। नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब २ अर्ब रुपैयाँ लगानीमा बनेको यो आयोजना स्वचालित प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो।
सब-स्टेसन निर्माण भारतीय कम्पनी एबिबी र परामर्शदाताको काम नेपाली कम्पनी एनइए इन्जिनियिरिङले गरेको हो। प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसेम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।