एजेन्सी- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइनबीच आज महत्वपूर्ण वार्ता हुने भएको छ। उत्तर कोरियाको राजधानी प्योङयाङमा शिखर वार्तामा अत्याधुनिक परमाणु व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ।
वार्तामा सहभागी हुन दक्षिण कोरियाका राष्ट्रपति जेइन पत्नी किम जंग सुकका साथ मंगलबार बिहानै प्योङयाङ पुगेका छन्। उनीहरुलाई किम र उनकी पत्नी री सोल जूले विमानस्थलमा स्वागत गरेका थिए।
गत अप्रिलमा दुई देशबीचको सीमामा भएको ऐतिहासिक शिखर सम्मेलनपछि यो तेस्रो बैठक हो। 'एक दशकपछि पहिलोपटक वार्ता भयो त्यो नै निकै ठूलो कदम थियो,' बिबिसीका सियोल संवाददाता लौरा बिकर भन्छन्, 'यसपटक दक्षिण कोरियाका राष्ट्रपति उत्तरको परमाणु व्यवस्थापनका लागि ठोस प्रस्ताव राख्न चाहेका छन् र त्यो प्रगतिउन्मुख हुन सक्छ।'
उत्तर कोरियालाई आर्थिक सहयोग उपलब्ध गराई परमाणुकरणको मुद्दामा प्योङयाङ र अमेरिकाबीच एक मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने दक्षिण कोरियाले लक्ष्य लिएको छ।
बैठकमा मुनले उत्तर कोरियालाई आर्थिक सहयोग प्रदान गर्ने र उसका परमाणु कार्यक्रम अन्त्य गर्न प्रस्ताव गर्ने बताइएको छ। हाल संयुक्त राष्ट्रसंघबाट प्रतिबन्धको सामना गरिरहेको उत्तर कोरियाले सो प्रस्ताव स्वीकार्ने सम्भावना रहेको अधिकारीहरुले अनुमान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।