काठमाडौं– उपचारका लागि सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। देउवा मध्यान्ह नेपाल फर्किएका हुन्।
सभापति देउवा नभएको कारणले संवैधानिक परिषदको बैठकसमेत बस्न सकेको छैन। परिषद्को बैठक नबसेका कारण सर्वोच्च अदालतमा प्रधानन्यायधीसको समेत नाम सिफारिस हुन सकेको छैन। संसदीय सुनुवाइका लागि प्रधान्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता अनिवार्य उपस्थित हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ।
त्यस्तै, संसदीय समितिमा कांग्रेसबाट सभापतिमा उम्मेद्धार दिने सदस्यको नाम देउवाकै कारण निश्चित हुन सकेको छैन। सभापति देउवाको कारण पार्टीको विधान मस्यौदा समितिसमेत बन्न सकेको छैन। नामावलीमा सहमति भएपनि सार्वजनिक गर्नका लागि देउवालाई कुरिएको छ।
यसैबीच प्रदेश ७ को नामकरण र राजधानी टुङ्गो लगाउनका लागि गठित विशेष समितिले देउवालाई भेट्न पाएको छैन। प्रदेश ७ बाट प्रतिनिधित्व गर्ने अन्य केन्द्रीय नेताहरुलाई भेटिसकेको उक्त टोलीले सभापति देउवाको राय लिनको पाएको छैन।
पत्नी आरजु राणासहित पेटको उपचारका लागि साउन २३ मा देउवा सिंगापुर गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।