सिओल– उत्तर कोरियाली नेता कीम जोङ–उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएको भन्दै कडा शब्दमा निन्दा गरेका छन्। उत्तर कोरियाली सञ्चार संस्था माध्यमका अनुसार, नेता कीमले मुलुकको उत्तरमा निर्माणाधीन परियोजनाको निरीक्षणका क्रममा अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाको सकारात्मक पहललाई अझै बुझ्न नसकेको बताए।
पत्नीसहित उच्च अधिकारीका साथमा रहेका कीमले साम्जीयोन काउन्टीमा सञ्चालित विकास परियोजनाको निरीक्षण गरेका थिए। यो परियोजनास्थल उनका बाबु कीम जोङ–इलको जन्मस्थान हो।
‘दुश्मनले लगाएको प्रतिबन्ध र अबरोधक क्रियाकलापहरु हाम्रो समाजवादमाथिको विकासमा गम्भीर बाधा उत्पन्न गरिरहेका छन्,’ कीमको भनाई उद्धृत गर्दै केसीएनएले भनेको छ, ‘कठिन परिस्थितिमा पनि महान नेताको नेतृत्वमा आमजनताले ऐतिहासिक सफलता प्राप्त गर्नेमा हामी ढुक्क छौं।’
गत साता, कीमले पूर्वी तटीय क्षेत्रमा निर्माणाधीन वोन्सान–कल्माको निरीक्षणका क्रममा पनि दुश्मनहरुले लुटेरा शैलीमा अबरोध गरेको आरोप लगाएका थिए।
कीमले अमेरिकाका तर्फबाट दबाव सिर्जना गर्न विगतमा उत्तर कोरियाविरुद्ध लगाइएका आर्थिक तथा अन्य प्रतिबन्धहरु खुला गर्नुको साटो अझ कडा पारेको भन्दै आलोचना गरेका छन्।
अमेरिकी अर्थ मन्त्रालयले बुधबार मात्र उत्तर कोरियामाथि लगाइएका आर्थिक अबरोधलाई बेवास्ता गर्ने चिनियाँ र रुसी ‘फर्म’माथि नयाँ प्रतिबन्धहरु लगाएको थियो। रासस/योन्हाप
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।