रामगोपाल, महोत्तरी– क्यान्सर रोग उपचारसम्बन्धी सबै स्वास्थ्य सेवा यहाँका जनताले अब सर्वसुलभ रुपमा आफ्नो घर आँगनमा नै पाउने भएका छन् ।
विनयतारा फाउण्डेशन अमेरिका, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपाल नगरपालिकाको संयुक्त सहकार्यमा क्यान्सर सेन्टर (अस्पताल) सञ्चालनमा आएपछि नगरवासीले पहिलोपटक विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाएका हुन् । नगरपालिकाका प्रमुख अशोककुमार मण्डल, उपप्रमुख सीतादेवी साह, वरिष्ठ क्यान्सर रोग एवं शल्यचिकित्सक राकेश साहले हालै सो सेवाको शुभारम्भ गरे । अस्पतालले विशेषगरी क्यान्सर रोगका लागि प्रदान गर्ने सेवा गुणस्तरीय हुने बताइएको छ ।
प्रदेश नं २ अन्तर्गत क्यान्सर रोग उपचार गर्ने यो पहिलो सेन्टर मानिन्छ । सिराहा, सप्तरी, धनुषा, महोत्तरीलगायताका जिल्लाका क्यान्सर रोगी उपचार गर्न चितवन अथवा धरान जानुपर्ने बाध्यता कम हुनेछ । क्यान्सर रोग विशेषज्ञद्वय डा विनय साह र डा राकेशकुमार साहको पहलमा जिल्लाको दुर्गम क्षेत्रमा क्यान्सर सेन्टर सञ्चालनको अगुवाइ गरेका हुन् ।
“सेन्टरमा आउने बिरामीले गुणस्तरीय सेवा पाउने छन्, बिरामीलाई सकेसम्म अन्यत्र पठाउने छैनौँ”, डा राकेशले भने । ट्रष्टले अहिले घर भाडामा लिइ अन्तरङ्ग साथै प्रयोगशाला, रेडियोजोलीलगायतका सेवा शुरु गरेको छ । शल्यक्रिया, किमोथेरापीजस्ता क्यान्सर रोगसित सम्बन्धित थप सेवा विस्तार गर्ने जनाइएको छ ।
५२ रोपनीमा अत्याधुनिक सेन्टर
सेन्टरलाई भौतिक पूर्वाधारयुक्त भवन बनाउन नगरपालिकाले ट्रष्टलाई चार बिगाहा (करीब ५२ रोपनी) जग्गा उपलब्ध गराएको छ । चार वर्षभित्रमा सेन्टरको आवश्यक भवन निर्माण, उपकरण जडान, प्रयोगशालासहित जनशक्ति व्यवस्थापन विनय तारा फाउण्डेशन अमेरिका र विनयतारा क्यान्सर ट्रष्ट नेपालले गर्नेछन् । रामगोपाल नगरपालिकाले अनुगमन, समन्वय गर्नेछ ।
सो काम गर्न ती निकायका बीचमा सम्झौतासमेत सम्पन्न भएको छ । “कुन किसिमका भौतिक संरचना कसरी तयार हुन्छन्, कस्तो उपकरण रहन्छन्, कति जनशक्तिले अस्पतालमा सेवा दिन्छन् लगायतका महत्वपूर्ण कार्यको निर्णय छिट्टै सार्वजनिक हुन्छ”, ट्रष्ट नेपालका अध्यक्ष डा राकेशले भने ।
“क्यान्सर रोगजस्तो अति महङ्गो उपचार सेवा यहाँका जनताले घरआँगनमै सर्वसुलभरुपमा पाउन, स्वास्थ्य सेवा उपलब्ध गराउने पवित्र कार्यमा जग्गाको अभाव नहोस् भनेर हामीले नगरपालिकाको जमीन अस्पताल निर्माण गर्न दियौँ । अब ट्रष्टले छिटोभन्दा छिटो पूर्वाधार खडा गर्न काम शुरु गर्नुपर्छ”, नगरप्रमुख साहले भने । साविकका चार गाउँ विकास समिति मिलेर बनेको यस नगरपालिकाको जनसङ्ख्या करीब ३० हजार छ ।
स्वास्थ्य सेवा पहुँचका दृष्टिले विगतमा ती गाविस जिल्लामा धेरै पछाडि थिए । अहिले आधारभूत स्वास्थ सेवा पाउन यहाँका बासिन्दालाई कठिनाई नै छ । “उपचार गर्न नगरवासी अन्यत्र जान नपर्ने गरी योजना बनाएका छौँ, अस्पताल भवन बनाउन जमीन दिइएके छ । प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरी स्वास्थ्यकर्मी, उपकरण र औषधिको राम्रो प्रबन्ध लागिरहेका छौँ वर्थिङ सेन्टर स्थापना गर्दैछौँ”, उपप्रमुख सीतादेवीले भन्नुभयो । उहाँका अनुसार वर्थिङ सेन्टर बनाउन नगरपालिकाले जमीन उपलब्ध गराउने र समाजसेवी गणेशराज सिंहले भवन तथा उपकरणको व्यवस्था गरिदिनेछन् ।
सहसौला स्वास्थ्य चौकीमा कार्यरत वरिष्ठ स्वास्थ्य कार्यकर्ता (अहेव) धनबहादुर अधिकारीका अनुसार उपप्रमुख सीतादेवी हरेक दिन नगरपालिकाअन्तर्गतका स्वास्थ्य सेवाका अवस्था, समस्या बारेमा जानकारी लिएर अप्ठ्यारो आए समाधान गरिदिनुहुन्छ । “एक वर्षको अवधिमा झाडापखालाका कारण बालबालिकाको मृत्यु भएको छैन”, उहाँले भन्नुभयो । स्थायी घर रुकुम भएका अहेब अधिकारीका अनुसार गर्भवती, बालस्वास्थ्य, मातृस्वास्थ्य तथा पोषणका क्षेत्रमा धेरै सुधारको आवश्यकता छ ।
समाज सेवा पैसाले होइन, मनले गर्ने हो
“समाज सेवा पैसाले होइन, मनले गर्ने हो ।” अस्पताल स्थापना गर्न जुटेका उत्साहित डा विनय र डा राकेशले एकै स्वरमा भने । अस्पताल निर्माण गर्न आफ्नो केही आम्दानी दान दिने घोषणासमेत गरेका दुवै यहाँका स्थानीयवासी हुन् । सेन्टर निर्माण गर्न स्थानीयस्तरमा मुठीदान, सरकारीस्तरमा सहयोग र अन्तर्राष्ट्रिय आह्वान गर्ने योजना भएको उनीहरुले बताए ।
'क्यान्सर रोगले उमेर, धनी र गरीब भन्दैन । जुनसुकै बेला जोकोहीलाई हुन सक्छ । विनयतारा क्यान्सर सेन्टर उत्कृष्ट क्यान्सर उपचार गर्ने सेन्टर बनाउँछौँ । हामीले देखेको सपना यही हो' उनीहरुले भने ।
विनयतारा फाउण्डेशन अमेरिकाका अध्यक्षका रुपमा डा विनयले नेतृत्व गरेका छन् । फाउण्डेशनले नेपालमा पहिलो पटक निजामती अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्न आर्थिक एवं प्राविधिक सहयोग जुटाएको थियो । केन्द्रमा कार्यरत चिकित्सक, नर्सलाई अमेरिकाको इलिनोइस विश्वविद्यालयमा नै तालिमका अवसरसमेत प्रदान गरेको थियो । ट्रष्ट नेपालका अध्यक्ष डा राकेश साह ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा वरिष्ठ क्यान्सर रोग तथा शल्यचिकित्सकका रुपमा समेत कार्यरत छन् । चिकित्सकद्वयले अमेरिकी जनताले क्यान्सर रोगका लागि पाउनेसरहको सेवा सेन्टरलाई पुर्याउने लक्ष्य छ ।
विशेषज्ञ धेरै तर क्यान्सर बढ्दो
तराई–मधेशमा क्यान्सर रोगका कारण कतिले अकालमा ज्यान गुमाउँछन्, आधिकारिक तथ्याङ्क कुनै निकायसित छैन । विशेष गरी सूर्ती, गुट्खा, धूमपान, मदिरापान आदि कारणले हुने विविध प्रकारका क्यान्सर तराई /मधेशमा बढी हुने बताइन्छ । महिलाको पाठेघर, स्तनमा हुने क्यान्सर रोगीको मात्रा यही क्षेत्रमा बढी हुने अनुमान छ । नेपाल चिकित्सक सङ्घका अनुसार नेपालमा रहेका क्यान्सर रोग विशेषज्ञमध्ये करीब ५० प्रतिशत प्रदेश नं २ अन्तर्गतका जिल्लाका छन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।