पाकिस्तानमा इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) सबैभन्दा ठुलो दल भइरहँदा इमरानकी पूर्वपत्नी जेमाइमा गोल्डस्मिथले ट्वीट गरिन्, ‘अपमान, बाधा र बलिदानका २२ बर्षपछि मेरा छोराका पिता पाकिस्तानका प्रधानमन्त्री बन्दैछन्। यो दृढता, भरोसा र हार नमान्नुको एउटा अविश्वसनीय उदाहरण हो। अब चुनौती छ उनी राजनीतिमा किन आए, बधाइ इमरान खान।’
गोल्डस्मिथको मत र मर्ममै अर्का एक पाकिस्तानी युवाले अभिमत दिएका छन्, ‘गोल्डस्मिथ तिमी जस्तै हामी सबैले इमरानलाई बधाइ दिएका छौं। उनले अबको बाटो क्रिकेटमा जस्तै जादूमयी हिसावले हिँडून्। पाकिस्तानको राजनीति बदलिने छ।’
पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको पर्याय हुन् इमरान। उनै इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा अगष्ट १८ मा सपथ लिँदैछन्। अगष्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवस पर्छ। सन् १९४७ को अगष्ट १४ मा पाकिस्तान भारतबाट छुट्टिएर अलग्गै राष्ट्र बनेको थियो। राष्ट्रपतिले त्यस अगावै नयाँ प्रधानमन्त्रीलाई सपथ गराउने कार्यक्रम बनेको थियो। तर गठबन्धनको लागि प्रयाप्त संख्या नपुगेपछि अगष्ट १४ अघि सपथग्रहण हुन नसक्ने इमरानको दलले स्पष्ट पारेको छ।
‘मिलिजुली सरकारको तयारीमा रहेका इमरानले एउटा टिम वर्कमा विश्वास गर्नुपर्ने छ, जसरी उनी क्रिकेट मैदानमा विश्वास गर्थे’ पाकिस्तानका राजनीतिक विश्लेषक इफ्तियार अलीले लेखेका छन्, ‘उनका लागि यो एउटा सपनाको उदय हो, संवेदनशिल भएर पाइला चाल्नुपर्ने छ। पाकिस्तानमा प्रधानमन्त्री हुन सहज छैन।’
गोल्डस्मिथ तिमी जस्तै हामी सबैले इमरानलाई बधाइ दिएका छौं। उनले अबको बाटो क्रिकेटमा जस्तै जादूमयी हिसावले हिँडून्। पाकिस्तानको राजनीति बदलिने छ।
हुन पनि यसपटकको निर्वाचनले अलग शन्देश दिएको छ। अपेक्षा पनि अलग देखिएको छ। पाकिस्तानका परम्परागत राजनीतिक शक्तिका रुपमा रहेका ठूला दल यसपालि पाखा लागे। जसका कारण पाकिस्तानले अबको राजनीतिक यात्रा एउटा नयाँ तर वैकल्पिक शक्तिसँगै तय गर्नुपर्ने छ। अमनिर्वाचनको अर्को संयोग के भएको छ भने पहिलो दल बन्न सफल इमरान खानको पाकिस्तान तेहरिक इन्सान, पिटीआइले पाकिस्तानमा निवर्तमान प्रधानमन्त्री तथा मुस्लिम लिगका नेता नवाज शरिफका विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गराएको थियो। यही मुद्दाबाट शरिफ जेल पुगे भने इमरान खानको दल सबैभन्दा ठूलो भई सत्तारोहणको तयारी गर्दैछ। त्यसैले कतिपयले यसलाई संयोगभन्दा बढी सुनियोजित भनेका छन् । पाकिस्तानी सञ्चार माध्यमहरु पनि यसका पक्ष र विपक्षमा देखिएका छन्। यद्यपी, इमरानले चुनावअघि पाकिस्तानी जनतासमक्ष आफ्ना बाचा र एजेण्डा भने खरो रुपमा राखेका थिए।
चुनाव जितेमा पाकिस्तानमा व्यापक बन्दै गएको भ्रष्टाचारको अन्त्य गर्ने, आतङ्कवादको अन्त्य गर्ने र भारतसँगको सम्बन्ध विस्तार गर्ने एजेण्डा उनले सतहमा ल्याए। त्यसैले इमरानको परीक्षा यीनै बाचाको कसीमा हुनेछ। गणितिय रुपमा हेर्दा, निर्वाचनमा सबैभन्दा ठूलो दलका रुपमा इमरान खानको दल तेहरिक–ए–इन्साफ (पिटीआइ)ले ११५ स्थानमा जित हासिल गरेकोछ। उनको पार्टीेले सरकार बनाउन आवश्यक १३७ सिटको लागि पाकिस्तानका साना र स्वतन्त्र दलसँग गठबन्धनको कोशिस गर्ने निर्णय पनि गरेको छ। प्रमुख तीन दलमध्ये पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टीले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थानमा जित हात पारेका छन्। कूल ३४२ स्थान रहेको पाकिस्तानी संसद्मा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ। बाँकी सदस्य महिला र अल्पसंख्यक समुदायका लागि आरक्षित गरिएका छन्।
‘उनी क्रिकेटर मात्र थिएनन्, उनमा राजनीतिको जुनुन पनि थियो, त्यसैले उनलाई अहिले शुभकामना जरुरी छ’ इमरानको सपथ समारोहमा उपस्थित हुने बताइरहेका भारतीय पूर्वक्रिकेटर नवोजित सिद्धु भन्छन्, ‘उनको क्रिकेट जीवन पनि साँच्चै सानदार थियो।’
भ्रष्टाचारमुक्त पाकिस्तान र बैदेशिक नीतिमा बलियो पाकिस्तान मेरा प्राथमिकता हुन्। सबैको सहयोगको अपेक्षा गरेको छु।
सन् १९५२ को नोभेम्बरमा जन्मेका इमरान पाकिस्तानी क्रिकेटरबाट सन्यास लिएपछि राजनीतिमा आएका हुन्। उनी सन् २०१३ मा नै सांसद बनेका थिए। सन् १०९० दशकको मध्यबाट उनले राजनीतिमा पाइला चाले। उनको खेल जीवन थियो, सन् १९७१ देखि १९९२ सम्म। उनी १९८२ देखि १९९२ सम्म पाकिस्तानी क्रिकेट टिमको कप्तान थिए। इमरानले ३९ वर्षको उमेरमा पाकिस्तानलाई विश्वकपमा विजयी गराए। तीन हजार ८०७ रन र ३६२ विकेटको रेकर्ड दर्ज गराएका इमरानले सन् १९९६ ‘पाकिस्तान तेहरिक¬–ए–इन्साफ (न्यायको लागि आन्दोलन) नामको राजनीतिक पार्टीको स्थापना गरेर यसको अध्यक्ष बनेका थिए।
‘मैले चुनावअघि जे बाचा गरेको थिएँ, पुरा गर्ने सतप्रतिशत प्रयास गर्नेछु। बाचा नै मेरा मन्त्र हुन्’ इमरानले भनेका छन्, ‘ भ्रष्टाचारमुक्त पाकिस्तान र बैदेशिक नीतिमा बलियो पाकिस्तान मेरा प्राथमिकता हुन्। सबैको सहयोगको अपेक्षा गरेको छु।’
(विभिन्न एजेन्सीको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।