रियाद- साउदी अरब नेतृत्वको गठबन्धनले यमनमा बसमा बिहीबार गरिएको आक्रमणको छानबिन गर्ने जनाएको छ।
हवाई आक्रमणमा परी बसमा रहेका कम्तीमा २९ बालबालिकाको मृत्यु भएको घटनाको सर्वत्र विरोध भएपछि गठबन्धनले छानबिन गर्ने प्रतिबद्धता जनाएको हो। गठबन्धनको नेतृत्वले घटनाका बारेमा छानबिन गर्न निर्देशन दिएको एक उच्च अधिकारीले बताए।
यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धनलाई आक्रमणमा दोषी रहेको आरोप हुथी विद्रोहीले लगाएको थियो।
यमनी विद्रोहीको नियन्त्रणमा रहेको ठाउँमा भएको घटनाको राष्ट्रसंघ, अन्तर्राष्ट्रिय रेडक्रस लगायतका अधिकारवादी संघसंस्थाहरुले निन्दा गरेका थिए।
गत हप्ता बिहीबार नै भएको एक आक्रमणमा ५५ सर्वसाधारणको मृत्यु भएको थियो भने १७० जना घाइते भएका थिए।
यमनमा सन् २०१५ देखि सुरु भएको युद्धका कारण अहिलेसम्म १० हजारभन्दा बढी मानिसको मृत्यु भएको राष्ट्रसङ्घको तथ्यांकमा उल्लेख छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।