काठमाडौं- प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका प्रभु साहले आफ्नो नेतृत्वमा आम जनता पार्टी निर्माण गरेका छन्।
आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसात गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन ‘स्वतन्त्र उम्मेदवार जिताउ अभियान’लाई आम जनता पार्टीमा रुपान्तरण गरी प्रभु साहको अध्यक्षता विस्तारित बैठक बसेको विज्ञप्तिमा जानकारी गराइएको छ।
बैठकले पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न आम जनता पार्टीको अन्तरिम विधान २०७९ लाई पारित गरिएको छ। त्यस्तै, प्रभु साहकै नेतृत्वमा ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन गरिएको छ। प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकिएको छ।
प्रदेश १ को अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्ज रामप्रित राम छन्। त्यसैगरी मधेस प्रदेशमा क्रमशः श्रीचन मुखिया र उपेन्द्र साह, बागमती प्रदेशमा नाम्गेल मोक्तान र बद्रीप्रसाद न्यौपाने, गण्डकी प्रदेशमा राजन यादव मनोज र बद्रीप्रसाद न्यौपाने, लुम्बिनी प्रदेशमा परमानन्द वर्मा र रितादेवी यादव, कर्णालीमा सियाराम कुशवाह र उपेन्द्र साह तथा सुदूरपश्चिम प्रदेशमा केशव राय चौधरी र कुन्दन कुशवाह छन्।
विभिन्न जनवर्गीय संगठनहरुमा पनि अध्यक्ष र इन्चार्ज तोकिएका छन्। अग्रगामी शक्तिहरुसँग सहकार्य र एकताका लागि तीन सदस्यहरू रहेको वार्ता समिति गठन गरिएको छ। जसमा उपेन्द्र साह, रामप्रित राम र इश्लाम हवारी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।