काठमाडौं– शुक्रबारदेखि मण्डला थिएटरमा ‘खुवालुङ’ नाटकको मञ्चन सुरु भएको छ। किरण चाम्लिङ राईको निर्देशनमा बनेको नाटकको मञ्चन शुक्रबारबाट साउन अन्तिमसम्मलाई सुरु भएको हो।
नाटक निर्माण पक्षकाअनुसार विभिन्न जाती, भाषा र संस्कारमा बाँचेर रहेको खुवालुङको कथालाई नाटकमा देखाउने प्रयास गरिएको छ।
हालको दूधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीको जलाशयमा अवस्थित विशाल ढुङ्गालाई मुन्दुमि मान्यता र विश्वासमा खुवालुङको रुपमा मान्ने गरिएको छ।
खुवालुङलाई साक्षी राखेर त्रिवेणीमा मिसिएका नदिहरुको मुल मुहान पछ्याउँदै जाने क्रममा विकास मानव सभ्यताको कथा नै खुवालुङको कथा भएको नाटकको निर्माण पक्षले जनाएको छ।
नाटकका लेखक राजन मुकारुङाअनुसार सांस्कृतिक आन्दोलनको निरन्तरताका लागि नाटक कलाकामार्फत् भन्नु, कहनुपर्छ भन्ने जिम्मेवारी महशुस गरिएर यो नाटक लेखिएको हो।
उनले भनेका छन्, ‘खुवालुङका बारे मुन्दुमि, तायामि अग्रज (नाक्छोङ, बिजुवा, पुर्खा)हरुबाट आफूले सुनेका र कतिपय प्राप्त संकलित, प्रकाशित कथा, कहानीहरुका आधारमा ‘साझा मान्यता’लाई मात्रै नाटकमा लेखिएको छ। मिथकमाथि सिर्जनात्मकता थप्ने प्रयास गरिएको छ।’
त्यस्तै, नाटकका निर्देशक किरण चाम्लिङ राईका अनुसार खुवालुङ एउटा ढुंगा मात्रै नभएर यसका प्राकृतिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक महत्वहरु भएकाले त्यसलाई नाटकमा उतार्ने जमर्को गरिएको छ।
नाटकमा पशुपति राई, मानहाङ लावती, इंगि होपो कोइच सुनुवार, समयोग गुरागाईं, सविना थापा, प्रसम्शा सिवाकोटी, बेदना राई, रियर राई, रमिला मोक्तानलगायतका कलाकारको अभिनय छ।
नाटकमा प्रयोग भएका दुई गीतहरुको रचना स्वप्निल स्मृति र राजन मुकारुङले गरेका छन्। शुक्रबारबाट मञ्चन भएको नाटक साउन २९ गतेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।