भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बेलहियावासी आफ्नो पहिचान बचाउन जुटेका छन्। सार्वजनिक यातायातमा बेलहियाको ठाँउमा सुनौली लेखिएको भन्दै त्यसलाई हटाउने अभियान समेत सुरु भएको छ।
सार्वजनिक यातायातमा बेलहिया लेखिनुपर्ने ठाँउमा सुनौली लखिएका कारण बेलहिया ओझेलमा परेको भन्दै सुनौली लेखिएका स्टिकर हटाएर बेलहिया टाँसिएको गृहलक्ष्मी समूहकी अध्यक्ष देवी न्यौपानेले जानकारी दिइन्। बेलहियाबाट चल्ने सवारी साधन (माइक्रो बस तथा ठूला बस) का अगाडि लेखिएको सुनौली शब्द हटाएर बेलहिया लेख्न १५ दिनअघि देखि नै यातायात व्यवसायी तथा सम्बन्धित सरोकारवाला निकायलाई लिखित रुपमै भने पनि अटेर गरेपछि बाध्य भएर सडकमा ओर्लिएर स्टिकर टाँस्नुपरेको उनको भनाइ छ।
गृहलक्ष्मी समूहले गरेको अभियानलाई त्यहाको वडा कार्यालय तथा अन्य संघ सस्थाले पनि साथ दिएका छन्।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका वडा अध्यक्ष रमेश मल्लले बेलहियाको पहिचान जोगाउने काममा वडा कार्यालयले पूर्ण सहयोग गर्ने बताए। उनले सुनौली नेपाली भूमिमा नभई भारतीय भूमिमा पर्ने भएकाले नेपालीहरुले बेलहियालाई प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ।
बसहरुमा लेखिएको सुनौलीले भारतको प्रचारप्रसार गरेको र सीमावर्ती क्षेत्र बेलहियालाई आम नेपालीले समेत भुल्दै गएकाले बेलहियाको पहिचानका लागि जुटेको लुम्बिनी खुकरी क्लबका अध्यक्ष सुमन शर्माले बताए।
भैरहवामा केन्द्रीय कार्यालय रहेको सिद्धार्थ यातायात प्रालिले भने आफ्नो सेवा प्रारम्भदेखि नै बेलहिया लेखेर बस सेवा सञ्चालन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।