काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले वर्तमान सरकार समृद्धि र रुपान्तरणको दिशामा सजगताका साथ अगाडि बढिरहेको बताएका छन्।
'विगतमा प्रश्रव वेदनाको अवस्थामा हामी थियौं, त्यसबेला विद्रोहको स्वर स्वाभाविक हुन्थ्यो, अब बच्चाको लालनपालन गर्ने समय आएको छ। यसबेला विद्रोहको कुरा गर्नु नाटकसरह हुन्छ', प्रधानमन्त्री ओलीले भने, 'नेपाल सुतिरहेको छैन, जागेको छ र अगाडि बढ्न चाहिरहेको छ। हामी विकास भन्नाले एउटै कुरामा मात्र बुझ्दैनौं, साहित्य, संस्कृति र कलाको विकास पनि विकास हो।'
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औं भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मिलनको समापनका अवसरमा आइतबार चन्द्रागिरिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली र नेपालीभाषीको भाव तथा संस्कारलाई संरक्षण गर्न स्वदेशी र विदेशी सहभागीलाई आह्वान गरे।
साहित्यको महत्व दर्शाउँदै उनले भने, 'कविता नसुन्ने त भैंसी हुन्छ। गीत गाउनुस् भैंसीले मतलब गर्दैन, उघ्राएर बस्छ। मैले चन्द्रागिरि आएर समय खेर फालेको छैन। निःशुल्करुपमा कविता र विचार सुनेर राति पनि बत्ती बल्ने सोलार प्यानल प्राप्त गरेको छु। म चार्ज भएको छु।'
प्रधानमन्त्रीले यस्ता सम्मिलन हिमाली खण्डका अन्य देशमा पनि आगामी दिनमा हुन सकोस् भनी कामना समेत गरे।
प्रधानमन्त्रीले चन्द्रागिरीमा कविता समेत लेखेका थिए।
प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले सम्मिलनबाट पारित १५बुँदे घोषणापत्र कार्यान्वयनका लागि सहभागी स्वदेशी र विदेशी स्रष्टाहरुलाई आग्रह गरे। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।