काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एक–दुई जना सांसद उभिँदैमा संसदको नियमित कारबाही अवरुद्ध नहुने टिप्पणी गरेका छन्।
डा गोविन्द केसीको जीवनरक्षा माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभा अवरुद्ध गरेको सन्दर्भमा चिकित्सा शिक्षा विधेयक पुरानो अध्यादेश अनुसार सदनमा नआए अवरुद्ध हुनेतर्फ संकेत गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
संसद् नियमावलीमा भने कुनै पनि सांसद आफ्नो ठाउँबाट उठेर नबसेमा संसद् अवरुद्ध भएको मानिने लेखिएको छ।
‘एउटा निहुँ झिकेर दुई जना सांसद ठिंग उभिँदैमा संसदका सबै गतिविधि अवरुद्ध हुने हुनुहुँदैन’ नेकपाको ३ नम्बर प्रदेशका सांसदहरुसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्रीले भने, ‘कांग्रेसले झिनामसिना कुरा झिकेर दुई जना सांसद ठिंग उभिने अनि संसदको कारबाही अवरुद्ध हुने भइरहेको छ, अब यस्तो हुँदैन।’
दुई–चार जना मान्छेले गलत नियतले उभिँदा समेत संसद् रोकिने भएकाले यस्तो कुरा सरकारलाई मान्य नहुने प्रधानमन्त्रीले टिप्पणी गरे।
‘देश विकासका कुरा, जनताको चासोका कुरामा बहस गर्ने थलोलाई केही मान्छेको स्वार्थ पूरा गर्न प्रयोग गर्न पाइँदैन’, उनले भने, ‘सरकार दुई तिहाइ बहुमतमा छ, हाम्रा माननीय सांसदहरुले विकासका कुरा संसदमा जोडदार उठाउनुपर्छ।’
आफ्ना अडानमा बसेर कुरा राख्न पनि प्रधानमन्त्री ओलीले सांसदहरुलाई निर्देशन दिए।
सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्रीले साउनभित्रै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिने बताए।
प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार रोक्न प्रतिबद्ध रहेको भन्दै सरकार असफल हुने हो कि भनेर आशंका गर्नु नपर्ने पनि बताए। निर्वाचनमा जनताले देखाएको भरोसालाई कायम राख्ने लक्ष्यसहित सरकारले काम गरिरहेका उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।