अङ्कारा- टर्की सरकारले १८ हजार ६ सय ३२ कर्मचारीलाई बर्खास्त गरेको छ। सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्।
यसरी बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरु समेत छन्।
सरकारले आइतबार आकस्मिक रुपमा एक निर्देशिका जारी गरेर बर्खास्त गरिएकामा ९ हजार जना प्रहरी मात्र रहेको बताइएको छ।
बर्खास्तमा पर्नेमा प्रहरीका अधिकृति स्तरका कर्मचारी धेरै छन्। आतंककारी समूह या संगठनहरुसँग ती कर्मचारीको सम्बन्ध रहेको पाइएको भन्दै बर्खास्त गरिएको जनाइएको छ।
बर्खास्तीमा पर्नेमा ३ हजार ७५ जना सैनिक अधिकारी छन्। ती सैनिकमा १ हजार ९ सय ४९ हवाई सैनिक र १ हजार १ सय २६ जलसैनिक रहेको सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
यसरी बर्खास्त गरिएकामा १ हजार ५२ जना निजामति कर्मचारी अधिकृत छन्। विश्वविद्यालय र विद्यालयका २ सय जना प्राध्यापक र शिक्षक पनि सरकारी आदेश अनुसार बर्खास्त हुनेमा परेका छन्।
सन् २०१६ को जुलाईमा टर्कीका राष्ट्रपति रिसेप तैयव एर्दाेगानका विरुद्ध यहाँ सैनिक विद्रोहको असफल प्रयास भएको थियो।
त्यसपछि भने राष्ट्रपति एर्दाेगानले आफ्ना विरोधी मानिएका सेना, प्रहरी, गैरसैनिक कर्मचारी तथा विश्वविद्यालयका प्राध्यापकहरुलाई जेल हाल्ने, सेवाबाट बर्खास्त गर्ने तथा अरु विविध खालका कारबाही गर्न थालेका थिए।
त्यसपछि हालसम्म २ वर्ष टर्कीमा संकटकालीन अवस्थाको घोषणा गरिएको छ। यो अवस्थाको कम्तिमा पनि सात पटकसम्म अनुमोदन गरिएको छ।
अहिले पनि टर्कीमा संकटकालीन अवस्था छ। यहाँ जारी सङ्कटकालीन अवस्थाको यही जुलाई १९ मा अन्त्य हुने तालिका छ।
तर, त्यस अगावै यहाँको संकटकालीन अवस्थाको फाइला उठाउँदै सरकारले यति ठूलो संख्यामा कर्मचारीलाई कारबाही र बर्खास्त गरेको समाचार आएको छ।
राष्ट्रपति एर्दाेगानले आफ्ना सबै विरोधीलाई सक्ने अभियान नै चलाएको भन्दै उनको कदमको विरोध हुँदै आएको छ। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।