काठमाडौं– गायक सुमित खड्काको एल्बम ‘नेपाली मन’ सार्वजनिक भएको छ। कृष्णबहादुर थापा क्षेत्रीको गीत र शक्ति बल्लभको संगीतमा खड्काले गीत लिएर आएका हुन्।
गायक प्रेमध्वज प्रधान, कवि तथा गीतकार रत्नशमशेर थापा, किरण खरेल, दिनेश अधिकारी, गजलकार डा भोजराज पोखरेल, गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटा, साहित्यकार गंगा सुवेदी, सभासद खेम नेपाली लगायतले संयुक्त रुपमा एल्वम सार्वजनिक गरे।
गीतकार कृष्णबहादुर थापा क्षेत्रीले गीति लेखनसँगै प्रवासमा रहँदाका आफ्ना अनुभूतिहरु प्रस्तुत गरेका थिए। उनले देशप्रेम बोलीमा मात्र होइन मनभित्रैबाट व्यवहारमा लागू गर्नुपर्छ भन्दै आफ्नो पछिल्लो कृति ‘नेपाली मन’ सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्न सफल हुने दाबी गरे।
गायक सुमित खड्काले सबैभन्दा प्यारो, नेपाली मन, गाउँछिन् गीत, जन्मे हुर्कें जस्ता गीत प्रस्तुत गरेका थिए।
आफ्नो जीवनकालमा सय बढी राष्ट्रिय भावको गीतहरुमा स्वर दिइसकेका गायक खड्काको राष्ट्रियभाव समेटिएको यो छैटौं एल्बम हो। उनले यससँगै ५ सयभन्दा बढी आधुनिक गीत, दुई दर्जभन्दा बढी नेपाली फिल्ममा पार्श्व गायन गरिसकेका छन्। एल्बमभित्र ५ वटा गीत समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।