जाजरकोट- यहाँको कुशे गाउँपालिका–६ भार्मस्थित दुर्गादेवी आधारभूत विद्यालयमा पढ्ने विद्यार्थी धुलोमा बसेर पढ्न बाध्य छन्।
उनीहरू फर्निचर अभावमा भुइँमा बसेर पढाइ गर्न बाध्य भएका हुन्। विद्यालय रहेको स्थान कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र पनि हो। गाउँपालिकाको केन्द्र कायम भएपछि भार्म गाउँको परिचय बदलियो, तर विद्यालयजस्तो शिक्षण संस्थाको अवस्था परिवर्तन हुन सकेन।
कार्यालय भवन, मोटरबाटो, खानेपानी, विद्युत लगायत पूर्वाधार विकासको हिसाबले गाउँपालिका सदरमुकाम भार्मको परिचय बदल्न खोजिए पनि विद्यालयमा आधारभूत पूर्वाधार विकासमा बेवास्ता भएको स्थानीय वीरबहादुर विष्टले बताए।
४३ वर्षअघि स्थापना भएको विद्यालयको कक्षाकोठामा एउटा पनि फर्निचर छैन। कक्षाकोठा सफा छैनन्। 'नवआगन्तुकलाई विद्यालय भैंसी गोठ हो कि कक्षाकोठा हो भनेर छुट्याउन गाह्रो पर्छ,' विष्टले भने। विद्यालय बत्तीमुनिको अँध्यारो बन्न पुगेको उनको भनाइ छ।
बाल विकास केन्द्रदेखि ८ कक्षासम्मको पढाइ हुने विद्यालयमा भौतिक पूर्वाधारको अवस्था नाजुक रहेको प्रधानाध्यापक सुनरलाल चौधरीले बताए। फर्निचरको व्यवस्थाका लागि शिक्षा समन्वय एकाइ लगायत निकायलाई पटक–पटक सहयोग मागे पनि बेवास्ता भएको प्रधानाध्यापक चौधरीको भनाइ छ।
विद्यालयमा इलेक्ट्रोनिक हाजिरी तथा ३ सय वाट क्षमताको सोलार सेटका साथै कम्प्युटरको व्यवस्था छ। तर, कम्प्युटर उपयोगविहीन छ। सोलार भने विद्यालयका शिक्षक र स्थानीय अभिभावकलाई मोबाइल चार्ज गर्ने काममा मात्र सीमित छ।
गाउँपालिकाले चालू आर्थिक वर्षको बजेटबाट विद्यालयमा इलेक्ट्रोनिक हाजिरी, कम्प्युटर र सोलारको व्यवस्था गरेको हो। विद्यालयमा २० जना बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकासहित १६९ विद्यार्थी छन्। कक्षाकोठामा बस्ने बेन्च तथा कार्पेटको व्यवस्था नहुँदा भुइँमा बसेर पढ्न बाध्य भएको विद्यार्थी हरि विष्टले बताए।
भुइँमा बस्दा चिसो लाग्ने, धुलोले कपडा छिट्टै फोहर हुनेलगायत समस्याले सताउने गरेको उनको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।