काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को पहिलो स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
स्थायी समितिको बैठक अगाडि सचिवालय बैठक बसेको थियो। ४३ सदस्यीय स्थायी समितिको बैठकमा दलको विधान मस्यौदा प्रतिवेदन, भ्रातृ संगठन एकीकरण प्रक्रिया लगायतका विषयमा छलफल हुने नेकपाका नेताहरुले बताएका छन्।
बैठकमा पार्टी एकतापछिको पछिल्लो प्रगतिबारे महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने नेकपा कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार दुई अध्यक्षले समसामयिक राजनीतिकबारे स्थायी समितिमा आफ्ना विचार राख्नेछन्।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका विषयमा पनि छलफल हुने उद्योग तथा आपूर्ति मन्त्री मात्रिका यादवले जानकारी दिए।
पहिलो बैठकपछि स्थायी समिति सदस्यहरुलाई बालुवाटरमै भोजको समेत व्यवस्था गरिएको स्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।