एजेन्सी- जून १२ मा हुने शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम र उत्तर कोरियाका नेता किम जोङ-उन सिंगापुर पुगिसकेका छन्।
बहुप्रतीक्षित यो भेटवार्ताका लागि नेता किम सिंगापुर पुगेको केही समयपछि ट्रम्प एयर फोर्स वानको एक विशेष विमानबाट गएका हुन्। सिंगापुरको सेन्टोसा द्वीपमा रहेको एक होटलमा मंगलबार उनीहरुबीच पहिलो भेट हुनेछ।
ट्रम्पले यो भेटवार्तालाई शान्तिका लागि एउटा अर्को अवसर भनेका छन्। उनले दुवै नेता अहिले अञ्जान क्षेत्रमा रहेको पनि बताएका छन्। लामो समयदेखि विवादित आणविक कार्यक्रम बन्द गर्न उत्तर कोरिया सकारात्मक भएसँगै एक-अर्काका 'कट्टर दुश्मन' देशका नेताबीच यो भेट हुन लागेको छ। यसैले पूरै विश्व समुदायको ध्यान अहिले सिंगापुरतिर एकोहोरिएको छ।
सिंगापुरको 'मेजमानी'
दुई नेताबीचको शिखर वार्ताका लागि सिंगापुरले विशेष तयारी गरेको छ। सिंगापुरका प्रधानमन्त्री लि सिएन लुङले यस भेटवार्ताका लागि आफ्नो देशले करिब २० मिलियन सिंगापुर डलर खर्च गर्ने बताएका छन्।
उनका अनुसार, यो रकमको आधा हिस्सा सुरक्षा व्यवस्थाका लागि खर्च हुनेछ। एक अन्तर्राष्ट्रिय पहलको हिसाबले यो रकम खर्चन लागेको र यो सिंगापुरको हितमा पनि रहेको प्रधानमन्त्री लुङले उल्लेख गरेका छन्।
शिखर वार्ताका लागि सिंगापुर नै किन?
ट्रम्प-किम शिखर वार्ताको लागि सिंगापुर नै किन उपयुक्त विकल्प थियो त? सिंगापुरका प्रधानमन्त्री लुङका अनुसार, सिंगापुर अमेरिका र उत्तर कोरिया दुवै देशका लागि राजनीतिक रुपबाट स्वीकार्य छ, किनकि दुवै पक्षसँग उसको मित्रवत् सम्बन्ध छ।
शिखर वार्ताको खर्चको प्रसंगमा उत्तर कोरियाले आफूमाथि लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण वार्ताका लागि खर्च जुटाउन नसकेको भन्ने जस्ता खबर पनि आएका थिए।
यस विषयमा सिंगापुरले आफ्नो देश शिखर वार्ताको खर्चको भार लिन आफैं इच्छुक रहेको र ऐतिहासिक भेटवार्तामा यो खर्च आफ्नो तर्फबाट सानो भूमिका मात्र रहने प्रस्ट्याएको छ।
वार्ता सफल भएमा सिंगापुरलाई इतिहासले सम्झिने : किम
सिंगापुर पुगेर प्रधानमन्त्री लुङलाई भेटेपछि उत्तर कोरियाली नेता किमले शिखर वार्तामा कुनै महत्त्वपूर्ण सम्झौता भएमा त्यसका लागि सिंगापुरलाई इतिहासमा याद गरिने बताएका छन्।
उता, अमेरिका यस भेटवार्तामा नेता किमबाट आणविक हतियार पूर्णरुपले त्याग्ने प्रतिबद्धता आउने अपेक्षा गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।