किभ- युरोपियन च्याम्पियन्स लिगका दौरान इंग्लिस क्लब लिभरपुलका इजिप्सियन फरवार्ड मोहमद सलाह घाइते भएका छन्। उनलाई गम्भिर चोट लागेको लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले बताएका छन्। जसका कारण विश्वकपमा सलाह फिट हुनेमा शंका उत्पन्न भएको छ। यद्पयी इजिप्टले भने आफ्ना फरवार्ड सलाह फिट हुने विश्वास व्यक्त गरेको छ।
रियलका कप्तान सर्जियो रामोसले २६ मिनेटमा लडाएका कारण सलाह घाइते भएका थिए। खुट्टामा चोट लागेका कारण उनी मैदान छाड्न बाध्य भएका थिए। एडम लालना उनको स्थानमा मैदान प्रवेश गर्ने क्रममा सलाह भक्कानिएका थिए। सिजनमा उत्कृष्ट प्रदर्शन गरेका सलाहले लिभरपुलका लागि ४४ गोल गरेका छन्। २५ वर्षीय सलाह गत जुनमा इटालियन क्लब रोमाबाट ३४ मिलियन पाउन्डमा लिभरपुलमा आवद्ध भएका थिए।
उनी घाइते भएपछि विश्वकपको समूह 'ए' मा रहेको इजिप्ट संकटमा परेको छ। उनी अब दुई साता भित्र फिट हुन नसके विश्वकप गुमाउनेछन्। इजिप्ट फुटबल संघले सलाह विश्वकपका लागि उपलब्ध हुने आसा व्यक्त गरेको छ। इजिप्ट रहेको समूहमा आयोजक रसिया, साउदी अरेबिया र उरुग्वे छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।