सुर्खेत- रुस्लान कर्णाली प्रिमियर लिग (केपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। आज भएको फाइनलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही–११ लाई ३७ रनले पराजित गर्दै आर्मीले केपीएलको पहिलो सिजनको उपाधि जितेको हो।
उपाधिसँगै आर्मीले तीन लाख रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको रुपन्देहीले नगद एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ।
टस जितेर रुपन्देहीले पहिलो फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आर्मीको सुरुवात राम्रो रहन सकेन। उसले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३२ रनको मध्यमस्कोर मात्र बनाउन सक्यो। आर्मीका लागि ओपनर सागर पुनले ३८, कप्तान विनोद भण्डारीले २८ र राजेश पुलामीले २२ रनको योगदान दिए।
बलिङतर्फ रुपन्देहीका विकास श्रेष्ठले ३ तथा बसिर अहमद, विक्रम भुषाल र सन्दिप सुनारले एक विकेट लिए।
एक सय ३३ रनको लक्ष्य पछ्याउँदै ब्याटिंग गरेको रुपन्देहीले १७.५ ओभरमा अलआउट हुँदै ९५ रन मात्र बनाउन सक्यो। उसका लागि निश्चल चौधरीले २६, सन्दिप सुनारले २४, कप्तान शक्ति गौचनले १७ र सौरभ खनालले १६ रन जोडे। बलिङतर्फ आर्मीका विक्रम शोवले ३, सुशन भारी र हरीकृष्ण झाले समान २÷२ तथा जितेन्द्र मुखिया र चन्द्र सावदले एक÷एक विकेट लिए । खेलको म्यान अफ दि म्याच आर्मीको विक्रम शोव भए ।
प्रतियोगिताकाो म्यान अफ दि सिरिज रुपन्देहीका अलराउण्डर सन्दिप सुनार भए । उनले नगद २५ हजारसहित ट्रफी प्राप्त गरे । उत्कृष्ट ब्याट्सम्यान आर्मीका सागर पुन भए उनले प्रतियोगितामा एक सत समेत प्रहार गरेका थिए । पुनले नगद दस हजारसहित ट्रफी प्राप्त गरे । त्यसैगरी उत्कृष्ट बलर बनेका रुपन्देहीका कृष्ण कार्कीले पनि नगद दस हजारसहित ट्रफी प्राप्त गरे ।
बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको कर्णाली प्रिमियर लिगको पहिलो सिजन जेठ ३ गतेदेखि सुरु भएको थियो । जसमा विभिन्न १० वटा टिमको सहभागिता रहेको थियो । यो प्रतियोगिता कर्णालीमा आयोजना गरिएको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । हरेक वर्ष केपिएल आयोजना हुने प्रतियोगिताको संयोजक रेशम शाहीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।