काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि नेपालले एकदिवसीय खेलमा डेब्यू गर्ने भएको छ। नेदरल्यान्ड्सविरुद्ध आगामी साउन तेस्रो साता २ वटा खेलको सिरिज खेल्दै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्ने भएको हो।
नेपालले आगामी साउन १६ र १८ गते नेदरल्यान्ड्ससँग खेल्नेछ। खेल नेदरल्यान्ड्समा हुनेछ।
नेपालले गत चैत १ मा एकदिवसीय मान्यता पाएको थियो। गत चैतमा जिम्बावेमा भएको एकदिवसीय विश्वकपअन्तर्गत प्लेअफको खेलमा पपुवा न्यूगिनीलाई हराएर एकदिवसीय मान्यता पाएको थियो। नेदरल्यान्डसले भने डब्लुसिएल च्याम्पियनसिपको उपाधि जितेर एकदिवसीय मान्यता पाएको थियो।
नेपाल र नेदरल्यान्डसबीच पछिल्लो पटक विश्वकप छनोटको सातौं स्थानको प्लेअफ खेलमा प्रतिस्पर्धा भएको थियो। खेलमा नेदरल्यान्ड्सले नेपाललाई ४५ रनले हराएको थियो।
नेपालले सन् २०१६ पछि नेदरल्यान्ड्स भ्रमण गर्न लागेको हो। डब्लुसिएल च्याम्पियनसिपअन्तर्गत भएको २ खेलमा दुवै टिमले समान १–१ खेलमा जित हात पारेका थिए।
नेपाल र नेदरल्यान्ड्सबीच सिरिज हुने नेदरल्यान्डका प्रशिक्षक रायन चापबेलले पुष्टि गरेका छन्। क्रिकेट सम्बन्धि वेभ पोर्टल क्रिक बजले चापबेलको भनाई उद्धृत गर्दै नेपाल र नेदरल्यान्डबीचको एकदिवसीय सिरिज हुने जनाएको छ। रायनले भनेका छन्, 'नेपाललाई पहिलो एकदिवसीय खेल्न स्वागत गर्ने पाउने खबरले खुसी बनाएको छ। हामीले पनि सन् २०१३ पछि पहिलो पटक घरेलु मैदानमा एकदिवसीय सिरिज खेल्दैछौं। लर्डमा खेलेपछि समर्थकलाई अर्को खुसी दिन चाहान्छौं। नेपाल उत्कृष्ट टिम हो। सन्दीप लामिछानले भर्खर आइपिएल खेल्दै आफुलाई विश्वस्तरिय खेलाडी भएको पुष्टि पनि गरेका छन्। त्यसैले नेपालसँग घरेलु मैदानमा खेल्न पाउनु हाम्रो लागि सौभाग्य हो। यस्तै नेदरल्यान्ड्समा नेपालले धेरै दर्शक पनि तान्ने गरेको छ। एक उत्कृष्ट सिरिज हुनेमा विश्वस्त छु।'
आइसिसीले पनि नेपाल र नेदरल्यान्ड्सबीचको एकदिवसीय सिरिजलाई आफ्नो क्यालेन्डरमा समावेश गरेको छ।
यता नेपालका प्रशिक्षक जगत टमाटाले सिरिजबारे अहिलेसम्म आधिकारिक खबर नपाएको बताए। 'मैले पनि सामाचार पढेको हुँ। तर आधिकारिक रुपमा हामीलाई खबर छैन। छिट्टै यस विषयमा स्पष्ट हुनेमा ढुक्क छु, ' टमाटाले नेपाल लाइभलाई भने।
एकदिवसीय खेलमा डेब्यू गर्नु ३ दिन अघि नेपालले इंल्याण्डको लर्डस् क्रिकेट मैदानमा त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछ। मेरिलबोन क्रिकेट क्लब (एमसीसी), नेपाल र नेदरल्याण्ड्सबीचमा टी-२० सिरिज हुन लागेको हो। तीन टिमले एक अर्कासँग प्रतिस्पर्धा गर्नछन्। शीर्ष दुई टोलीले उपाधिकात त्यहि लागि प्रतिस्पर्धा गर्नेछन्। पहिलो खेल बिहान र फाइनल खेल साँझ हुनेछ।
यसअघि २०१६ जुलाई १९ मा लर्डसमा नेपालले एमसिसी विरुद्ध पहिलो पटक खेल्ने मौका पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।