काठमाडौं– नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अवहेलना गरेको आरोप लगाएको छ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले सभामुख, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरुलाई सम्बोधन गर्दा अनादर गरेको भन्दै कांग्रेसले आलोचना गरेको हो। सरकारको नीति तथा कार्यक्रममाथि समीक्षा गर्न संसदीय दलको कार्यालय सिंहदबारमा बसेको बैठकमा राष्ट्रपतिले आफूलाई सार्वभौम संसदभन्दा माथि राखेर प्रस्तुत गरेको कांग्रेसको आरोप छ।
बैठकमा अधिकांश सांसदहरुले संसदमा सम्बोधनका क्रममा 'महोदय'सम्म उच्चारण नगरी राष्ट्रपतिले अपमान गरेकाले संशोधन दर्ता गराउने माग उठेको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए। नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले ‘प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संघीय संसदका सदस्यहरु’ मात्र सम्बोधन गरेकी थिइन्।
विगतमा पनि संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रप्रमुखले सम्बोधन गरेको तर यस्तो अपमान नगरेकाले सच्याउन दबाव दिने निर्णय भएको खाँणले बताए।
सभामुख र अध्यक्षको उच्च आदारार्थी शब्द ‘सम्माननीय’ र सांसदहरुका लागि प्रयोग हुने ‘माननीय’ शब्दको उच्चारण समेत राष्ट्रपतिले नगरेकोमा कांग्रेसले आपत्ति जनाउँदै प्रतिनिधिसभा र राष्ट्रियसभामा जोडदार रुपमा यो विषय उठाउने निर्णय गरेको उनले बताए। उक्त विषयमा कांग्रेसले संशोधन दर्ता गराउने र संघीय स्वरुपमा देश गए पनि नीति तथा कार्यक्रम त्यस अनुसार नआएको भन्दै विरोध जनाउने निर्णय गरेको प्रमुख खाँणले जानकारी दिए।
‘राष्ट्रपतिले संसदकै अपमान गरेको हाम्रो ठहर छ’, बैठकमा भएको छलफलबारे जानकारी दिँदै उनले भने, 'राष्ट्रपति भण्डारी श्रीपेचबिनाको राजा बन्नुभयो, यसलाई सच्याउनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।