काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभाले विधान संशोधन गर्न लागेको भन्दै स्वागत गरेको छ।
आइसिसीकी मिडिया अधिकृत म्यारी गडबियरले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै क्यानको बैसाख ६ र ७ गते बस्ने विशेष साधारणसभाले सल्लाहकार समूहले सिफारिस गरेको विधान पारित गर्ने आइसिसीको विश्वास रहेको उल्लेख गरेकी छन्।
आइसिसीले भनेअनुसार विधान पारित भएमा क्यानमाथि लागेको निलम्बन फुकुवा गर्ने पनि आइसिसीले संकेत दिएको छ। आइसिसीका अनुसार, विधान संशोधन भई केन्द्रीय समितिको निर्वाचन भएमा आगामी जुलाईमा बस्ने साधारणसभाको बैठकमा नेपालमाथि लागेको निलम्बन फुकुवा प्रस्ताव पेस हुनेछ।
'आइसिसीले नयाँ विधान लागू गर्ने स्पष्ट छ। यसअघि भएका सहमति अनुसार विधान पारित भए नेपालको सदस्यता फेरि दिने विषयमा छलफल हुन्छ', आइसिसीका उपाध्यक्ष इमरान ख्वाजले भने, 'क्यानको साधरणसभा लगत्तै आइसिसीको बोर्ड बैठक बस्नेछ। बैठकमा नेपालबारे पनि एजेन्डा प्रस्तुत हुनेछ। हाम्रो अपेक्षा यसअघि भनेअनुसार विधान पारित होस् भन्ने हो। त्यसपछि जुलाईमा हुने साधारणसभाले नेपालको निलम्बन फुकुवा गर्न सक्नेछ।'
यता निर्वाचित क्यानले मंगलबार पत्रकार सम्मेलन गर्दै बैसाख ६ र ७ गते हुने साधारणसभामा विधान संशोधन गर्न लचिलो हुने जनाएको छ।
'वर्तमान विधानका केही व्यवस्थामा संशोधन गरी अघि बढ्दा निलम्बन फुकुवा भई क्रिकेटले निकास पाउने अवस्थामा लचकतासहित प्रस्तुत हुने विश्वास दिलाउछौं', क्यानका महासचिव अशोकनाथ प्याकुरेलले भने। उनले साधारणसभाले यसअघि भएको सहमति अनुसार विधान संशोधन गर्न पहल गर्ने बताए। तर, उनले साधारणसभाले लिने निर्णयबारे भने अहिले नै भन्न नसकिने बताए।
साधारणसभापछि निर्वाचनका लागि ५ सदस्यीय मनिटरिङ समिति बन्नेछ। समितिमा ३ जना सदस्य आइसिसीका तर्फबाट हुनेछन् भने निर्वाचित क्यान र परिषद्का १–१ जना सदस्य रहनेछन्।
यसअघि निर्वाचन भइसकेका जिल्लालाई मान्यता दिने बताइएको छ। विवाद र उजुरी परेका जिल्लामा भने मनिटरिङ समितिले छानबिन गर्नेछ। विवादित जिल्लामा समितिले मान्यता दिन वा फेरि निर्वाचन गर्न निर्देशन दिन सक्नेछ। त्यसपछि प्रदेश र केन्द्रीय समितिको निर्वाचन हुनेछ। केन्द्रीय समितिको निर्वाचनपछि आगामी जुलाईमा बस्ने आइसिसीको बैठकमा क्यानमाथि लगाएको निलम्बनको विषयमा प्रस्ताव पेश हुनेछ। निलम्बनको विषयमा आइसिसी बैठकमा प्रस्ताव लैजान जुलाई अगाडि क्यानको केन्द्रीय समितिको निर्वाचन हुनुपर्नेछ।
यसअघि सल्लाहकार समितिले बनाएको विधान क्यानको विशेष साधारणसभाले संशोधनसहित गत साउनमा पारित गरेको थियो। खेलकुद परिषदले क्यानको संशोधित विधानलाई स्विकृति समेत प्रदान गरेको थियो।
संशोधित विधान अनुसार ८ कात्तिकभित्र जिल्ला क्रिकेट संघहरुको निर्वाचन भएको थियो। तर, ८ मंसिरभित्रमा गर्नुपर्ने प्रदेश संघ निर्वाचन भने नगर्न आइसिसीले क्यानलाई पत्राचार गरेको थियो। त्यसपछि आइसिसीका प्रतिनिधि काठमाडौं आएर सल्लाहकार समितिले बनाएको विधान हुबहु पारित गरेर अघि बढ्ने सहमति गरेका थिए।
आन्तरिक विवाद र सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले क्यानलाई ०७३ बैशाखमा निलम्बन गरेको थियो । त्यसपछि आइसिसीले नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।