काठमाडौं– सर्वोच्च अदालतले आइतबारदेखि नियमित पत्रकार सम्मेलन सुरु गरेको छ।
नियमित पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले पछिल्लो ९ महिनामा ८ हजार ३ सय २४ मुद्दा फछ्र्यौट गरेको विवरण सर्वाजनिक गरेको हो।
आइतबार अदालतमा पत्रकार सम्मेलन गरेर प्रवक्ता नारायणप्रसाद पन्थीले साउनदेखि चैतसम्म ८ हजार ३ सय २४ मुद्दा फछ्र्यौट गरेको बताए।
सर्वोच्चले नियमित पत्रकार सम्मेलन गर्ने कार्य तालिकाअनुसार आइतबार पहिलो पटक पत्रकार सम्मेलन गरेर मुद्दाको फछ्र्यौट विवरण सार्वजनिक गरेको हो।
उनले गत वर्षभन्दा यो वर्ष मुद्दा फछ्र्यौटको संख्या बढेको जानकारी दिए। गत वर्ष २७ हजार ९ सय २९ मुद्दामा २९ दशमलब ८ प्रतिशत मात्र मुद्दा फछ्र्यौट भएको उनले बताए।
२०७४ भन्दाअघि २१ हजार १ सय ७३ मुद्दा र २०७४ मा ६ हजार ७ सय ५६ मुद्दा सर्वोच्चमा परेका थिए। उनले अतिरिक्त समयमा न्यायाधीशले काम गरेको र एउटै प्रकृतिका मुद्दालाई एकै ठाउँमा ल्याएर सुनुवाइ गर्दा मुद्दाको सुनुवाइ बढेको बताए।
उनका अनुसार अझै १९ हजार ६ सय ५ मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको छ। अदालतमा गत वर्ष २ वर्ष नाघेका ४ हजार ४ सय ३१ र ५ वर्ष नाघेका १ हजार २ सय २६ मुद्दा फछ्र्यौट गरिएको थियो। जसको प्रतिशत क्रमशः ३३ दशमलब ९६ प्रतिशत र ३५ दशमलब ५४ प्रतिशत हुन आउँछ।
अबदेखि सबै सञ्चार माध्यमलाई अदालतका न्याय सम्पादनबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ५ः३० बजेसम्म र शुक्रबार ३ः३० देखि ४ बजेसम्म पत्रकार सम्मेलन गरिने भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।