काठमाडौं- कांग्रेस केन्द्रीय समिति बैठक शनिबार पुनः बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकका लागि पदाधिकारीसहित केन्द्रीय सदस्यहरु पुगिसकेका छन्।
चुनावी समीक्षाका लागि शुक्रबारदेखि बोलाइएको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको कडा आलोचना भएको छ।
बैठकको पहिलो दिन पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृण्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा नारायण खड्काले धारणा राखेका थिए।
पूर्वमहामन्त्रीद्वयले नेतृत्वको असक्षमताका कारण पार्टीले निर्वाचनमा नराम्रो हार व्यहोरेको भन्दै सभापति देउवालाई सुध्रिनुपर्ने चेतावनी दिएका थिए।
नेता सिंहले प्रधानमन्त्रीको हैसियतमा देउवाको अलोकप्रिय कदमले पार्टीले निर्वाचनमा हार ब्यहोरेको बताएका थिए। देउवाको नेतृत्वका कांग्रेस इतिहासकै कमजोर अवस्थामा आएको बताउँदै पार्टी नेतृत्व गुटगत आधारमा चल्दा निर्वाचनमा पराजय भोगेको लिखित रुपमा बताएका थिए।
अर्का महामन्त्री कृण्णप्रसाद सिटौलाले पार्टी नेतृत्वले कब्जा गरे पनि मुलुक कम्युनिस्टले कब्जा गरेको भन्दै देउवाको आलोचना गरेका थिए।
उनले नेतृत्व परिवर्तन नभए कांग्रेस समाप्त हुने चेतावनी दिँदै सिटौलाले निर्वाचनमा व्यहोरेको पराजयको जिम्मेवारी पार्टी सभापति देउवाले कहिले लिने भन्दै प्रश्न गरेका थिए।
केन्द्रीय सदस्य नारायण खड्काले निर्वाचनमा पराजयको जिम्मेवारी सबैले लिनुपर्ने बताउँदै सभापति देउवाको वचाउ गरेका थिए। यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको मानिएका नेता खड्का पछिल्लो समय खेमा परिवर्तन गर्दै देउवा गुटमा पुगेका हुन्।
आज पनि बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राख्ने कार्यसूची छ। बैठकले चुनावी समीक्षा गर्दै पार्टीको भावी रणनीति तय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।