पाँच वर्षअघि झम्सिखेलको अभिनय प्रशिक्षण थलो एक्टर्स स्टुडियो पुग्दा सूचनापाटीमा एउटा लेखको पेपर कटिङ टाँसिएको थियो। जसको शीर्षक थियो- ‘अभिनय सिक्नुपर्ने विधा हो’।
यद्यपि अभिनेता, निर्देशक अनुप बरालको लेखको यो शीर्ष-विषयमाथि अहिले पनि बहस र विमर्श उस्तै छ।
एउटा सूचनापाटी, पेपर कटिङ र एउटा शीर्षकले नै हो मलाई भड्काएको। अनि भड्केको आत्माले एउटा बाटो समातेको। तर म यहाँ भड्केको आत्मा र त्यसको सन्तुलनको अनूभूति होइन अभिनय इतिहासलाई सम्झन खोजेको छु।
अभिनय कक्षामा विद्यार्थीको चाप बढ्दो छ। ‘अभिनय सिकिने सिप हो या जन्मजात लिएर आउने गुण हो, जो सिकिरहनु जरुरी छैन’ भन्नेमा सार्वजनिक बहस नदेखिए पनि कलाकार र कला पारखीबीच भने छलफल भइरहेको हुन्छ।
फर्केर हेर्दा
ईसापूर्व ४५० तिरको ग्रिस (जहाँबा नाट्य परम्पराको विकास भएको मानिन्छ) मा ग्रिक सरकारले अभिनेतामा हुनुपर्ने क्षमता तय गरेको थियो। गाउन र नाच्न सक्नुपर्ने, दरिलो आवाजसहित त्यसलाई खेलाउन जान्नुपर्ने, भावस्थिति (मुड) मा बस्न सक्नुपर्ने र चरित्र निर्माण गर्न सक्नुपर्ने थिए मापदण्ड थिए त्यहाँ। यी सक्षमताले भरिएका कलाकारहरु नाटकका लागि शासक वा सरकारद्वारा नै छानिने नियम थियो।
यता पूर्वीय इतिहासमा ईसापूर्व २०० तिर भरतमुनि ऋषिले नाट्य भाव र तत्वहरु प्रस्ट उल्लेख गरी ‘भरत नाट्यम’ शास्त्रीय किताब लेखेको पाइन्छ। जसमा आङ्गीक (शरीर), वाचिक (आवाज), सात्विक (भावना) र आहार्य (शृंगार) लाई आधारभूत आवश्यकताका रुपमा उल्लेख गरिएको छ। यिनै भरतमुनिले ‘नवरस’ अर्थात् ९ वटा भावको उल्लेख गरेका छन्। नवरस हाम्रोमा प्रशिक्षण कक्षामा सिकाइने महत्वपूर्ण पाठमध्ये एक हो। यद्यपि पश्चिमी अभ्यासमा ६ वटा मात्र भावको चर्चा हुने गरेको छ।
नाटकको विकास र अभ्यासका विशेष इतिहास बोकेको रोममा नाटकले यति व्यापकता र सफलता पायो कि जसबाट राज्य सत्ता नै अत्तालिएको इतिहास छ। सन् ७०० तिर आइपुग्दा क्रिश्चियन धर्मगुरुहरुले नाटक र अभिनयलाई पापको संज्ञा दिए। फलस्वरुप उनीहरुले नाट्यशालाहरु बन्द गरे र नाट्य गतिविधिलाई प्रतिबन्ध लगाए। जसकारण छैटौं शताब्दीदेखि १५ औं शताब्दीसम्मको कालखण्डलाई रंगमञ्चको कालो समय मानिन्छ। यकिन समय नभए पनि १६ औं शताब्दीको अन्ततिर भने अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयले रंगमञ्चको अध्यापन नै गराउन थालेको भन्ने विश्वास छ।
मैले यहाँ रंगमञ्च भन्नुको कारण, अभिनयबाट नै नाटक र रंगमञ्चको विकास भएकोमा सन्देह छैन। रंगमञ्चमा अभिनय एक अकाट्य विधा र पाटो हो। अभिनय र रंगमञ्च आफैमा सापेक्ष छन्।
१७ औं शताब्दीमा शेक्सपियरको मेलोड्रामा नयाँ आयाम थप्दै लोकप्रिय भएको थियो। नाट्य विकासको कालखण्ड अनुसार पूर्वकाल (सोफोक्लेस) देखि नै नाटक काव्यिक शैलीमा लेखिन्थ्यो। त्यतिबेला नाटक घामको उज्यालोमा अर्थात् दिनमा खुला मञ्चमा मञ्चन हुने गर्थ्यो। परपरका मानिसहरुले पनि देखून्, सुनून् र बुझून् भनेर अभिनयको शैली ‘लार्जर देन लाइफ’ हुने गर्थ्यो। ताकि नाटक लेखनको शैलीले पनि अभिनयको शैलीको निर्माण गर्छ। त्यही लेखनको शैलीले र परिस्थितिले पनि अभिनय यथार्थभन्दा ठूलो हुने गर्थ्यो।
स्लावस्की र यथार्थवादी आधुनिक शैली
इमिटेसन अर्थात् नक्कल गर्ने परम्पराबाट सुरु भएको हो अभिनय परम्परा। नाटक लेखन हुँदै खुला रंगमञ्चदेखि बन्द रंगमञ्चसम्म र घामको उज्यालोमा मात्र देखाइने नाटक अँध्यारोमा अनेकौं प्रकाशको प्रयोगसम्म आइपुगेको छ। हजारौं दर्शकबाट अहिले सयभन्दा कममा पनि देखाइने भएको छ। सयौं कलाकारले देखाउने नाटक अहिले एक कलाकारसम्म झरेको छ। यसरी नै अभिनयको शैलीमा पनि धेरै परिवर्तन र अभ्यासहरु भई नै रहेका छन्।
पछिल्लो समय १९औँ शताब्दीको अन्त्यतिरबाट उदाएका रुसी अभिनेता/निर्देशक तथा आधुनिक अभिनयका पिता मानिने कोन्सटेनटिन स्टानिस स्लावस्की (सन् १८६३–१९३८) ले आविष्कार गरेका अभिनयको शैलीलाई पछ्याउनेहरु लगभग विश्वभरि नै अत्यन्त धेरै छन्। जीवनको उत्तरार्द्धमा उनले अभिनयको तत्व र प्रक्रियाबारे विस्तृतमा किताब लेखेका थिए। सायद उनी नै अभिनयको तौरतरिकाबारे लिपिबद्ध गर्ने पहिलो लेखक, निर्देशक थिए।
रुसी क्रान्तिपश्चात् सन् १९१७ मा रिचार्ड बोलेस्लविस्की देश छाडेर अमेरिका पुगेपछि उनले अमेरिकामै अभिनय सिकाउन थाले। सन् १९२० मा स्लावस्कीका विद्यार्थी उनले अमेरिकन ल्याब्रोटरी थिएटर स्कुल खोले जहाँबाट लि स्टार्सबर्ग, स्टेला एडलर, स्यानफर्ड माइजनरहरुले आफ्नो यात्रा सुरु गरेका थिए।
खुलाबाट बन्द अनि धेरै दर्शकबाट कम दर्शक सम्म रंगमञ्चले गरेको यात्राले पनि आधुनिक शैलीलाई सिक्नु र अभ्यास गर्नुपर्ने परिस्थितिको जन्म लिएको हनुपर्छ। यो शैली जीवन र यथार्थसँग नजिक रहेर अभ्यास गरिन्छ।
बढी नाटकीय हुने मेलोड्रामाभन्दा फरक आएको यो आधुनिक शैली बढि यथार्थपरक हुने भएकोले सिनेमाका कलाकारहरुले ज्यादा प्रयोग गर्न थाले। समयक्रममा जीवनसँग नजिक हुने अभिनय आवश्यकता हँदा रंगमञ्च हुँदै सिनेमामा यस शैलीमा अभिनेताहरुले आफूलाई प्रस्तुत गर्दै आएका छन्। सिनेमाको विकास र स्लावस्कीको अभिनय शैली लगभग एकै समयमा भएको देखिन्छ।
यही शैलीबाट चर्चित अभिनेताहरु धेरैका रोलमोडेल हुन्। मार्लोन ब्रान्डो, रोबोर्ट डिनेरियो, अल्पाचिनोदेखि नासुरुद्दिन शाह, सुनिल पोखरेल अनि अनुप बराल र उनका चेलासम्म।
अध्ययनको विषय
अहिलेको विश्वमा अभिनय एक महँगो विषयका रुपमा स्थापित हुँदै एक उत्कृष्ट पेसाका रुपमा दरिएको छ। अभिनय कलालाई धेरै विश्वविद्यालयहरुले अध्ययन–अध्यापन गराउँछन्। तर नेपालमा अझै पनि यसलाई पढिनुपर्ने र पढाइनुपर्ने नजरले हेरेको पाइन्न। त्यसैले पनि मनिसहरुले अभिनयलाई पृथक् र स्वतन्त्र व्यावसायिक कामको रुपमा हेर्न सकिरहेको अवस्था छैन।
हाम्रोमा अभिनयमा रम्नेलाई ‘अभिनय त गर्छस्, काम चाहिँ के गर्छस् ?’ भनेर सोधिन्छ। कसैले अभिनेता बन्ने सपना खुलेर देख्नसक्ने वातावरण हाम्रो समाजमा अझै छैन। यद्यपि लालितकला, संगीत, र नृत्य विधामा भने केही हदसम्म औपचारिक शिक्षाको विकास र अभ्यास नेपालमै पनि भइरहेका छन्।
ओस्कार कलेज अफ फिल्म स्टडिजको स्थापनासँगै स्नातक तहमा अभिनय पढाइको सुरुवात भएको केही वर्ष भए पनि उत्कृष्ट अभिनेता आजसम्म ननिस्कनु तितो यथार्थ हो। कलेज स्थापित भए पनि अभिनय मेहनती र अनुभवी शिक्षकद्वारा पढाइनुपर्ने संवेदनशील विषय हो भन्ने अझै पनि स्थापित हुन सकेको छैन।
एक-दुई नाटकमा काम गरेर वा केही सामान्य प्रशिक्षणको आधारमा अभिनयको गुरु बन्ने परम्पराले पनि यस क्षेत्रमा नकारात्मक असर गरेको छ। केही वर्षअघि नसुरुद्दिन शाहसँगको ‘अभिनयमा सत्यता’ प्रशिक्षण कर्यशालामा उनले भनेको सम्झन्छु, ‘खासमा स्कुल स्तरमा अभिनय पढाइरहेका काँचा शिक्षकहरुले पनि यो विषयमा राम्रो भन्दा नराम्रो असर गरेको छ।’
यस्तो कुराले नेपाल मात्र नभई अन्यत्र पनि उही समस्या रहेको प्रमाणित गर्छ। अभिनय पढिरहेका विद्यार्थीहरु अभिनय नै सिक्न भौंतारिइरहेको तथ्यले यो पुष्टि गर्छ। गणतन्त्र स्थापनासँगै अस्तित्वसहित विभाजित भएका प्रज्ञा प्रतिष्ठानहरुको पहल र प्रयास पनि उल्लेखनीय देखिँदैन।
बढ्दो लहर
अभिनय सजिलो विधा हो भन्ने सोचको प्रतिकार गर्दै अभिनेता तथा निर्देशक अनुप बरालको भनाइ छ- ‘केही गर्न सकेन। यो कामचाहिँ गर्छ कि भनेर अभिभावकहरु आफ्ना सन्तान बोकेर आउँछन्। सबै क्षेत्रका कलाकारहरु मेहनत गर्छन्। गायक, वाद्यवादक, चित्रकार, मूर्तिकार, नृत्यकार, हरेक दिन अभ्यास गर्छन्, आफूलाई घोटाइरहन्छन् तर अभिनेताहरुमा त्यस्तो छैन। केही समय सिक्न आउँछन् र पुगेको ठान्छन्। अभिनेताले पनि हरेक दिन आफूलाई प्रयोग गरिरहनुपर्छ। सबै सफल अभिनेताहरु सधैं सिकिरहन्छन्।’
पछिल्लो समय काठमाडौंमा अभिनय सिक्न नाटकघर जाने युवाहरु बढिरहेका छन्। तर यो राम्रो अभिनेता बन्ने इच्छाभन्दा पनि सिनेमामा छिर्ने बाटोमात्र भइदिएको छ। पछिल्लो समय नाटकबाट गएका कलाकारले सिनेमामा प्रभाव देखाएका छन्। उनीहरुले केकति मेहनत गरेर यो स्थानसम्म पुगे? यसबारे ख्याल नगर्नु अभिनयमा हुर्केका युवाहरुको मुर्खतासिवाय केही होइन।
सिनेमामा अभिनय गर्नु र अभिनेता हुने इच्छा राख्नु आफैमा नराम्रो होइन तर यसलाई बुझ्ने इच्छा नराख्नु, यसको पछाडि आफूले गर्नुपर्ने अभ्यास र मेहनतको मूल्यांकन नगर्नु र सस्तो लोकप्रियताको पछि लाग्नु अभिनय इच्छा राख्नेहरुको खतराजन्य प्रवृति हो।
मान्छेले कि पढेर, कि परेर सिक्छन्। पढ्नु या पर्नु मात्र पनि नभएर सिकेको र भोगेको कुरालाई जीवनमा कति प्रयोग गर्न सकेको छ भन्नेले भोलिको कामको निर्धारण गर्छ। अभिनयमा पनि देखाउने जीवनकै पाटाहरु हुन्।
बुझ्ने जीवन नै हो, नबुझी सिक्न सकिँदैन।
‘डार्लिङ एक्टर’
अभिनय कुनै सूत्रबद्ध प्राविधिक शिक्षा होइन। अमेरिकी अभिनेत्री तथा प्रसिद्ध अभिनय शिक्षिका स्टला एडलरको भनाइ छ- ‘राम्रो मानव बन्ने प्रक्रिया र राम्रो अभिनेता बन्ने प्रक्रिया उस्तै हो। राम्रो अभिनेता बन्ने अभिलाषाभन्दा पहिले राम्रो मानिस बन्ने अभिलाषा हुनुपर्छ। कलाकारहरु प्रगतिशील सोच राख्ने भएकाले आफूलाई परिवर्तन र प्रयोग गरिरहनुपर्छ। म यो गर्दिनँ, यस्तो काम मैले गेरेकै छैन, मलाई यो सुहाउँदैन, मलाई यो मन पर्दैन, म यस्तो खालको मान्छे हो, यस्तो होइन भन्ने भ्रम पालेर आफूलाई एउटा परिधिभित्र राख्नेले अभिनय गर्न सक्दैन।’
निर्देशक बराल यसलाई प्रस्ट्याउँदै भन्नुहुन्छ- ‘त्यस्तो आफ्नो राम्रो चिज मात्र देखाउन खोज्नेलाई ‘डार्लिङ एक्टर’ भनिन्छ।’
के देखाउने, के नदेखाउने वैयत्तिक स्वतन्त्रता हो। तर जानेर बुझेर गरिने अभिनयले पार्ने प्रभाव अवश्य फरक हुन्छ।
अन्त्यमा,
भारतका चर्चित अभिनेता नवाजुद्दिन सिद्दिकी भन्नुहुन्छ- ‘संसारमा तीन किसिमका अभिनेता हुन्छन्- राम्रा अभिनेता, नराम्रा अभिनेता र सलमान खान।’
(लेखक रंगमञ्चका अभिनेता/निर्देशक हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।