काठमाडौं- जनता समाजवादी पार्टीको केन्द्रीय कार्याकारिणी सदस्य तथा पूर्वमन्त्री रेणुकुमारी यादव पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएकी छन्।
जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगंजमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा रेणुले उपेन्द्र समक्ष राजीनामा पत्र बुझाएकी हुन्।
'वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्नसक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागू हुनेगरी पार्टीले मलाई दिएको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु', उनले भनेकी छिन्।
उनले विभिन्न कालखण्डमा पार्टी पटक–पटक टुटफुट र अनेक किसिमको पडयन्त्रका सिकार भइरहँदा पनि आफू विचलित नभई सदैव मधेस र मधेसी जनतालगायत सम्पूर्ण उपेक्षित वर्ग र समुदायको हकहितका लागि पार्टीको पक्षमा चट्टानी अडान लिएको स्मरण गराएकी छिन्।
उनी केही समयअघिसम्म भौतिक पूर्वाधार मन्त्री थिइन्। तर, अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्रको संघर्षको कारण केही मन्त्रीलाई फिर्ता बोलाएका थिए। त्यसपछि उनी असन्तुष्ट थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।