मंगलबारे– जापानको जेलमा १४ वर्ष बसेका इलामका गोविन्द मैनालीले १५ लाख मूल्य पर्ने जग्गा खानेपानी उपभोक्ता समितिलाई दान गरेका छन्।
पिउने पानीको अभाव रहेको नगरपालिका–९ भञ्ज्याङमुनिको बस्तीमा पिउने पानीको व्यवस्थापन गर्न उनले जग्गा दान गरेका हुन्।
मैनालीले स्थानीय ढोडेनी भञ्ज्याङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई ३ आना जग्गादान गरेको बताए। समितिका सल्लाहकार किशोर कार्कीले उक्त जग्गाको चलेको मूल्य १५ लाख रुपैयाँ रहेको बताए।
मैनालीले मालपोत कार्यालय मार्फत समितिको नाममा जग्गा पास गरिसकेको कार्कीले जानकारी दिए। आफ्ना दिवंगत मातापिता चन्द्रकला र जयप्रसाद मैनालीको स्मृतिमा जग्गा दान गरेको मैनालीले बताएका छन्।
उक्त जग्गामा समितिले पिउनेपानीको ट्यांकी निर्माण गर्ने समितिका अध्यक्ष होमबहादुर गौतमले जानकारी दिए। पिउने पानीको व्यवस्था भएमा सो बस्तीका करिब ४ सय जना लाभान्वित हुने गौतमले बताए।
हत्याको अभियोगमा बिनाकसुर जापानको जेलमा बसेका मैनालीलाई १४ वर्षपछि निर्दोष साबित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।