मेलम्चीको काम सक्न सर्वदलीय समिति गठन गर्दै सरकार

नेपाल लाइभ | २०७६ जेठ १ बुधबार | Wednesday, May 15, 2019 १४:४७:०० मा प्रकाशित

काठमाडौं- बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकारले सर्वदलीय समिति गठन गर्ने तयारी गरेको छ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सो आयोजनाको बाँकी काम सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने वित्तिकै सर्वदलीय समिति बनाउने तयारी गरिएको जानकारी दिएका हुन्। 

बुधबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले सो आयोजनाका काम एक वर्ष भित्र सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख गरिएकाले त्यसमा शंका नगर्न पनि समितिका सदस्यहरुसँग आग्रह गरेका थिए।

एक हप्ता भित्र सर्वदलीय समिति बनाएर सो आयोजनाको बाँकि कामलाई तीव्रता दिइने सचिव शर्माको योजना छ। 

'आयोजनाको बाँकी काम छोडेर हिँडेको इटालियन कम्पनी सिएमसीलाई फर्काउने प्रयास असफल भएपछि पनि सरकार काम सुरु गरिसकेको छ,' सचिव शर्माले भने। 

एसियाली विकास बैंक (एडीबी)को लगानीमा सरकारले सो आयोजनाको बाँकी अघि बढाएको छ। टनेलमा नटबोल्ड कस्ने कामलाई सुरु गरिएको पनि खानेपानी मन्त्रालयले जनाएको छ।