काठमाडौं– बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको दोस्रो तल्लामा सानी छोरी काखमा च्यापेर बसिरहेकी छन्, खममाया रोका। कुर्सीमा बसिरहेकी बाग्लुङ तमान खोला गाउँपालिका १ की खममायाका गहभरि आँसु टिलपिलाइरहेका छन्।
उनीसँगै रहेका ४ वर्षीय छोरा पनि रोइरहेका छन्। ‘किन रोएको? पानी खान्छस् ? खा,’ खममायाले छोरालाई पानीको बोत्तल दिँदै भनिन्।
बोत्तल समातेर उनले घुटुघुटु पानी पिए।
OOO
पसिनासँग खुसी साटेर ल्याउन साउदी गएका खममायाका श्रीमान् रनबहादुर रोका बिरामी भए। एक वर्ष नपुग्दै बिरामी भई फर्किए। तर, उनको मृत्यु भयो। त्यसपछि आर्थिक सहायताका लागि छोराछोरी च्यापेर खममाया काठमाडौं आइपुगिन्। उनलाई आडभरोसा दिन बुबा सिरे रोका र मामा प्रेमबहादुर रोका पनि साथमै छन्।
‘छोरीको सानै उमेरमा विवाह गरियो, कमाउन विदेश गएका ज्वाइँ बिरामी भएर फर्किए,' खममायाका बुवा भावुक हुँदै भन्छन्, 'अस्पतालमै ज्वाइँको पनि मृत्यु भएपछि छोरी र नातिनातिनाको अवस्था निकै बिजोग भयो।'
बुबा र मामाका साथमा खममाया
खममायाको २०७० सालमा १८ वर्षकै उमेरमा रनबहादुरसँग विवाह भयो। त्यसको एक वर्षमै छोरा जन्माइन्। अर्को साल छोरी।
‘घर बसेर के गर्नु, परदेश जान पाए थोरै भए पनि कमाएर ल्याउँछु भनेर उहाँ जानुभएको थियो,’ विगत सम्झिँदा खममायाका आँसु रोकिन्नन्।'
काठमाडौंको मनास्लु इन्टरनेसनल ओभर्सिस प्रालि मार्फत साउदीको स्पेसलाइज्ड इन्डस्ट्रियल सर्भिसेस कम्पनीमा स्काफ फोल्डरका लागि २०७३ साउन २० गते उनी साउदीका लागि उडे।
विदेश जानका लागि रनबहादुरले साहुबाट डेढ लाख ऋण लिएका थिए। तर, साउदी पुगेको केही महिनादेखि नै उनी बिरामी परे।
‘कहिले काम, कहिले हस्पिटल गर्दा भएको पैसा पनि उतै सकाउनुभएछ,' खममायाका मामा प्रेम रोका भन्छन्।
खममायाका अनुसार विदेश गएपछि रनबहादुरले एकचोटि मात्रै पैसा पठाएका थिए, ४२ हजार।
सिकिस्त भएपछि उनले काम गर्न सकेनन्। कम्पनीले नेपाल फर्काइदियो। ०७४ सालमा फर्किएका उनलाई घरै नपुर्याई पाल्पाको मिसन अस्पताल भर्ना गरियो। अस्पतालको रिपोर्ट अनुसार उनको दुवै मिर्गौला फेल भइसकेको रहेछ।
रनबहादुर परदेश जाँदाको ऋणमाथि अस्पतालको ऋण पनि थपियो तर उनी निको भएन। केही दिनमै उनी सधैंका लागि बिदा भए।
घरमा रनबहादुरका वृद्ध आमाबुबा पनि छन्।
‘ज्वाइँ विदेश गएको ऋण बाँकी नै छ। सम्धीले एकातिरको साहुको कचकच सुन्न नसकेर अर्कोतिर सापटी मागेर ऋण तिरेँ भन्नुहुन्थ्यो,’ खममायाका बुबाले भने।
छोराछोरीलाई पढाउने चिन्ता
दुई छोराछोरीकी आमा खममाया उमेरले भने बल्ल २४ वर्षकी भइन्। श्रीमान् बितेपछि छोराछोरी हुर्काउने र पढाउने जिम्मेवारी उनकै काँधमा आइलागेको छ। त्यहीँमाथि ३ वर्षकी छोरी दृश्मा रोका अपांग छिन्।
जन्मिएको ६ महिनापछि पोलियो रोग विरुद्धको खोप लगाएर ल्याउँदा तिघ्रामा घाउ जस्तो देखियो। त्यसपछि उनको बायाँ खुट्टामा ठूलो समस्या देखिएको खममाया सुनाउँछिन्।

‘उपचार गर्न पैसा पनि भएन। छोरी अपांग छे,' उनी बिलौना गर्छिन्, 'पूरै आफै हेरचाह गर्नुपर्छ। हिड्न पनि सक्दिन। उता छोरालाई चाहिँ कसरी पढाउने भन्ने चिन्ता छ।’
सहायताबारे थाहा पाएपछि काठमाडौं
रनबहादुर बितेको एक वर्ष पुग्नै लाग्दा बल्ल खममाया र उनका परिवारलाई वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायताका पाइन्छ भन्ने थाहा भयो। त्यसपछि उनीहरु काठमाडौं आए।
आर्थिक सहायताका लागि विभाग र बोर्डसम्म आएका खममाया र उनका आफन्तले वैदेशिक रोजगार बोर्डबाट ७ लाख आर्थिक सहायता पाइन्छ भन्ने सुनेका थिए।
खममायाका मामा प्रेमबहादुरले सोधे, ‘बोर्डबाट ७ लाख पाइन्छ नि है?, अनि इन्सुरेन्सबाट पनि कति पो पाइन्छ?’
.JPG)
बोर्ड र बिमाबाट आर्थिक सहायता पाइन्छ भन्नेमा ढुक्क रहेका उनीहरु पाएको सहायताले केके गर्ने भन्नेसम्म पनि बाटोमा हिँड्दा छलफल गर्दै थिए।
के भन्छ बोर्ड?
वैदेशिक रोजगार नियमावली २०६४ बमोजिम वैदेशिक रोजगारीमा गएको कुनै कामदारको करार अवधि र करार अवधि समाप्त भएको एक वर्षसम्मको अवधिभित्र कुनै कारणले कामदारको मृत्यु भएमा मृतक कामदारको परिवार वा नजिकको हकवालाले मृत्यु भएको र शव बुझेको प्रमाणसहित आर्थिक सहायताका लागि आवेदन पेस गरेपछि आर्थिक सहायता स्वरुप ७ लाखसम्म पाउने व्यवस्था छ।
वैदेशिक रोजगारमा गएका तर नेपाल फर्किएर मृत्यु भएका कामदारको हकमा भने बोर्डले अहिलेसम्म कुनै प्रकारको आर्थिक सहायता प्रदान गरेको छैन। वैदेशिक रोजगारमा गएका तर नेपालमै आएर मृत्यु भएका २ सयभन्दा बढी व्यक्तिका परिवारले बोर्डमा आर्थिक सहायताका लागि आवेदन दिएको बोर्डले जनाएको छ।
बोर्डको बैठक बसी छलफल गर्न नसक्दा मृतकका परिवारले कुनै पनि आर्थिक सहायता पाउन सकेका छैनन्।
‘वैदेशिक रोजगारमा गएका तर स्वदेश फर्किएर मृत्यु भएका थुप्रै कामदारका आफन्तबाट आर्थिक सहायताका लागि आवेदन आएको छ,' बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदी भन्छन्, 'अहिलेसम्म बोर्डले कति आर्थिक सहायता दिने वा नदिने कुनै निर्णय गरेको छैन। यसबारेमा बोर्डको बैठकपछि निर्णय हुन्छ।’
बोर्डबाट ७ लाख आर्थिक सहायता लिएका मृतकका छोराछोरीका लागि समेत बोर्डले शैक्षिक सहायता उपलब्ध गराउँदै आएको छ।
आर्थिक सहायताका लागि साना छोराछोरी बोकेर बाग्लुङदेखि धाएकी खममायाले पनि तत्काल बोर्डबाट आर्थिक सहायता पाउने अवस्था देखिँदैन। खममायाले आर्थिक सहायता पाउने कि नपाउने, आर्थिक सहायता पाए कतिसम्म पाउने भन्नेबारे बोर्डको बैठकपछि निर्णय गरिने जनाइएको छ।
बिमा कम्पनीबाट भने मृतकका परिवारलाई २० लाखसम्म सहायता दिने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।