खुलामञ्च खुला नै राख्ने दबाब अभियानका संयोजक हुन् सुसन वैद्य। बागबजारका स्थायी बासिन्दा उनी चैतको मध्यतिर खुलामञ्च हुँदै गुज्रिँदै थिए। त्यहीबेला देखे, केही समयअघि बसपार्कका नाममा मिचिएको खुलामञ्चमा त टहरा ठडिइसकेछन्।
उनलाई गडबढ लाग्यो। तुरुन्तै वडा नम्बर २८ का भाईराम खड्गी लाई सोधे, ‘खुलामञ्चमा टहरा किन बनाइँदैछ?’ अध्यक्ष विष्टले आफूलाई थाहा नभएको बताए।
त्यसपछि उपमेयर हरिप्रभा खड्गीलाई चैत्र २४ गतेको महानगर बोर्ड बैठकमा कुरा उठाउन सुझाए। त्यसले पनि केही निकास निस्किने संकेत देखिएन। त्यसपछि उनले प्रण गरे, ‘अप्ठ्यारोमा हामीलाई जोगाएको खुलामञ्च अतिक्रमणमा पर्दा हामीले नै जोगाउनुपर्छ।’

वर्षाैंदेखि राजनीतिक वा प्राकृतिक संकटको सहारा बनिरहेको छ खुलामञ्च। नेपालका महत्वपूर्ण राजनीतिक परिवर्तनका लागि आफ्नो छाती थापेर बसेको यसले २०७२ सालको भूकम्पमा पनि सहारा दिएको सम्झिए वैद्यले। त्यसपछि उनी आफूले संयोजन गरिरहेको स्वतन्त्र अभियान 'लिभेबल काठमाडौं'का सदस्यलाई एकिकृत गरे। सँगै सेभ नेपाल भ्याली, सम्पदा बचाउ संघर्ष समिति, उपत्यकाव्यापी सडक विस्तार पीडित समिति र सम्पर्कमा रहेका राजनीतिक नेताहरुलाई पनि जोडे।
दबाबका लागि जुलुस निकाल्ने दिन रोजियो बैसाख १२। किनभने चार वर्षअघि गएको भूकम्पमा धेरैजना बाँच्ने आधार खोज्दै यही खुलामञ्चमा जम्मा भएका थिए। उपत्यकाभित्र मासिँदै गएको खुला ठाउँका कारण टाढा–टाढाबाट आएका मानिसहरुले धेरै दिन यही चौरलाई 'सेल्टर' बनाए। उनी भन्छन्, ‘सम्झाउन सजिलो भयो त्यो दिन। फेरि त्यस्तै विपद् आइलागे कहाँ जाने?’
‘खुला मञ्च कहाँ छ खुला?’ भन्दै उनको संयोजकत्वमा उठेकाे 'खुलामञ्च बचाउ अभियान'काे स्वर सरोकारवालाहरुको कानमा जोडले ठोक्कियो। कानसम्म कुरा त उनीहरुले त्यसअघि पनि पुर्याएका थिए। तर, काठमाडौं महानगरले सुनेको नसुन्यै गर्यो। विरोध र्याली नै निस्किएपछि भने ‘लोकलाज’का कारण टहरा भत्काउने अवस्थासम्म आइपुग्यो महानगर।

उनी यतिबेला ती नेताहरुलाई सम्झाउन चाहिरहेका छन्, जसलाई अहिलेको ‘हैसियत’ यही खुलामञ्चले दिलाएको थियो। ‘प्रजातन्त्र, बहुदल र गणतन्त्र ल्याउने सारथीमाथि यत्रो अन्याय हुँदा चुपचाप बस्न मिल्छ?’, उनको प्रश्न छ।
सरकारलाई सम्झाउन चाहन्छन्- ‘राजासँग आँखा जुधाउन नसक्ने जमानामा यही ठाउँबाट हो मदन भण्डारीले ‘श्रीपेच खोलेर आइबक्सियोस् महाराज चुनाव लड्न तयार छु’ भनेको। धेरै ठाउँमा विजय हासिल गर्दा पनि सरकारबाट निस्किनुपर्दा तत्कालिन नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सहारा यही खुलामञ्च नै बनेको हो।’
खुलामञ्चलाई एउटा खाली ठाउँका रुपमा मात्रै लिएका छैनन् वैद्यले। लोकतन्त्रको प्रतिकका रुपमा अर्थ्याउँछन्। स्वतन्त्र मत राख्ने थलोका रुपमा बुझेका छन्। त्यसैले उनी नेताहरुलाई सम्झाउन चाहन्छन्, ‘अहिले सरकारमा छु भनेर अतिक्रमण भएको हेरेर बसिएला। भोलि फेरि आफ्ना कुरा जनतामाझ राख्ने दिन आउनसक्छ। सरकार अर्कैको हुँदा चाहिने यही थलो हो।’

यस्तो ऐतिहासिक स्थललाई व्यापारिक लाभका लागि कसैले प्रयोग गर्दा समेत चुइँक्क नबोल्नुका कथाहरु पटाक्षेप हुँदै जाने उनकाे दाबी छ।
आर्किटेक्ट इञ्जिनियरसमेत रहेका वैद्यका नजरमा खुलामञ्चलाई खुला राख्नुपर्ने वातावरणीय कारण पनि छ। ‘लिभेबल काठमाडौं’ अभियान मार्फत उनी बस्नयोग्य काठमाडौंका लागि लामो समयदेखि सक्रिय छन्। बस्नयोग्य काठमाडौं त्यतिबेला मात्रै हुन्छ, जतिबेला स्वच्छ हावा, स्वच्छ खानेपानी, ऊर्जा, फोहर व्यवस्थापन, सार्वजनिक सवारी र ढल व्यवस्थापन हुन्छ।
‘अलिअलि जोगिएको खुला ठाउँ पनि यसरी मासिँदै गएपछि कसरी पाइन्छ स्वच्छ हावा? कसरी बन्छ बस्नयोग्य काठमाडौं?’, उनी प्रश्न गर्छन्।

खुलामञ्च त उनको आँगनकैअघिको भयो। त्यसबाहेक उनी उपत्यकाका खुला ठाउँहरु संरक्षणको अभियानमा आफूलाई सरिक गराइरहेका छन्। यसअघि उनको समूहले काठमाडौंकै नारायणचौरलाई ‘फोहर चौर’बाट पार्कमा परिणत गरिदिएको छ। जसका लागि उक्त क्षेत्रका सांसद गगन थापाले आवश्यक बजेटको प्रबन्ध गरिदिएका थिए।
२०७० सालमा थालेको अभियानमा अधिकांश युवा जोडिएका छन्। यो अभियानले बासयोग्य काठमाडौंका लागि विविध विषयमा छलफल गर्नुका साथै जनप्रतिनिधीका लागि योजना निर्माणमा सघाउँछ। यसका लागि आवश्यक प्राविधि सहायता प्रदान गर्छ।
अहिले उनी ‘खुला ठाउँ खुलै राख्ने’ अभियानमा सक्रिय छन्। उनलाई लागेको छ, ‘खुला ठाउँ नै रहेन भने रुख कहाँ रोपिएलान्? रुख भएनन् भने शहरले श्वास कसरी फेर्ला?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।