दश महिनाअघि जब मैले बेइजिङमा पाइला टेकेकी थिएँ तब मेरो घुमाइको पहिलो गन्तव्य नै पाइथास् भयो।
नेपालमा छँदा हेटौंडाको नवोदय सेकेन्डेरी स्कूलमा प्राध्यापन पेसामा संलग्न थिएँ। कक्षा ६ को नेपाली किताबमा पाइथास् अर्थात् श्वेत चैत्यका बारेमा पढेकी थिएँ।
किताबमा पढेकाे स्थानमा पाइला टेक्न आतुर थिएँ। त्यसकारण पनि बेइजिङ आएपछि त्यहाँ पुग्नु थियाे। जब त्यहाँ पुगें, लाग्याे म आफ्नै माइतीघरमा छु। आज पनि न्यास्रो लाग्दा पटक-पटक त्यहाँ जाने गर्छु। यो पटक पनि म त्यहाँ पुगें। कारण- एक जना नेपाली साथीलाई घुमाउन लैजानु थियो।
‘१,२,३.....। एक दिनमा १ सय जना आए २ हजार हुने रहेछ,’ नजिकैबाट आवाज सुनियाे।
हिसाब गर्दै बसेका एक मित्रलाई कृति भुजुले जिज्ञासा राखिन्, ‘त्यसरी के को हिसाब गर्दै हुनुन्छ? यहाँ आउन पैसा लाग्छ र?’
उनी बेइजिङमा पिएचडी अध्ययनको क्रममा आएकी थिइन्।

पाइथास् बेइजिङको केन्द्रस्थित थ्याआनमनको नजिकै पर्ने फुछङ्मनमा अवस्थित छ। त्यहाँको प्रवेशद्वारमा गएर ‘व श् निपोअर रन्’ भन्यो भने नेपालीलाई सम्मानसाथ भित्र नि:शूल्क प्रवेश गर्न दिइन्छ।
श्वेत चैत्य नेपालका महान कलाकार अरनिकोले सन् १२७१ मा युवान राजवंशकालमा निर्माण गरेका हुन्। यो मन्दिर बनाउन उनलाई ८ वर्ष लागेको थियो।
यहाँ बुद्धका ७ हजारभन्दा बढी मूर्तिहरू छन्। मन्दिर भित्रका भित्ताहरूमा बुद्धका मूर्तिहरू छन् भने बाहिरी भित्तामा निकै कलात्मक तवरले कुँदिएकाे छ।
श्वेत चैत्यको उचाई ५० दशमलब ९ मिटर अग्लो र ५ खण्डमा विभाजित गरेर बनाइएको छ। चैत्यभित्र ३ वटा हल रहेका छन्।
गेटबाट भित्र गएपछि हामी एउटा ठूलो हलभित्र प्रवेश गर्यौं। जहाँ बुद्धका कैंयाैं तर फरक-फरक स्वरूप देख्न सकिन्छ। हलभित्र क्यामेरा लान निषेध गरिएको थियो। त्यसैले हामीले फोटो खिच्न पाएनौँ।

हलबाट बाहिर निस्कने बित्तिकै श्वेत चैत्य जाने बाटैमा अरनिकोको मूर्ति राखिएको छ। मूर्ति नजिकै ताम्रपत्रमा लेखिएका अक्षरहरू टलक्कै टल्केको देखिए। उक्त ताम्रपत्रमा चिनियाँ, अङ्ग्रेजी र नेपालीमा अरनिकोको बारेमा लेखिएको थियो।
पराइ भूमिमा आफ्नो भाषा देख्न पाउँदा कृति दङ्ग पर्दै पढ्न लागिन्। त्यहाँ यस्तो लेखिएको थियो-
सुप्रसिद्ध नेपाली कलाकार अरनिको सन् १२६० मा नेपालबाट चीनमा आउनुभएको थियो। उहाँले तत्कालीन चीनको य्वीयान राजवंशको सरकारी पदमा रही चालीस वर्षभन्दा बढी नेपाली र चिनियाँ संस्कृतिको आदानप्रदान एवम् प्रचारप्रसारका लागि काम गर्नुभएको थियो। उहाँले नेपाली कलालाई चीनमा ल्याउनुभयो र पछिका समयमा समेत महत्वपूर्ण प्रभाव छोड्न सफल ‘सुखावतीदेवस्वरूप’ कलाशैलीको प्रवर्तन गर्नुभयो। उहाँले आफ्नो जीवनकालमा ३ वटा विशाल चैत्य, ९ वटा बौद्ध विहार र अनगिन्ती चित्र तथा मूर्तिहरूको निर्माण गर्नुभएको थियो। उहाँका कलात्मक उपलब्धिहरू चीन-नेपाल दुई देशबीच सौहार्दपूर्ण आदानप्रदानको इतिहासका सबैभन्दा सुन्दर अध्याय हुन्। श्वेत चैत्य अरनिकोको सर्वोत्कृष्ट कलाकृति मात्र होइन, यो मातृभूमिको एकीकरण, जातीय एकता तथा चीन-नेपाल मैत्रीको प्रतीक पनि हो। ७ सय वर्षदेखि अरनिको र श्वेत चैत्य य्वीयान राजवंशको राजधानी तातुको स्मारकको रूपमा अहिलेसम्म रहँदै आएको छ। चीन नेपालबीचको सांस्कृतिक दूत यस महान कलाकार अरनिकोको सम्झनामा यी दुई देशका जनताबीचको मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तरता दिने उद्देश्यले सन् २००१ सालमा अरनिको समाज नेपालद्वारा बेइजिङ श्वेत चैत्य व्यवस्थापन कार्यालयलाई अरनिकोको तामाको मूर्ति उपहारस्वरूप प्रदान गरिएको हो।
हामीले त्यहाँ ताम्रपत्रमा पढिरहेको देखेर एकजना चिनियाँ नजिकै आएर हाम्राबारे जान्न रूचि देखाए। त्यहाँ नेपाली शिल्पकला हेरेर बसेका चिनियाँ र अरू पर्यटकको अगाडि सँगैको साथीले नम्र भावमा भन्यो, ‘हजुर हामी नेपाली हौं। अरनिको पनि नेपाली नै हुन्।’

अरनिकोको शालिक नजिकै उभिरहेकी मलाई चाहिं अझै ठूलो स्वरले चिच्याएर भन्न मन लागेको थियो, ‘हो हामी नेपाली हौं। अरनिकोको सन्तति हौं।’
श्वेत चैत्यकै वरिपरि घुमिरहँदा अधबैंसे एउटी महिला दुई हात जोडेर भुँइमा घोप्टो पर्दै ढोगिरहेकी थिइन्। उनकै नजिकबाट अर्की महिला कुनै धार्मिक पुस्तिका पढ्दै मन्त्र जप्दै हातमा रूद्राक्ष लिएर हिँडिरहँदा मेरो मन भरियो। मलाई आफ्नै देशमा भएको आभाष भयो। त्यही समयमा घन्टीको टिनिनि..... आवाज सुन्दा म नेपालमै त छैन? भनेर एक निमेष झस्किएँ पनि।
परिसरमा हावा चल्दा ध्वजाहरू फर्फराइरहेका थिए। नजिकै एउटा विशाल घन्टी राखिएको थियो। पहिले जाँदा त्यहाँको संग्रहालय हेर्ने अवसर पाएको थिइन। यो पटक भने साइत जुर्याे।

संग्रहालय भित्र अरनिकोले पुस्तक समातेर चित्र कोर्न लागेको शालिक राखिएको रहेछ। क्रमश: हेर्दै जाँदा त्यहाँ स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्या, पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, प्रचण्ड, हिसिला यमी, संस्कृतिविद् सत्यमोहन जोशी, चीनका लागि पूर्व तथा वर्तमान नेपाली राजदूतहरूको तस्वीर राखिएको रहेछ।
बेइजिङमा आफ्नो देशका नाम चलेका व्यत्तिहरूले श्वेत चैत्य घुमेको बेला खिचिएका तस्वीरहरू संग्रहालयमा सजाइएको देख्दा खुसीको सीमा नै रहेन। साँच्च नै अरनिकोले आफ्नो कलामार्फत् नेपालको शानलाई जिवन्त राखेका रहेछन्। उनी हामी माझ नरहे पनि उनको कलाले नेपालको पहिचान दिलाएको छ। उनको योगदानको जति बयान गरे पनि फिक्का नै हुन्छ जस्तो लाग्छ।
आएको यतिका दिनसम्म बेइजिङका अनेक ठाउँठाउँमा घुमें। तर, मलाई आत्मीय लागेको ठाउँ भनेको श्वेत चैत्य नै हो। बिहे गरेका चेलीलाई माइतीको बिछ्ट्टै माया लाग्ने रहेछ।

बिहेपछिको १ वर्ष भइसक्दा पनि माइतीघर पुग्न पाएकी छैन। त्यसैले पनि यो बिरानो ठाउँमा अरनिकोको आँगनमा पुग्दा मलाई आफ्नै माइतीमा पुगेको जस्तो अनुभूति हुन्छ। मलाई लाग्छ कि यस ठाउँमा पुग्ने जो कोही नेपालीले त्यहाँ स्वदेशको झझल्को पाउनेछ।
त्यसैले त खुसी हुँदै मेरी साथीले भनिन्, ‘कस्तो मिनि नेपालमै आएजस्तो लाग्यो।’
अरनिकोले गर्दा नै हो, हामी पाइथास्मा छाती फुलाउँदै ‘वमन श् निपोअर रन्! (हामी नेपाली हौं)’ भन्न सकेका छौं। धन्य अरनिको अनि तिम्रो कला!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।