काठमाडौं– ‘गीत, गजल र शीतल’को आठौं शृंखलामा गजलकार हुकुम धड्कन र संगीता थापा सुनिएका छन्। कुञ्ज थिएटरमा शनिबार भएको कार्यक्रममा दुबै गजलकारले आफ्ना प्रतिनिधि गजल सुनाएका थिए।
३ चरणमा गरी दुबै गजलकारले ५/५ वटा गजल सुनाएका हुन्।
पहिलो चरणमा संगीता थापा आफ्ना २ गजलका साथमा उभिइन्। गजलमा प्रस्तुत हुने प्रेमिल, महिला सशक्तीकरण, पारिवारिक सम्बन्धमा आउने उतारचढाव र सामाजिक यथार्थ लगायतका भाव उनको लेखनका बलिया पक्ष हुन्। पहिलो गजलमार्फत नै उनले उपस्थितको भरपुर साथ पाइन्।
तिमी जून हौ त्यो दाग होइन।
यो मैले चाहेको जवाफ होइन।
उसले मागेको तिम्रो जिन्दगी हो
तिम्रो जिन्दगीको हिसाब होइन।
गजल सुनाइरहँदा पटक–पटक पुनः सुनाउनका लागि आग्रह आउँथ्यो। राष्ट्रिय प्रेम तथा सामाजिक बेथितिका सेरहरु सुनाउँदाको थापाको प्रस्तुति हेर्न लायकको देखिन्थ्यो। पछिल्लो समय सेरको भाव गाम्भीर्यका आधारमा त्यसको प्रस्तुति पनि अनुकुलको हुनुपर्ने विषय बहसमा रहेको सन्दर्भमा थापा यसमानेमा सचेत रहको स्पष्ट हुन्थ्यो।\

कोमल सेरहरुमा सोही किसिमको प्रस्तुति तथा वीर रस र आक्रोस भावका सेरहरुमा उस्तै किसिमको वाचनले श्रोताहरुलाई सेरको गहिराई बुझ्न सजिलो भएको सुर्खेतका निराजन शाहीले बताए। ‘म सामान्य पाठक हुँ, तर, सेरको क्राफ्ट र प्रस्तुति आमपाठकले सजिलै बुझ्ने ढंगको छ’, उनले भने, ‘यसले गर्दा नै गजलको प्रभाव आमजनतासम्म पुग्छ।’
दोस्रो चरणमा पनि थापाले दुई गजल सुनाइन्। आफ्नो नजिकको मान्छेसँगको आफ्नोपन तथा शत्रुहरुलाई पनि उस्तै चुनौती दिएको गजलका सेरहरुले बोलिरहेका थिए।
तिम्रो इलाकाको चरी हुँ आजाद नभएको
मलाई यही कुरा हो कहिल्यै याद नभएको
बघिनीको अड्डामा सिकार खेल्न नआउनु
मलाई पनि सिकारीको सिकार गर्न आउँछ
थापापछि कोहलपुरका गजलकार हुकुम धड्कनले पनि ३ चरणमा गरेर ५ गजल प्रस्तुत गरे। पारिवारिक सम्बन्धमा आउने उतारचढाव, दर्शन, सुफी, प्रेम, देशभक्तिलगायतका विषय उनका गजलमा प्रायः सुन्न र पढ्न पाइन्छ। त्यसमाथि वाचनका क्रममा आवाजमा ल्याउने फरकपन उनको अर्को बलियो पक्ष हो।
पछिल्लो समय दर्शन र सुफी भावमा पनि गजलका सेरहरु लेख्ने प्रयास गरेको बताउने हुकुमलाई केही वर्षयता नेपाली गजलको वैचारिक वा भाव पक्ष बलियो र सुधारोन्मुख हुँदै गइरहेको लाग्छ। भन्छन्, ‘पहिलेजस्तै गरी अहिलेको नेपाली गजललाई बुझियो भने हामी अन्तर्यमा पुग्नसक्छौं भन्ने लाग्दैन। आफ्नै मौलिक शैली र लयमा आधार बनाइरहेको तथा सबै किसिमका विषयवस्तु सेरको कथानक बनिरहेको अवस्थालाई गम्भीर रुपले लिनैपर्छ। यो सुधारको बाटोमा अगाडि बढिसकेको छ।’

धड्कनको भनाइमा जुन कुराको आभास हुन्थ्यो त्यो पक्ष उनका गजलमा स्पष्ट पाउन सकिन्थ्यो।
यो गाउँबाट बादलका थुम्का तल देखिन्छन्
तर हामीलाइ अग्लो हुनुको अहम् भएन।
अन्तमा त्यो फूलको थुङ्गा मैमाथि चढाइ दिनु
जुन फूल मैले तिमीलाइ दिएथें सुरुवातमा।
एक स्वरुप उनी वास्तै नगरी अन्धकारमा गइन
एक छाया म पर्खीबसें जीवनभर उज्यालोमा।
मुसलमानले कान काट्छ भन्ने बच्चालाई नै
आँखा सुम्पिएर अब्दुल कहाँ हिडेको होला?
धड्कनले अन्तिम गजल गायनमा समेत प्रस्तुत गर्न भ्याए। ‘पहिलो पटक मञ्चमा गजल गायनको अनुभूति लिएँ। मेरो प्रयासमा दर्शक दिर्घाबाट मिलेको साथले हौसला मिलेको छ।’, उनले भने।
‘३ दशक लामो सांगीतिक यात्रा सम्मान पाउनका लागि थिएन’
गजललाई गायन विद्याकै रुपमा चिनिन्छ। नेपाली गजल संगीतको इतिहास केही दशकअघि मात्रैको हो। तर, सुरुवाती अवस्थामा यसलाई गीती शैलीमा गाउने चलन थियो। ४० को दशकपछि नेपाली गायन क्षेत्रमा उदाएका चर्चित गायक आनन्द कार्की यसमा सहमति राख्छन्। तर, हाल आएर भने नेपाली गजल संगीत हिन्दी तथा उर्दु गजलको प्रभावले केही परिमार्जन भने पक्कै भएको छ।
कार्यक्रममा कार्कीलाई सम्मान पत्र तथा दोसल्ला ओढाइ सम्मानसमेत गरिएको थियो। आयोजक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल र कार्यक्रमकी संयोजक शितल कादम्बिनीले उनलाई संयुक्त रुपमा सम्मान गरेका थिए।

सो क्रममा संक्षिप्त मन्तव्य राख्न मञ्चमा उक्लिएका कार्कीले आफ्नो ३ दशकभन्दा लामो संगीतकर्म सम्मान या पुरस्कारका लागि नभएको प्रस्ट्याए। ‘३० वर्षभन्दा बढी समय जुन क्षेत्रमा मैले संघर्ष गरें, यस्तो पाउँछु भनेर गरेको थिइन। तर, अहिले मिलिरहेको छ’, उनले खुसी साटे।
कार्कीले रेडियो नेपालबाट २०४२ सालमा स्वर परीक्षा पास गरेका थिए। सोपश्चात् नेपाली आधुनिक तथा पार्श्व गायनमा जमेका कार्कीको गजलप्रतिको मोह र योगदान पनि उत्तिकै तारिफयोग्य छ। ‘आफू यो क्षेत्रमा आउँदा नेपालमा गजल संगीत भर्खर–भर्खर मात्रै आएको थियो’, कार्कीले स्मरण गरे, ‘भारतबाट हामी धेरै जना टोली नै बनाएर नेपाल आउँथ्यौ। लगातार २५/२६ दिनसम्म सांगीतिक कार्यक्रम हुन्थ्यो।’
आफू बोल्न भन्दा गाउनमा अभ्यस्त भएको जनाउँदै उनले आफ्ना जीवनका केही सर्वकालिक गीतका अंशहरु प्रस्तुत गर्न भ्याए।
गायक कार्कीले जीवनमा धेरै खोला तर्नु छ, जनम–जनम जिउँला सँगै, पाकिस्तानी गायक गुलाम अलीले गाएको गाजलु ति ठूला–ठूला आँखालगायत गीतहरु प्रस्तुत गरे। गायनका क्रममा उनले केही हिन्दी गजल तथा आफ्नै स्वरमा रहेको डा कृष्णहरि बरालको चर्चित गजल ‘जे–जे हुने हो हुन्छ यहाँ पर्दापछाडि नै’ समेत गाएका थिए।
गायक कार्कीको सम्मानस्वरुप गायक रुपक चौधरीको समूहले कार्यक्रमको सुरुवातमै कार्कीकै चर्चित गीतहरु लाग्छ मन हेरिरहुँ एकनास तिमीलाई र यी हल्लाहरु हुन तिमीले सुनेका प्रस्तुत गरेको थियो।
कार्यक्रमको संयोजन गरेकी गीतकार तथा गजलकार शितल कादम्बिनीले नेपाली गजल र गीतको उन्नयनका लागि कार्यक्रम गरिएको बताइन्। ‘गीत र गजल अभिन्न छन्, त्यसकारण पनि यी दुबै क्षेत्रका सर्जकहरुबीचको सेतु बन्ने प्रयास गरेका हौं’, कादम्बीनीले कार्यक्रमबारे प्रकाश पारिन्।
कार्यक्रममा गीतसंगीतमा लामो समय साधना गरेका व्यक्तित्वलाई सम्मान तथा २ जना गजलकार वा गीतकारलाई वाचनका लागि उभ्याइन्छ। सातौं शृंखलामा गायक रामकृष्ण ढकाल सम्मानित भएका थिए भने गीतकार विष्णुबाबु देवकोटा र गजलकार ईश्वर दाहालले आफ्ना रचना प्रस्तुत गरेका थिए।
कार्यक्रम प्रत्येक २/२ महिनाको अन्तरमा हुने गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।