कवितामा लामाे समय संगत गरेका भूपिन निबन्ध हुँदै उपन्यासकाे यात्रामा छन्। 'क्षतिग्रस्त पृथ्वी र मूल सडक', 'हजार वर्षको निन्द्रा' र 'सुप्लाको हवाईजहाज' कवितासंग्रह तथा 'चौबीस रिल' निबन्ध संग्रह प्रकाशन गरिसकेका उनको नयाँ उपन्यास 'मैदारो' सार्वजनिक हुँदैछ। नयाँ उपन्यास र लेखन अनुभवबारे उपन्यासकार भूपिनसँग नेपाल लाइभका विमर्श कँडेलले गरेको कुराकानी:
‘चौबीस रिल’पछि ‘मैदारो’ आइपुग्दासम्मको ‘जन्मान्तर’ कस्तो रह्यो?
कृतिहरू लेखकका त्यस्ता सन्तान हुन्, जसलाई उसले गर्भमै पालनपोषण गर्छ र गर्भमै हुर्काउँछ। हाडमासुका सन्तानलाई झैँ यीनीहरूलाई जन्माएपछि स्याहारसुसार गरिरहनु पर्दैन। कृति जन्माउनु र हुर्काउनुको सम्पूर्ण दु:ख 'गर्भे' समयमै भोग्छ लेखकले। जन्मेपछि लेखकका यी सन्तान पाठकहरूको मनमा हुर्किन्छन्।
मैले चाहेर पनि धेरै लेख्न सक्दिन। मलाई लाग्छ, मेरो दिमाग त्यति धेरै उर्वर छैन। खासमा मलाई धेरै लेख्नुपर्छ भन्ने पनि अझैसम्म लागेको छैन।
एक लेखकका रुपमा वर्षाैंते सन्तान जन्माउने क्षमता मसँग छैन। मेरा कृतिहरू जिजीविषाको लागि भागदौडको बीचमा जन्माइएका मानसिक सन्तान हुन्। मैले चाहेर पनि धेरै लेख्न सक्दिन। मलाई लाग्छ, मेरो दिमाग त्यति धेरै उर्वर छैन। खासमा मलाई धेरै लेख्नुपर्छ भन्ने पनि अझैसम्म लागेको छैन। 'हजार वर्षको निद्रा'बाट ब्युँझिएको ३ वर्षपछि 'चौबीस रिल' आयो। त्यसको ३ वर्षपछि 'सुप्लाको हवाइजहाज'को आविष्कार भयो। त्यसको पनि ३ वर्षपछि मैदारो आउँदैछ। मेरो लेखनकाे रफ्तार यही हो।
पुस्तक आउनुअघिको प्रसव पीडा खेप्न सहज/असहज दुबै हुने गरेको लेखकहरु अनुभव साट्छन्। तपाईंलाई पीडाले थला पार्यो या रोमाञ्चित अनुभव भयो?
कतिपय दु:खहरू यस्ता हुन्छन्, जसले मानिसलाई आनन्द दिन्छन्। लेखनको दु:ख यस्तै हो। दु:ख हुन्छ भनेर आमाले पेटको बच्चाको ख्याल नगरेको कहाँ छ र? जन्माएपछिको आनन्द वर्णानातीत हुन्छ। फेरि कसैले दबाब दिएर म साहित्यमा आएको होइन। यो त मैले प्रेमले रोजेको क्षेत्र हो। सुख त सुनौलो प्राप्ति भइहाल्यो। यसका दु:खप्रति पनि मेरो कुनै गुनासो छैन। म मेरा पात्रका दु:ख र उदासी लेख्दा दु:खी हुँला तर, लेखिसकेपछि मलाई असीम आनन्द आउँछ।
जहाँसम्म उपन्यासको कुरा छ, यो लेखकले निर्माण गरेको अलग दुनिया भएकाले मूलत: रोमाञ्चक यात्रा नै हो। 'एडभेन्चरस् जर्नी'।
कविता (क्षतिग्रस्त पृथ्वी र मूल सडक, हजार वर्षको निद्रा), निबन्ध (चौबीस रिल) पछि उपन्यास (मैदारो) तर्फको ‘भर्जिन’ हिँडाइमा हुनुहुन्छ। के ले प्रेरणा दियो यो बाटो तय गर्न?
कुनै-कुनै सिर्जनाका प्रेरणा स्राेत त अनौठा र अचम्मित पार्ने खालका हुन्छन्। 'मैदारो' लेखनको प्रेरणा श्रोत एक बाख्रा हो, जुन मेरै गाउँको पाटेभीरबाट लडेर बीचमा अड्कियो र बाँच्यो। केही महिना त्यसले भीरको एकान्तमा संघर्षपूर्ण जीवन बितायो। त्यसलाई उद्धार गर्ने मसँग शक्ति थिएन। म केवल उद्धारको कल्पना गर्न सक्थेँ। केही महिनापछि त्यस बाख्रालाई कुनै व्यक्तिले भीरबाट निकालेर काटेर मांसभक्षण गरेको खबरले म स्तब्ध भएँ। उपन्यासको बिजारोपणमा यसैको प्रेरणा छ।
मैले त्यो बाख्रा र मानिसको जीवनलाई तुलना गरेर हेर्न थालेँ। सामाजिक विभेदका कारण हजारौँ वर्षदेखि मानिसको दर्जा नपाएका मानिसहरूको जीवन भीरमा अड्किएको त्यही बाख्राको जस्तो रहेकाे महसुस भयो मलाई। लाग्यो, छुवाछुतको कारण ती सारा मानिस त्यही बाख्राको नियति भोगिरहेका छन्। दिमागमा आएको यही अन्तप्रज्ञाका कारण मैले उपन्यास लेख्ने सोच बनाएको हुँ। 'मैदारो' एक अछुत (कथित छुतहरूले भन्ने गरेको) को आँखाबाट जीवन, समाज र समयप्रतिको दृष्टिकोण हो। अनुभूति, संघर्ष, संवेदना र विचारको कथा हो।
एक पुस्तकपछि अर्को पुस्तक प्रकाशनमा लेखकहरु अप्ठेरो महसुस गर्छन्। तपाईंका त फरक–फरक विधाका पुस्तकहरु बजारमा आइरहेका छन्। ‘विधान्तर’लाई कसरी ‘ब्यालेन्स’ गरिराख्नु भएको छ।
हरेक विधाप्रतिको प्रेमका कारण नै यस्तो भएको हो सायद। लेखनका ४ वटै विधाप्रति उत्तिकै प्रेम छ मेरो। लेख्य सिर्जना इतरका अन्य विधाहरूप्रति समेत भएको प्रेम जताउन विभिन्न विधामा काम गरेको हुँ।
मैले यो उपन्यास लेख्ने सङ्कल्प गर्दा आख्यानका यति धेरै पाठक थिएनन्। तेइस वर्ष अघिको कुरा थियो त्यो। जहाँसम्म प्रकाशकको कुरा छ, उपन्यासको बिउ टुसाएको बेला 'बुक हिल'को जन्मको कल्पना पनि थिएन सायद।
खेलमा पनि अलराउण्डर खेलाडीहरूको प्रंशसक म, लेखनमा पनि अलराउण्डर लेखक मन पराउथेँ। मन पराउँछु। मेरो अनुभव भन्छ, हरेक विषयवस्तुलाई एउटै फ्रेममा उही गहिराइमा लेख्न सकिन्न। लेख्नु हुन्न पनि। 'मैदारो' मैले अरू विधामा लेख्न सक्दिनथेँ। त्यसकारण मैले उपन्यास नै लेख्ने मन बनाएँ।
कतिपय लेखक बजार, पाठकको अभिरुचि र प्रकाशकको दिशाबोधका कारण पनि यो बाटोसम्म आइपुग्छन् भनिन्छ नि?
यस्तो कुरा मैले पनि सुनेको छु। पाठकका रुचिहरूलाई ध्यान दिनु पूर्णत: गलत होइन। पाठक र लेखकको रुचि मिल्यो भने राम्रै हुन्छ। तर, म आत्मविश्वासपूर्वक भन्न सक्छु, मेरो हकमा 'बजार र प्रकाशकको दिशाबोध'को कुरा लागु हुन्न। लेखक स्वायत्त हुने भएकाले मलाई लेखनका लागि आफ्नै मनको हस्तक्षेप जरुरी हुन्छ।
मैले यो उपन्यास लेख्ने सङ्कल्प गर्दा आख्यानका यति धेरै पाठक थिएनन्। तेइस वर्ष अघिको कुरा थियो त्यो। जहाँसम्म प्रकाशकको कुरा छ, उपन्यासको बिउ टुसाएको बेला 'बुक हिल'को जन्मको कल्पना पनि थिएन सायद।
यसअघिका कतिपय साक्षात्कार, अन्तर्वार्ता या बहसमा सोख र लतका कारण लेखनमा स्थिर रहेको बताउनु भएको थियो। तर, सोख या लतका आधारमा मात्रै तय गरिने यात्रामा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिम सम्बन्धमा कत्तिको सजग र सचेत हुनुहुन्छ?
सोख र लत फरक कुरा हुन्। पहिला सोख पूरा गर्न नै लेख्छ लेखकले। सोखले लेखनलाई धेरै टाढा नपुर्याउन सक्छ। लेख्दै र प्रकाशन गर्दै जाँदा पाठकहरूको माया थपिन्छ, लेखनमा बानी पर्छ र लेखन एक लत बन्दै जान्छ। यही लतले नै लेखनलाई टाढासम्म पुर्याउँछ। मालिकको कुरै टाढा, यदि लेखक लेखनको लती भएन भने उसले लेखन उद्योगको कामदार बन्ने सपना पनि बिर्सिदिए हुन्छ। लेखन वा सिर्जना यस्तो लत हो, जसको कुनै बेफाइदा छैन।
‘मैदारो’मा पाठकले कस्तो स्वाद चाख्न पाउँछन्?
पेन्टरको प्रेमकथा भएकाले मैदारोमा पेन्टिङको चर्चा त हुने नै भयो। पाण्डुलिपी पढ्नुभएका दुई चित्रकारबाट मैले सुन्दर प्रतिकृया पाएपछि म उत्साहित भएको छु। जुन वर्गका मानिसको संघर्ष, संवेदना र विचारको कथा लेखेँ, त्यही वर्गका मानिसले मन पराइदिँदा खुसी लाग्दो रहेछ।
विषयवस्तु प्रभावकारी भएर पनि कथा भन्ने शैली, आख्यानात्मकता र कलाको न्यूनताका कारण नेपाली उपन्यास जीवनी मात्र बने। प्रयोगशीलतामा हामीहरू अल्छी भयौँ। मलाई विश्वास छ, 'मैदारो'ले यस अभावलाई थोरै भएपनि पूर्ति गर्नेछ।
यो भारत र नेपालमा बाहेक विश्वको कुनै कुनामा पनि नपाइने अश्पृश्यता र त्यसले मानिसमा पार्ने सामाजिक र मनोवैज्ञानिक प्रभावको कथा हो। त्यसकारण यसको स्वाद उल्लास र उमंगको होइन, दलन र पीडाको हो।
पछिल्लो समय नेपाली साहित्यमा चल्ने गरेको एक सघन विषय छ- 'सामाजिक र मनोवैज्ञानिक यथार्थवादले नेपाली आख्यान ध्वस्त बनाएको छ।' मलाई पनि केही हदमा यो सत्य लाग्छ। विषयवस्तु प्रभावकारी भएर पनि कथा भन्ने शैली, आख्यानात्मकता र कलाको न्यूनताका कारण नेपाली उपन्यास जीवनी मात्र बने। प्रयोगशीलतामा हामीहरू अल्छी भयौँ। मलाई विश्वास छ, 'मैदारो'ले यस अभावलाई थोरै भएपनि पूर्ति गर्नेछ। सामाजिक यथार्थलाई प्रयोगशील फ्रेममा लेख्दाको स्वाद यसमा भेटिएला।
'मैदारो'को अर्को महत्वपूर्ण स्वाद बागलुङ पर्वततिर बोलिने पर्वतेली भाषाको प्रयोग पनि हो।
‘मैदारो’ले एउटा कलाकारको कथा बोलेको छ भन्नुभयाे। एक लेखक भएर कलाकारको जीवन उतार्न कत्तिको अप्ठेरो भयो?
लेखकले सुक्ष्म निरीक्षणद्वारा धेरै विषयमा लेख्न सक्छ। चित्रकार र चित्रकलाबारे त झन धेरै लेख्न सक्छ। किनकि चित्र पनि रङ्गले लेखिने साहित्य हो। नेपालमा विशेषरुपमा लैनसिङ वाङ्देलले यस विषयमा धेरै राम्रा कृति लेखे। उनी सफल कलाकार हुनुका कारण ती कृतिहरू निकै सुन्दर छन्। रेब्रान्टजस्तो प्रसिद्ध चित्रकारको त बायोपिक नोवेल नै लेखे उनले। कला मन पराउने पाठकले वाङ्देल नपढे ठूलो नोक्सान हुन्छ।
मनभित्र धेरै रहरहरू हुर्काएर मैले बाल्यकाल बिताएँ। चित्रकार बन्ने रहर पनि थियो। जिल्लास्तरिय चित्रकला प्रतियोगितामा पुरस्कृत पनि भएको थिएँ। जापान सरकारको तर्फबाट हाम्रो स्कुलमा पढाउन आएका हिरोसी सुजुकी सरले उपहार दिएको रङ्ग र ड्राेइङ कपीमा वाटर कलर चित्र बनाएपछि मलाई लागेको थियो, म चित्रकार बन्नेछु। तर, मैले त्यसलाई निरन्तरता दिन सकिन। चित्रकलाको स्वाध्ययन गरेर त्यसको क्षतिपूर्ति गर्नुपर्याे मैले।
विमर्श भाइ, चितवनमा 'पर्खालमा कला' गर्नुको कारण चित्रकलाप्रतिको यही प्रेम नै थियो। आफ्ना विशिष्ट कलाले पर्खाललाई सुन्दर पार्ने सबैप्रति आभारी छु। मैले उपन्यासका लागि धेरै कुरा उनीहरूको संगतमा पनि सिकेको छु।
अफ द बिट' कुराकानीका क्रममा उपन्यासभित्र ‘अधेँरी गाउँ’को चित्रण गरेकाे बताउनु भएकाे थियाे। के यो लेखक स्वयंकै गाउँ हो?
अँधेरी गाउँ एक काल्पनिक गाउँ हो, जहाँ उपन्यास सुरु हुन्छ र त्यहीँ त्यसको अन्त पनि हुन्छ। यसको विशेष अर्थ छ। यो गाउँ छुवाछुतयुक्त भारत र नेपालका धेरै गाउँहरूको प्रतिनिधि गाउँ हो। म कुनै लाक्षणिक गाउँ सिर्जना गर्न चाहन्थेँ। अँधेरी गाउँको लाक्षणिक अर्थ छ। स्वभाविक रुपमा यो मेरो गाउँ पनि हो।
अनुभव नभएका र आत्मसात नगरेका कुनै पनि विषयमा गहिरो अध्ययन नगरी लेख्दा दुर्घटना हुनु स्वभाविक हो। सामाजिक, सास्कृतिक हिसाबले मैले जुन विषयमा उपन्यास लेखेको छु, त्यसका लागि मैले धेरै अलमल गर्नु सायद जरुरी थिएन।
अँधेरी गाउँ बागलुङमा छ। गाउँलाई बागलुङमा पार्नुको भने विशेष र बलियो कारण छ। नेपालमा दलित आन्दोलनको सुरूवात गर्ने सर्वजित विश्वकर्मा बागलुङमा जन्मिएका थिए। म त्यस आन्दोलनलाई सम्मान गर्न चाहन्थेँ।
सामाजिक तथा सांस्कृतिक विषयवस्तुमा केन्द्रित भएर लेखिएका कतिपय उपन्यासमा लेखक अपुरा लाग्छन्। कतिपय त विषयवस्तुमाथिको अल्पज्ञान र लहडका कारण दुर्घटनामा समेत परेको टिप्पणी हुने गर्दछ। ‘मैदारो’को धरातल के हो? सो धरातलमा लेखक भुपिन तयार हुन कति समय लाग्यो?
अनुभव नभएका र आत्मसात नगरेका कुनै पनि विषयमा गहिरो अध्ययन नगरी लेख्दा दुर्घटना हुनु स्वभाविक हो। सामाजिक, सास्कृतिक हिसाबले मैले जुन विषयमा उपन्यास लेखेको छु, त्यसका लागि मैले धेरै अलमल गर्नु सायद जरुरी थिएन।
दुर्भाग्यवस हामी नेपाली छुवाछुतको महामारी फैलिएको समाजमा हुर्किन्छौँ। म त्यहीँ हुर्केँ। दुनियामा अन्यत्र कहीँ अभ्यासमा नरहेको 'मानिसले मानिसलाई छुन नहुने' होचोहेलो मैले नजिकबाट देखेँ। नबुझ्ने बेलासम्म मैले पनि यस्तो अमानवीय काम गरेँ। कथित उपल्लो जातमा जन्मिएका कारण मैले कसरी प्रकृति र राज्यका सुविधाहरू उपभोग गर्न पाएँ? र मेरा साथीहरू कसरी वञ्चनामा परे? यी सब नजिकैबाट नियाल्न पाएँ। बुझेँ, हाम्रो जीवन कसरी उनीहरूको श्रममा टिकेको छ? हाम्रो प्राण कसरी उनीहरूको कारण धड्किएको छ?
तर, पनि समाज उनीहरूलाई छुन घीन मान्छ। वास्तविकता यही हो। उनीहरूले श्रमद्वारा मजस्ता कथित उपल्लो वर्गलाई ऋणि बनाएका छन्। त्यो यस्तो ऋण हो, जुन कहिल्यै चुक्ता गर्न सकिन्न। तर, उनीहरूका दु:ख त लेख्न सकिन्छ। यसकारण पनि मैले यो विषय छानेको हुँ।
केही दिनअघि एक राष्ट्रिय दैनिकमा दिनुभएको अन्तर्वार्तामा ‘मैदारो’लाई लेखनमा प्रेमिल जिस्काइको रुपमा चित्रण गर्नुभएको थियो। जिस्काइको रुपमा मात्रै लेखिँदा कथानक र पात्रमाथि पुरा न्याय होला र?
मेरो स्वभाव नै यस्तै छ विमर्श। 'खतरा अध्ययन गरेर र कसैले नगरेको मेहनत गरेर मैले उपन्यास लेखेको छु' भन्न मलाई आउँदैन। यो सत्य पनि होइन। त्यसकारण म मेरा हरेक कृतिमा 'जिस्किएको हुँ' भन्न रुचाउँछु। पात्रहरूप्रति कति न्याय वा कति अन्याय गरेँ, त्यो मेरो लेखनले भन्ने कुरा भयो। म पाठकहरूको धारणा सुन्न प्रतीक्षारत छु।
के नेपाली पाठकले तपाईंंलाई अर्को पुस्तकमा नयाँ विधामा कलम चलाएको पढ्न पाउँछन्?
सम्भावना छ। मबाट नाटक लेखिने सम्भावना पनि छ। तर, कहिले? यसको यकिन उत्तर मसँग छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।