‘पख तिमेरूलाई! अब यो बाटो त हिँड, मैले जान्या छु।’
बाराको निजगढस्थित बाग्देवकी बुढी कार्की हजुरआमा उतिखेर काम गरिखान सक्नेखालकी हुनुहुन्थ्यो। यतिखेर ८५ वर्षको उमेर पुग्दा पनि उहाँ ठमठम हिंड्ने गर्नुहुन्छ भन्ने सुन्छु।
उहाँबाट आज धेरै टाढा, हिमालपारिको देशमा पुगे पनि उनले जमानामा गरेको गाली र उडाइदिएको हाम्रो सात्तो आजै जस्तो लाग्छ।
आँखा तर्दै कार्किनी आमाले गर्नुभएको त्यो गाली आज पनि कुनै साइकल देख्दा दिमागमा झलक्क बिजुली चम्केसरी आइहाल्छ।
२०५७ सालको आसपास हुनुपर्छ। वैशाख महिनामा स्कुल खुलिसकेको थिएन। त्यो चर्को तराईको घाममा पनि म घरमा साइकल खाली भयो कि कुदाइहाल्थें।
बल्लबल्ल बुढो साइकललाई कैंचीबाट चलाउन आउँथ्यो। मलाई के चाहिएको थियो र, साइकल कुदाउन पाए स्वर्गमै पुगेको आभाष हुन्थ्यो। २०५७ सालतिर हिरो साइकल खुब चलेको थियो।
अग्लो, कालो र अगाडि बस्नका लागि सानो चिटिक्क परेको सिट पनि थियो हाम्रो घरको साइकलमा।
२०५७ सालको वैशाख महिनाको कुनै एउटा शनिबारको दिन थियो। मध्याह्नमा घाम चर्केर सबै मान्छे चौतारामा गफ गर्दै सुस्ताइरहेका थिए।
चौतारा नजिकै सार्वजनिक धारा थियो। त्यहाँ पानी लिन आउने–जानेहरूको सिलसिला चलिरहन्थ्यो।
करिब १०र१२ वर्षका दौंतरी म र यशोदा साइकल चलाउनका लागि चौतारानेरको खुला ठाउँलाई रोज्थ्यौं। ‘कस्ले छिटो चलाउनेरु’ भनेर एकले अर्कालाई उछिन्नका लागि होडबाजी गर्थ्यौं हामी। कुदाउँदै गर्दा अगाडि बाल्टिनभरि पानी बोकेर कार्कीनी आमै जाँदै हुनुहुन्थ्यो।
जब हामी हुइँकिएर नजिक पुग्यौं, यता जाने कि उता जाने भनेर अल्मलिनुभयो। त्यही बेलामा मैले पनि लर्बरिदै उहाँकै बाल्टिनमा हानें। विचरा म जस्तो सिकारूले हानेको साइकलले पनि उहाँ त गर्लम्मै पछारिनु भयो।
तर उहाँ पनि ज्याद्रै हुनुहुँदोरहेछ। तुरून्तै उठेर गालीको वर्षा गर्नुभयो। बिचरी छेउमा रहेकी यशोदालाई पिट्नुभयो, म भने भागिहालें।
गत वर्षको जुन महिनाको १० तारिख बेइजिङ उत्रेको म। राति भएको थियो कोठामा आउँदा। त्यसैले भोलिपल्ट बिहान आफू बसेको वरिपरि घुम्न गइयो। राति थाकेकाले ट्याक्सीमै निदाएँ, निद्रामा बाहिरको दृश्य पनि हेर्न चुकाएकी थिएँ।
ठूलाठूला सडक, घर र सफा बाटोले मलाई लोभ्यायो। म दंग पर्दै एउटा/एउटा चिजबिजको बारेमा सोध्दै थिएँ। मानौं कि म एउटा अबोध बालक हो। फराकिला बाटोका दुवैपट्टि अलि सानासाना लाइन पनि तानेको देखेर छक्क परें।
मेरो साथीले त्यसबारे केही भन्नै परेन किनकि भुइँमै इनामेलले साइकलको चित्र पनि बनाएको रहेछ।
तथापि मेरा पथप्रदर्शकले भनिदिए, ‘यो साइकल लेन हो। यताबाट मानिसहरूले साइकल चलाउँछन्।’
आजभन्दा १५ वर्षअघि चिनियाँ टेलिचलचित्र ‘कपुरको रूख’ बनेको थियो। त्यो टेलिचलचित्र नेपाल टेलिभिजनबाट नेपाली भाषामा अनुदित भएर प्रसारण हुन्थ्यो।
त्यो बेलामा म सानै थिएँ। मेरो बाल मस्तिष्कमा चिनियाँहरूले साइकल चलाएको छाप परेको थियो। त्यति नै बेला म चीनलाई साइकलको राजधानी मान्थें। जब म चीन आएँ मेरो त्यो सोच फितलो भयो।
अहिले चीनमा गाडीहरू प्रशस्त छन् तथापि साइकल लेन र साइकलप्रेमीहरूको कमी रहेनछ। मलाई यो कुरा थाहा पाउन २४ घन्टा पनि कुर्नुपरेन।
अहिले चीन विश्वकै साइकल चलाउनेहरूको देशमा १०औं नम्बरमा पर्दो रहेछ। यहाँ ३७।२ प्रतिशत मानिस साइकल चलाउँछन्।
चीनमा अहिले सेयरिङ साइकलको लोकप्रियता बढ्दै गएको छ। गत वर्षको तथ्यांकअनुसार बेइजिङमा २।४ मिलियन सेयरिङ साइकल छन्। त्यसमध्ये ११ मिलियनले साइकल सेवाका लागि रजिस्टर गरिसकेका छन्।
सेयरिङ साइकल भन्नाले विभिन्न प्रयोगकर्ताले एउटै साइकल आफ्नो सुविधा अनुसार निश्चित शुल्क तिरेर चलाउन सक्ने यातायात प्रणाली हो।
साइकल सेयरिङ सेवाको मुख्य उद्देश्य भनेको प्रयोगकर्ताहरूले सजिलै जहाँबाट पनि साइकल सेवा प्राप्त गर्नु हो।
बेइजिङको क्याम्पस, सब वे स्टेसन, बस स्टेसन, आवासीय क्षेत्र, व्यापारिक क्षेत्रमा यस्ता सेयरिङ साइकलहरू प्रशस्तै भेटिन्छन्।
यस्ता सेयरिङ साइकल प्रयोगका लागि साइकल एप डाउनलोड गर्नुपर्छ। त्यो एपमा रजिस्टर गरेर केही पैसा तिरेपछि सदस्य बनेर म्याद नसकुन्जेलसम्म ढुक्कले जतिबेला पनि प्रयोग गर्न सकिन्छ।
सन् २०१३ जनवरी ५ मा चीनको हाङचौउमा ६६ हजार ५ सय साइकल २७ सय स्टेसनमा सञ्चालन गरिएको थियो। यो नै चीनमा पहिलो उद्घाटन हो। जुन विश्वमा नै ठूलो संख्यामा गरिएको सेयरिङ साइकल हुनपुग्यो।
मैले पनि ओफ्फो साइकल एप डाउनलोड गरें। साइकल चलाउन मनपर्ने हुनाले म प्रायःजसो चलाइरहन्छु। यहाँ सडकमा साइकल लेन छुट्याएको हुनाले साइकल चलाउन सुरक्षित महसुस हुन्छ।
ठूलो सडक दायाँबायाँतिर साइकल लेन र पैदल यात्रुका लागि छुट्टाछुट्टै बाटो बनाइएको छ। नेपालमा साइकल यात्रुहरू कति असुरक्षित हुन्छन्। ठूला गाडीले कति पेल्छन्। म यहाँ साइकल चलाउँदा कतै ठूला गाडी आउँछन् कि भनेर डराउँथे तर साइकल लेनपट्टि त उनीहरू जस्तो हतारोमा पनि आउँदा रहेनछन्।
सायद यातायात नियम उल्लंघन गर्नेलाई तुरून्तै कारबारी हुने भएकाले होला! यहाँ न त बाटोबाटोमा ट्राफिकले सिठ्ठी फुकेको सुनिन्छ, न त ट्राफिकको आँखा छलें भनेर चालक नै दंग हुन पाइन्छ। चारैतिर सिसी क्यामेराले निगरानी गरिरहेको हुन्छ। कसैले नियम उल्लंघन गर्यो कि उसको मोबाइलमा तुरून्तै सन्देश आइहाल्छ।
सन् २०२० सम्ममा काठमाडौंलाई पनि साइकलमैत्री सहर बनाउने भन्ने अभियान चलाएको सुन्दा खुसी लागेको छ।
साइकल चलाउन प्रेरित गर्नका लागि केही संघसंस्थाहरूले समयसमयमा चेतनामूलक र्याली पनि आयोजना गर्ने गरेका छन्।
काठमान्डौं महानगरपालिकामा सवारी साधनको मात्रा दिनानुदिन बढ्दै गएको छ। यही अनुपातमा बढ्दै जाने हो भने पेट्रोलियम पदार्थको भार धान्न हम्मेहम्मे नै पर्ला। त्यसो त बेला बेलामा पेट्रोलको अभाव नभएको हैन।
कयौं पटक सर्टेज भएर रातदिन पेट्रोलपम्ममा धर्ना बसेको अनुभव जो कोही नेपालीसँग होला नै। सन् २०१४ को एउटा तथ्याङ्कअनुसार नेपालमा प्रतिदिन लगभग २७ सय ब्यारेल इन्धन खपत हुने गरेको छ।
यदि हामीले साइकल प्रयोग गर्न थाल्यौं भने इन्धनको पनि बचत हुन्छ। आफ्नो देशको करोडौं मुद्रा बाहिर जानबाट बच्छ।
साइकल चलाउँदा एक त व्यायाम हुन्छ, अर्को सक्रिय जीवनपद्द्धतिको पनि विकास हुन्छ। हामी निकै व्यस्त र सहरी जीवनयापनले गर्दा रोगको शिकार भैरहेका छौं।
हुन त हाम्रो देशमा साइकल चलाउने र टोपी लगाउनेलाई अपहेलना गरिन्छ। यदि, नेपालका विभिन्न सहरहरूमा पनि सेयरिङ साइकलको प्रणाली विकास गर्नसक्ने हो भने यसले जनजीवनमा सकारात्मक प्रभाव पार्नेछ।
उस्तै खालको साइकल र भूगोलमा सबैले साइकल चलाउने परिपाटी बन्यो भने 'को धनी को गरिब?' भन्ने भावनामा पनि सन्तुलनमा आउनसक्थ्यो।
त्यति मात्रै होइन, अहिले विश्वभर वातावरणीय सचेतनाको मुद्दा चर्किरहेको छ। एउटा सानो देशले सेयरिङ साइकल वा साइकल यातायातमा कुनै क्रान्ति ल्याउन सक्ने हो भने विश्वका लागि पनि उदाहरण बन्न सक्छ।
तर, साइकल लेन समेत नबनाई हचुवाका भरमा साइकलमैत्री सहर घोषणा गर्दा कुनै उपलब्धि हुनेछैन।
–बेइजिङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।