नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता, अब एक देशमा मात्रै कर तिर्दा हुने

नेपाल लाइभ | २०७५ फागुन २१ मंगलबार | Tuesday, March 05, 2019 १४:५१:०० मा प्रकाशित

काठमाडाैं- नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ।

मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा एक कार्यक्रमका बीच राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजस्व सचिव मसर्फ हुसैनले दुई मुलुकबीच दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। दुबै देशका मन्त्रिपरिषद् बैठकले पारित गरेपछि दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो।

कार्यक्रममा नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सको पनि उपस्थिति रहेको थियो।

सो सम्झौतापछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को देशमा बसेर आर्जन गरेको सम्पत्ति सोही देशमा मात्रै कर तिर्दा हुने व्यवस्था गरिएको छ। एउटा देशमा मात्रै कर तिर्ने व्यवस्था गरे लगानीकर्तालाई उचित वातावरण हुने भएपछि दुबै मुलुकले दोहोरो कर तिर्न नपर्ने गरी सम्झौता गरेका हुन्।

यसबाट दुबै मुलुकलाई फाइदा पुग्ने राजस्व सचिव घिमिरले बताए। उनले दुबै मुलुकबाट लगानीका लागि वातावरण बनाउन पनि सो सम्झौताले सघाउ पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

पछिल्लो समय बंगलादेशबाट पनि नेपालमा लगानी गर्न चाहने कम्पनीहरु भित्रिएका छन्। लगानीका लागि आउने यस्ता कम्पनीहरुलाई सो सम्झौताले आत्मबल बढाउने सरकारको अपेक्षा छ। बंगलादेशसँग दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौता गर्ने तयारी सरकारले २०७१ सालमै गरेको थियो।

नेपालले यसअघि नै भारत, चीन, नर्वे, श्रीलंका, पाकिस्तान, दक्षिण कोरिया, थाइल्याण्डसँग सम्झौता गरिसकेको छ। जापान, अमेरिका, सिंगापुर लगायतका मुलुकमा पनि सो सम्बन्धी दुई पक्षीय सम्झौता गर्ने विषयमा छलफल भइरहेको राजस्व सचिव घिमिरेले बताए।